उद्धार र राहत कार्यलाई प्रभावकारी बनाउन सरकारलाई निर्देशन


काठमाडौं– बाढी पहिरो र डुबान पीडितको उद्धार र राहत कार्यलाई अझै प्रभावकारी बनाउन व्यवस्थापिका संसदको कृषि तथा जलस्रोत समितिले सरकारलाई निर्देशन दिएको छ ।
समितिको बुधबार बसेको बैठकले बाढि, पहिरो र डुबान पीडितको उद्धार र राहत कार्यलाई अझै प्रभावकारी बनाउन कृषि विकास मन्त्रालय र पशुपंक्षी विकास मन्त्रालयलाई निर्देशन दिएको हो ।

सरकारले गरिरहेको राहत तथा उद्धार कार्य सन्तोषजनक नरहेको निष्कर्ष निकाल्दै समितिले यस कार्यमा जिल्लास्थित सर्वदलीय संयन्त्रलाई प्रभावकारी ढंगले परिचालन गर्न पनि सरकारलाई सचेत गराएको छ ।

राहत तथा उद्धार कार्यलाई अझै प्रभावकारी बनाउन सरकारलाई निर्देशन दिइएको समितिका सभापति मोहनप्रसाद बरालले जानकारी दिए । उनले राहत तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन जिल्ला स्थित सर्वदलीय संयन्त्रलाई परिचालन गर्न पनि सरकारलाई सचेत गराइएको स्पष्ट पारे ।
कृषि तथा जलस्रोत समितिले राहत तथा उद्धार कार्यमा अनियमितता हुन नदिन आफैले अनुगमन गर्ने निर्णय पनि गरेको छ ।
भूकम्पका बेला भएका अनियमिततालाई ध्यानमा राखेर बाढि, पहिरो र डुबान पीडितलाई उपलब्ध गराउने राहतमा पनि अनियमितता हुन नदिन समिति आफैले पनि अनुगमन गर्ने निर्णय लिनु परेको समितिका सभापति मोहनप्रसाद बरालले जानकारी दिए ।  समितिले प्राकृतिक प्रकोपबाट हुने क्षति न्यूनिकरणका लागि आवश्यक पहल गर्न पनि सरकारलाई सचेत गराएको छ ।

बैठकमा समितिका सदस्यहरुले बाढि, पहिरो र डुवान पीडितलाई राहत उपलब्ध गराउने काममा समेत ढिलाई भईरहेकोमा सरकारप्रति आक्रोश व्यक्त गरेका छन । उनीहरुले दैवी प्रकोप क्षति न्यूनिकरणका विषयमा पनि सरकारलाई उचित कदम चाल्न सचेत गराएका छन । समितिका सदस्यहरुले राहत वितरणमा अनियमितता हुन नदिन पनि सरकारको ध्यानाकर्षण गराएका छन ।

संसदीय समितिहरुले बाढि, पहिरो र डुबान पीडितको राहत तथा उद्धार कार्यमा ढिलाई भएकोमा सरकारको कडा आलोचना गर्दै आएका छन ।