पोखरा – भाषा आयोगका अध्यक्ष डा. लवदेव अवस्थीले अन्य भाषा सहित नेपाली भाषालाई समृद्ध बनाउनु आवश्यक भएको बताएका छन् ।
भाषा आयोग र शिक्षा पत्रकार सञ्जाल(इजोन)को आयोजनमा बुधवार पोखरामा आयोजित भाषा आयोगको काम, कर्तव्य र अधिकारसम्बन्धी सञ्चारकर्मीसँगको अन्तरक्रियामा उनले संरक्षणको अभावमा धेरै भाषाहरू लोपोन्मुख अवस्थामा पुगेको प्रति गम्भीर बन्नुपर्नेमा जोड दिए ।
“भाषाको विकासका लागि लेख्य एवम् पाठ्य सामाग्रीको विकास हुनु आवश्यक छ,” उनले भने , “भाषा आयोगले नेपालका अन्य भाषा सहित नेपाली भाषालाई समृद्ध बनाउनका लागि देशका सबै प्रदेश समेटिने गरी छलफल एवम् अन्तरक्रियालाई अघि बढाएको छ ।”
भाषाविद् प्रा. डा. योगेन्द्र यादवले नेपालमा भएका विभिन्न भाषाको विद्यमान अवस्था बारे पुनःमूल्याङकन गर्नुपर्ने अवस्था आएको बताए ।
“भाषाको विकासका लागि लेख्य परम्पराको विकास हुनु आवश्यक छ,” उनले भने “नेपालमा पहिचान भएका कुल भाषा मध्ये ९६ प्रतिशत भाषा बोल्नेको संख्या कुल जनसंख्याको जम्मा चार प्रतिशत मात्र छ ।”
पछिल्लो जनगणनाका क्रममा नेपालमा १२३ भाषाको पहिचान गरिएको थियो । भाषाहरू लोपोन्मुख अवस्थामा पुगेको अवस्थाका साथै भाषा क्षेत्रमा देखिएका विकृति विसंगतिलाई दृष्टिगत गर्दै यिनीहरूलाई जीवन्त बनाउन भाषा आयोगको भूमिका महत्वपूर्ण हुने शिक्षा पत्रकार सञ्जाल(इजोन)का सल्लाहकार प्रकृति अधिकारीले बताए ।
धेरै भाषाका पाठ्सामाग्री पाठ्यक्रम विकास केन्द्रमा थन्किएको बताउँदै उनले भाषालाई बचाउने हो भने तिनीहरूको उपयोग हुने वातावरण तयार गर्नु आवश्यक रहेको उल्लेख गरे ।
इजोनका महासचिव सूर्य पाण्डेले नेपालमा बोलिने भाषाहरूको संरक्षण र विकासका लागि भाषा आयोगको भूमिका महत्वपूर्ण हुनेमा जोड दिदै संरक्षणको अभावमा भाषा नै लोपहुने अवस्था सिर्जना हुन नहुने बताए ।
क्षेत्रीय शिक्षा निर्देशक विष्णुप्रसाद अधिकारीले भाषा आयोगको प्रभावकारी भूमिका निर्माणका लागि क्षेत्र एवम् प्रदेश स्तरमा गरिने छलफल एवम् अन्तरक्रिया महत्वपूर्ण बन्ने विश्वास व्यक्त गरे ।
नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले भाषा आयोगलाई पूर्णता दिनुपर्नेमा जोड दिदै आयोगले भाषाको पहिचान गरी तिनीहरूको संरक्षण र सम्बद्र्धन गर्नुपर्ने बताए ।
भाषा आयोगका सूचना अधिकारी गणेशबहादुर सिंहले आयोग गठनको १० औं महिनासम्म आइपुग्दा भाषाको संरक्षण र विकासका लागि विज्ञ समूह गठन गरिनुका साथै भाषा र प्रविधि जोड्ने तयारी गरिएको जानकारी दिए ।