पोखरा – पेट्रोलियम ब्यवसायीले देशभरका पेट्रोल पम्प बन्द गर्ने चेतावनी दिएका छन् । ब्यवसायीले आफना माग सरकारले पुरा नभए साउन ३१ गतेबाट पेटोलियम पदार्थ विक्री वितरण बन्द नगर्ने चेतावनी दिदै आन्दोलनको घोषणा गरेका छन् ।
गण्डकी धौलागिरी पेट्रोलियम डिलर्स एशोसियशनले मंगलबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गरि आफना माग पुरा नभए पम्प बन्द गर्ने जानकारी गराएका हुन् । परिणाम लस र वर्किङ लसको कारण व्यवसायीहरु घाटामा व्यहोनु परेको भन्दै साउन ३१ गते देखि पम्प बन्द गर्ने बताइएको छ ।
नापतौल तथा गुणस्तर विभागको प्रतिनिधि समेत संलग्न नेपाल आयल निगमले बनाएको कार्यदलले पोखरामा ७० लिटर पेट्रोल, ४४ लिटर डिजेल, बाग्लुङमा ९० लिटर पेट्रोल, ५४ लिटर डिजेल, स्याङ्जामा ८० लिटर पेट्रोल र ५२ लिटर डिजेल प्रति चार हजार लिटरमा नपुग रहेको प्रतिवेदन बुझाए पनि लस हुने देखाए पनि निगमले कुनै वास्ता नगरेपछि बाध्य भएर आन्दोलनमा उत्रनुपरेको आन्दोलन समितिका संयोजक जगत बरालले बताउनुभयो ।अहिले निगमले प्रति ४ हजार लिटरमा पेट्रोल ३५ लिटर र डिजेल २४ लिटर दिदै आएको व्यवसायीहरुको भनाई छ । पछिल्लो ८ महिना नेपालमा युरो फोर मापदण्डको पेट्रोलीयम पदार्थ आएपछि लस हुन थालेको गण्डकी धौलागिरी पेट्रोलियम डिलर्स एशोसियशनका अध्यक्ष सुशिल गौचनले बताउनुभयो ।
व्यवसायीहरुका अनुसार साउन २६ गतेदेखि बिक्रि केन्द्रहरुबाट समस्या समाधान नभएसम्म पेट्रोल खरिद नगर्ने, २९ गतेबाट पेट्रोल र डिजेल दुवै खरिद नगर्ने, ३० गते सम्ममा मौज्दात बिक्रि गरि ३१ गतेबाट पेट्रोल पम्प पुर्णरुपमा बन्द गर्ने गण्डकी धौलागिरी पेट्रोलियम डिलर्स एशोसियशनका महासचिब राजन गौंगजुले पत्रकार सम्मेलनमाा जानकरी दिनुभयो ।
गण्डकी धौलागिरीमा दैनिक करिब १ लाख लिटर पेट्रोल र २ लाख लिटर डिजेल खपत हुने गर्दछ । यो क्षेत्रका लागि पोखरा लेखनाथ महानगरपालिकाको गगनगौडा डिपोको क्षमता ३ लाख ६० हजार लिटर पेट्रोल र २२ लाख ४० हजार लिटर डिजेलको क्षमता रहेको छ । गण्डकी धौलागिरीमा ५४ वटा पेट्रोल पम्प छन् भने कास्कीमा मात्रै ३६ वटा रहेका पम्प रहेका छन् ।