काठमाण्डौ – वि.सं. २०७२ को भूकम्पका कारण क्षतिग्रस्त सिंहदरबारलाई बचाउने प्रयास बल्ल थालिएको छ। सिंहदरबारको पश्चिम मोहडाको मुख्य भवनलाई थप क्षति हुनबाट जोगाउन संरक्षणको कार्य मङ्गलबार थालिएको हो। मुख्य भवनको छानाको भाग भूकम्पका कारण भत्किएपछि तत्कालका लागि प्लास्टिकले छोपिएको छ। यो खबर आजका अधिकांश पत्र पत्रिकामा छापिएका छन्। आजको गोरखापत्र दैनिकमा खबर छ ।
छोपिएको प्लास्टिक पनि च्यातिन थालेपछि कम्तीमा पनि दुई तीन वर्षसम्म थेग्ने किसिमको सामग्री प्रयोग गरेर संरक्षणको कार्य मङ्गलबारदेखि थालिएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जनाएको छ।
हालका लागि विशेष खाले प्लास्टिक (सिल्पोलिङ सिट)ले पश्चिमी मोहडातर्फको ३३ हजार एक सय फिट क्षेत्रफलको छाना छोप्ने कार्य सुरु भएको प्राधिकरणले जनाएको छ। क्षतिग्रस्त त्यस भागलाई पूर्ण रूपमा ढाक्न करिब एक साता लाग्ने प्राधिकरणका सहसचिव प्रकाश थापाले बताए।
प्राधिकरणको कार्यकारी समितिको बैठकले पश्चिमी मोहडातर्फको भागलाई संरक्षण/सबलीकरण गर्न कार्यकारी समिति सदस्य डा. हरिराम पराजुलीको संयोजकत्वमा उपसमिति नै गठन गरेको छ। उपसमितिले अन्य विज्ञ सदस्यहरूसँग रायसल्लाह लिएर प्रबलीकरणको काम अगाडि बढाउनेछ।
बाहिर र भित्र उत्तिकै कलात्मक शैलीमा बनेको उक्त भवन भत्काउने कि सबलीकरण गरेर राख्ने भन्ने लामो विवादपछि हालका लागि सबलीकरण गर्नु नै उपयुक्त हुने निष्कर्षमा प्राधिकरण पुगेको हो। सिंहदरबारको अवस्थाबारे भवनसम्बन्धी स्वदेशी तथा विदेशी विज्ञहरूले विभिन्न किसिमले निरीक्षण र अनुसन्धान गरेका थिए।
प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा. गोविन्दराज पोखरेलले एसियाकै ऐतिहासिक धरोहरको रूपमा रहेको सिंहदरबारको मौलिक संरचना जोगाउन आवश्यक भएकाले प्रबलीकरण गर्ने निष्कर्षमा पुगेको बताउनुभयो। त्यस भवनलाई प्रबलीकरण गरी सङ्ग्रहालयको रूपमा विकास गर्ने प्राधिकरणको योजना छ।
सन् १९०८ मा चन्द्रशमशेर राणाका लागि निर्माण गरिएको सिंहदरबार नवशास्त्रीय वास्तुकला (नियोक्लासिक वास्तुकला), पालाडियन वास्तुशास्त्रको नमुनाका रूपमा रहेको छ। चन्द्रशमशेरले बनाउन लगाएको उक्त दरबार चन्द्रशमशेरले नै सरकारलाई बिक्री गरी निजी प्रयोजनमा लगाइएको थियो। चन्द्रशमशेरको निधनपछि पनि तत्कालीन राणा प्रधानमन्त्रीहरूको सरकारी निवासका रूपमा यस दरबारको प्रयोग हुने गरेको थियो। राणा शासनको अन्त्यपछि यो दरबार नेपाल सरकारको सम्पत्तिका रूपमा रहँदै आएको छ। कुमारनरसिंह राणा र किशोरनरसिंह राणाले डिजाइन गरेको उक्त दरबारमा सात वटा चोक र एक हजार सात सय कोठा थिए। मार्बल बिछ्याइएका भुइँ, चाँदी रङका फर्निचरहरू र चमकदार बत्तीहरू दरबारभित्रका बैठकका आकर्षणका रूपमा रहेका छन्।
दरबारभित्रको स्टेट हल सबैभन्दा ठूलो छ जहाँ विदेशबाट आयात गरिएका इटालियन मार्बल, फुलबुट्टे भित्ता, कलात्मक आकर्षक झुमर, ऐनाले सजिसजाउ छ। त्यस्तै ग्यालरी बैठक पनि यो भवनको मुख्य आकर्षण रहेको छ। सन् १९७३ मा आगलागीमा परेर उक्त भवनको केही भाग नष्ट भएपछि पुनर्निर्माण भएको थियो। वि.सं. २०७२ को भूकम्प अघिसम्म उक्त भवनमा प्रधानमन्त्रीको कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय लगायतका केन्द्रीय सरकारी कार्यालयहरू रहँदै आएका थिए। भूकम्पपछि भवनका धेरै भाग खाली रहे पनि दक्षिणतर्फको भागमा भने राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको कार्यालय सञ्चालन हुँदै आएको छ।