बेलायत- चुनावको र्यालीमा उनीहरु हातमा हात मिलाएर हिँडे, अंगालो मारे र मञ्चमै चुम्बन गर्न थाले।
फ्रान्सको राष्ट्रपति चुनावको पहिलो चरणमा विजय हासिल गरिसकेका इम्यानुअल मेक्रोन र उनकी रोज्जा सुनकेशरी श्रीमती ब्रिजिट्को हामी चर्चा गरिरहेका छौं।
एक वर्षअघि एउटा अभियानमा सरिक हुनुअघिसम्म पनि कुनै राजनीतिक दलमा संलग्नताधरि नराखेका यीनले अबको चरण अर्थात् दोस्रो राउण्डमा मेरिनले पेनलाई फराकिलो मत अन्तरले पराजित गर्ने सम्भावनाहरू देखापरिसकेको छ।
पहिलो चरणको परिणाम आउनेबित्तिकै उनले सहयोगीहरू सबैलाई धन्यवाद दिएका थिए। त्यसपछि उनी पत्नी, अर्थात् सहयोगीहरू मध्येमा पनि सबैभन्दा बढी सक्रिय ब्रिजिट् तर्फ फर्केर मुस्काउँदै बोले–‘उनले सदैव मलाई सहयोग गरिन्। अरु बढी के भनौं, उनी नभइदिएको भए आज म यहाँ हुँदिन थिएँ।’
यति भन्नु मात्र के थियो, मञ्चलाई घेरेर बसेको ठूलो भीँडले चर्को नारावाजीमा प्रत्युत्तर दिन थाल्यो, ‘ब्रिजिट्, ब्रिजिट्, ब्रिजिट्…’
दृश्यमा जे देखिँदैछ त्यसको भित्री पाटो पनि केलाएर हेर्ने कुनै पनि अंग्रेज पर्यवेक्षकका निम्ति यो एउटा रोचक अनुभव हुनेछ। किनभने यदि दुई साताको अवधिमा अन्तिम चरण पनि जिते भने मेक्रोन राष्ट्र प्रमुखका रूपमा एकजना यस्ता असल प्रेमी देखापर्ने छन्, जसको प्रेमका कुराबाट उक्त मुलुकका रसिक राष्ट्रपतिहरू देख्दै आएका फ्रान्सेलीधरि चकित खानेछन्।
यतिबेला ६४ वर्षकी श्रीमति मेक्रोन अघिल्ला श्रीमान्बाट सात नातिनातिनाका हजुरआमा मात्र होइनन्, खूद उनका हालका श्रीमान् अर्थात् ३९ वर्षे मिस्टर मेक्रोनभन्दा २५ वर्षले जेठी छिन्।
यतिमात्रले पनि पुग्दैन। आफूले १५ वर्षको उमेरमै मन पराउँदा मेक्रोन स्कुले विद्यार्थी थिएँ जहाँ बिज्रिट् शिक्षिका थिइन् र त्यसै कक्षामा मेक्रोनसँगै ब्रिजिट्की छोरी पनि पढ्ने गर्थिन्।
भनिन्छ, त्यतिबेलै मेक्रोनले विहे गर्न खोज्दा ब्रिजिट्का माइती पक्षले स्वीकार गरेनन्। ब्रिजिट्को उत्तरी फ्रान्सस्थित माइत उतिबेला प्रख्यात ‘ट्रोगनियक्स’ चकलेट उत्पादकका रुपमा सुपरिचित थिए।
लामो समयदेखि उनीहरूको सम्वन्धबारे जानकारी राखिरहेका एक पत्रकारका अनुसार यो सम्बन्धले नकारात्मक चर्चा पनि उठाउन थालेको छ।
विशेष गरेर मेक्रोन र उनका नजिकका साथीभाइहरूले फ्रान्सका राष्ट्रपति उम्मेद्वारलाई औधी रोमान्टिक बनाउन वास्तविकताभन्दा अलिक परै ‘मिल्स एण्ड बुन्स’ (सस्तो लोकप्रियतामा रम्ने प्रेम कथा) प्रकारका चर्चाहरु सिर्जना गर्न थालेको आरोप त्यस्ता घेराहरुबाट लाग्न थालेको छ।
जे होस्, हाललाई मेक्रोनले फ्रान्सेली राष्ट्रपति निवास कब्जा गर्न वर्तमान राष्ट्रपति फ्राँस्वा होलेन्डका रसिकपनालाई समेत कडै टक्कर दिनुपर्नेछ जसका नीतिहरू मुश्किलैले सफल भए पनि उनले युवतीसँगको सम्वन्धका हिसाबले मच्चाएको उथलपुथल कम छैनन्। स्कुटर हाँक्दै गर्दा पत्रकारहरुले फेला पारेको तस्बिरमा हेलमेट भित्र तिनै होलेन्ड देखिएका थिए जो लुकीछिपी आफूभन्दा १७ वर्ष कान्छी एक हिरोइनको अपार्टमेन्टमा घुस्दै गरेका थिए।
परिणाममा उनकी आधिकारिक अर्धांगिनी भेलेरीसँग राष्ट्रपतिको सम्वन्धविच्छेद हुनपुगेको थियो। जवाफमा होलेन्डले पनि आफ्नो क्याबिनेटमा सेगोलिन रोयललाई मन्त्री नियुक्त गरिदिएका थिए, जो उनकै चार सन्तानका आमा हुन् र भेलेरीकै निम्ति जसलाई होलेन्डले कुनै समय त्यागेका थिए।
