पोखरा – पर्यटन ब्यवसायि महिलाहरुको नेतृत्व तथा क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजित दुई दिने उद्घोषण तथा नेतृत्व विकास तालिम सम्पन्न भएको छ ।
पर्यटन ब्यवसायि महिला समुहद्धारा आयोजित सो तालिमको समापन समारोहका प्रमुख अतिथि सौन्दर्यकर्मी युनियन नेपालका अध्यक्ष पम्फा पहारीले महिलाको क्षमता अभिवृद्धिकालागि नेतृत्व विकास तालिम महत्वपूर्ण हुने बताउनु भयो । पहारीले पर्यटन ब्यवसायि महिलाकालागि नेतृत्व विकास तालिमले आत्मविश्वास बढ्ने भन्दै यसले पर्यटन क्षेत्रको विकासमा समेत सघाउ पुग्ने विश्वास ब्यक्त गर्नु भयो । उहाँले पर्दा पछाडि रहेर भुमिका निर्वाह गरिरहेका महिला अब नेतृत्वको बागडोर समातेर बाहिर आउनु पर्नेमा जोड दिनु भयो ।
सो तालिममा पोखरा लेखनाथ महानगरपालिका वडा ६ का वडा सदस्य राममाया वि.क, पुस्पा घलेले हरेक क्षेत्रमा बोल्ने कलाको प्रभाव हुने भन्दै तालिममा सिकेको कुरालाई ब्यवहारमा उतार्न आग्रह गर्नु भयो । संंचारिका समुह पश्चिमाञ्चलका अध्यक्ष जमुना वर्षा शर्माले सहजीकरण गर्नु भएकोे तालिममा उद्घोषण, भाषण कला एवं नेतृत्व विकासको बारेमा सैद्धान्तिक एवं ब्यवहारिक प्रशिक्षण दिइएको थियो । सहभागिका तर्फबाट आफ्नो अनुभव राख्दै लक्ष्मी लामिछाने र सविता पहारी, सिता पहारीले तालिमले निर्धक्क बोल्न र आफ्नो कुरा राख्नकालागि आत्मविश्वास प्रदान गरेको बताउनु भयो ।
यस अघि सो तालिमको उद्घाटन महिला नेतृ एवं समाज सेवि देवका पहारीले गर्नु भएको थियो । पहारीले सामाजिक रुपान्तरणकालागि महिला सशक्त हुनुपर्नेमा जोड दिनु भयो । व्यक्तित्व र नेतृत्व विकासले नै महिला आफ्नो अधिकार प्रति जागरुक हुने भएकाले तालिमको उद्देश्यमा जोड दिन आग्रह गर्नु भएको थियो ।
सो तालिममा पर्यटन ब्यवसायमा आवद्ध ४० जना महिलाको सहभागिता रहेको थियो । तालिमका संयोजक जमुना पराजुलीको अध्यक्षता सम्पन्न कार्यक्रममा स्वागत उर्मिला श्रेष्ठ, संचालन उमा क्षेत्री ले गर्नु भएको थियो ।