काठमाण्डौ – सेन्सरसिपले सर्जकको अधिकार हनन गरेको भन्दै सरोकारवालाले चलचित्र जाँच समिति (सेन्सर बोर्ड) खारेजीको माग गरेका छन् ।
बर्सेनी काठमाडौंमा फिल्म फेस्टिभल आयोजना गर्दै आएका वसन्त थापाले सेन्सरको समस्या भोग्दै आएको समस्या सुनाउँदै सेन्सरसिप नचाहिने बताए । आजको कान्तिपुर दैनिकमा खबर छ ।
उनले भने, ‘यो पञ्चायती विरासत बोकिरहेका छौं ।’ भारतमा पनि सेन्सर चाहिँदैन भन्ने मत उठिरहेको उल्लेख गर्दै उनले थपे, ‘फिल्म कला र अभिव्यक्तिको माध्यम मान्छौं भने सेन्सरसिप मौलिक अधिकारको विरुद्ध छ ।’
‘फिल्म के परमाणु बम हो र यसलाई सेन्सर गर्नलाई ? फिल्ममा देशद्रोहीका कुरा वा आपत्तिजनक कुरा भए स्वत कानुन लाग्छ । हाम्रो एकसुत्रीय माग नै सेन्सरसिप खारेजी हो ।’
थापाको भनाइमा सहमत देखिए वरिष्ठ पत्रकार कनकमणि दीक्षित पनि । यो व्यवस्था २० बर्षअघि नै हट्नुपर्ने उनको तर्क थियो ।
फिल्मकर्मी नवीन सुब्बा पनि फिल्मा सेन्सरसिपको विरुद्धमा उभिए ।
निर्माता माधव वाग्लेले भने, ‘अहिले परिवारसँग बसेर हेर्न नसकिने विदेशी च्यानल टिभीमा हेर्न पाइरहेको बेला फिल्ममा सेन्सर लाग्नु विडम्बनापूर्ण छ । सेन्सरको काम काट्ने नभई वर्गीकरण गर्ने हुनुपर्छ ।’
निर्देशक निश्चल बस्नेतले भने, ‘सबै चिज काटेपछि पनि एडल्ट सर्टिफिकेट दिने सेन्सर वोर्डविरुद्ध आक्रोश पोख्दै भने, यदि सेन्सर गरिन्छ भने म फिल्म नै देखाउँदिन भनेर दबाब दिन सक्ने केही फिल्मकर्मीको जरुरी छ ।’