सप्तरी । गैरआवासीय नेपाली संघ (एनआरएनए) का पदाधिकारीहरुले सप्तरीको बाढीपीडितको अवस्थाबारे जानकारी लिएका छन् । संघका अध्यक्ष शेष घलेको नेतृत्वमा आएको टोलीले जिल्लाका प्रमुख जिल्ला अधिकारी भगिरथ पाण्डेसँग भेटघाट गरी बाढीपीडितको अवस्थाबारे जानकारी लिएका हुन् । एनआरएनएका पदाधिकारीहरुले जिल्लामा बाढीले पुर्याएको क्षति, मानवीय क्षति, तत्काल बितरण गर्नुपर्ने राहतका सामग्री सहितका बिषयमा जिज्ञासा राखेका थिए ।
भेटमा प्रमुख जिल्ला अधिकारी पाण्डेले जिल्लामा बाढीले पुर्याएको अपुरणीय क्षतिको बिषयमा जानकारी दिदैं प्रारम्भिक तथ्यांकबारे जानकारी गराए । उनले जिल्लामा एक लाखभन्दा बढी व्यक्ति बाढीबाट प्रभावित भएको भन्दै यकिन तथ्यांक संकलनको काम भइरहेको बताए ।
मुलुकमा बाढीको प्रकोप सुरु हुनासाथ गैरआवासीय नेपाली संघले आपतकालीन राहत कोष स्थापना गरी रकम संकलन अभियान सञ्चालन गरिसकेको छ ।





