म खुसी छु,भाग्यमानी छु ,त्यो भन्दा ठूलो म सामान्य मान्छे नै हुँ


म्याड्रिड/ क्रिस्टियानो रोनाल्डो आखिरमा सामान्य मान्छे नै हुन् । उनी यस्तै दाबी गर्छन् । तर उनको विशेष खेल मद्दतले रियल म्याड्रिड लगभग युरोपेली च्याम्पियन्स लिगको फाइनल पुगेको छ । ‘कडा मिहिनेत र समर्पणबाट राम्रो नतिजा भने आउने गर्छ,’ रोनाल्डोले बुधबार भने, ‘म खुसी छु । भाग्यमानी छु । त्यो भन्दा ठूलो म सामान्य मान्छे नै हुँ ।’

एट्लेटिको म्याड्रिडविरुद्धको सेमिफाइनल पहिलो लेगबारे उनले भने, ‘यो खेलमा म भावनात्मक रूपमा सहभागी थिएँ । टिमको जोस पनि उत्तिकै थियो । मैले तीन गोल गरें, त्यसैले अघिल्लो दिनको रात विशेष रह्यो ।’ अहिले ३२ वर्ष पुगेका रोनाल्डोले कम्तीमा च्याम्पियन्स लिगमा खुबै लय समातेका छन् ।

छिमेकी एट्लेटिकोले आफ्नो १ सय ३ वर्षको इतिहासमा च्याम्पियन्स लिगमा जति गोल गरेको छ, त्यो भन्दा बढी गोल रोनाल्डो एक्लैले गरेका छन् । यसले पनि प्रस्ट पार्छ, युरोपेली फुटबलमा म्याड्रिडका यी दुई क्लबको उपस्थिति कति फरक छ भनेर । एट्लेटिकोलाई ‘सुतेको बाघ’ पनि भनिन्छ । यही बाघविरुद्ध रोनाल्डोको खेल प्राय: राम्रो हुने गर्छ ।

च्याम्पियन्स लिगका पछिल्ला साढे ५ वर्षमा रोनाल्डोले एट्लेटिकोसँगको प्रदर्शनले यही भन्छ । यता रोनाल्डोको आँखा भने अहिले नै कार्डिफमा छ, जहाँ च्याम्पियन्स लिगको फाइनल हुनेछ । ‘मलाई विश्वास छ, त्यहाँ पनि म राम्रो गर्न सक्ने छु । तर यसअघि सेमिफाइनल दोस्रो लेगमा राम्रो गर्नुपर्नेछ,’ उनी भन्छन् ।- एएफपी