यति हुँदाहुँदै पनि फ्रान्सेली जनताहरू होलेन्डलाई ‘मोसाय नर्मल’ (सामान्य महासय) भनेरै पुकार्छन्। किन नपुकारून्? युवतीका मामलामा होलेन्ड त उनका अग्रज राष्ट्रपति भ्यालेरी सिस्गा डिस्टाका चर्तिकला अघिल्तिर केही पनि होइनन्। सिस्गा १९७४ मा राष्ट्रपति जित्नेबित्तिकै एउटा कार दुर्घटनामा परेका थिए जसमा सवार अर्की युवती उनकी पत्नी होइनन् भन्ने खुलासा हुनपुग्यो।
रमाइलो त के भने, त्यो बेला सिस्गाको लोकप्रियता अझ माथि उठेको थियो। ‘आफ्नी प्रेमिकालाई समेत घरैसम्म छोड्न धक नमान्ने यस्ता पो राष्ट्रपति हुनु’ भनेर फ्रान्सेलीहरू त्यो बेला उल्टो रमाए।
फ्रान्सेली राष्ट्रपतिकै यस्तै रौसे बानीहरूमा अर्को नाम पक्कै पनि फ्रास्वाँ मित्तेराँको आउँछ। उनी त कतिसम्म ‘रसिक’ थिए भने १४ वर्षे कार्यकालमा सर्वाधिक रात उनले प्रेमिकाहरुसँगै बिताएका थिए।
त्यसपछि सोसलिस्ट मित्तेराँको उत्तराधिकार ग्रहण गर्न १९९५ मा दक्षिणपन्थी ज्याक सिराक आइपुगे। एकैछिनमा फकाएर कामसमेत फत्ते गरिभ्याउने सिराकको त अर्को नाम समेत फ्रान्सेलीहरूमाझ चर्चित बन्न पुगेको थियो। त्यो नामको अंग्रेजी अर्थ हुन्थ्यो ‘पाँच मिनेटमै काम तमाम गरेर नुहाउन पनि भ्याइसक्ने मानिस।’
यस किसिमका अघिल्ला प्रभावहरू भन्दा बेग्लै श्रीमान् र श्रीमती मेक्रोनका प्रेम सन्दर्भहरु अलिक घरेलु प्रकारका देखिएका छन्। यद्यपि, यसको पनि प्रारम्भ कथा अस्वाभाविक गतिविधिबाटै थालनी भएको थियो।
उनीहरुको भेट एउटा निजी स्कुलमा भएको थियो जहाँ ब्रिजिट् ल्याटिन, फ्रान्सेली र थिएटर पढाउने गुरूआमा थिइन्। २० वर्षको उमेरमै एक बैंकमा काम गर्नेसँग बिहे गरिसकेकी उनको कपाल झलक्क हेर्दा फ्रान्सकै एक सुन्दर अभिनेत्रीको सुनकेशरी (ब्लण्ड)सँग मिल्दोजुल्दो देखिन्थ्यो।
त्यतिबेला १५ वर्षको उमेरमै मेक्रोन फ्रान्सका महान साहित्यिक हस्तीहरुको कृतिमा रमाउन थालिसकेका थिए। यस्तोमा उनकै कक्षाकी साथी लरेन्स (ब्रिजिट्की छोरी) एक दिन मेक्रोनको धुमधाम प्रशंसा गर्दै घर आएकी थिइन्।
लगत्तै आमा ब्रिजिट्ले ती १५ वर्षे किशोरलाई भेटिन् जो विद्यालयमा आयोजना भइरहेको नाटक ‘ज्याक एण्ड हिज मास्टर’ मा प्रमुख भूमिका निर्वाह गरिरहेका थिए।
त्यो भेटमै मेक्रोनले अलिकति पनि विलम्ब नगरी तीन सन्तानकी आमा ब्रिजिट्लाई अर्को नाटक ‘दी आर्ट अफ कमेडी’मा थप १५ जनाको भूमिका जोड्नेगरि आफूसँगै काम गर्न प्रस्ताव गरे।
र, त्यो प्रस्तावले नै यी गुरुआमा र १५ वर्षे किशोर विद्यार्थीलाई प्रत्येक शुक्रबार भेट गराउने चाँजोपाँजो मिलायो। अब त के चाहियो? फ्रान्सेली समाजमा नै शिक्षक र विद्यार्थी दुवै १८ वर्ष माथि भएको अवस्थामा उनीहरु बीचको सम्बन्ध त्यति नराम्रो मानिँदैन। यद्यपि मेक्रोन १५ वर्षकै थिए।
तर, आफू एकपछि अर्को भेटमा विस्तारै विस्तारै उनको तीक्ष्णताका सामुन्ने पराजित हुँदै गएको ब्रिजिट्ले बताएकी छिन्। मेक्रोनमा भएको गहिराइलाई पूर्ण रूपमा आफूले अहिलेसम्म पनि नाप्न नसकेको ब्रिजिट् सुनाउँछिन्।
कुराकानी यस्तरी मिल्न थाले कि उनीहरु घन्टौं गफिँदै हिँड्थे।
‘मलाई आफू बिस्तारै प्रेममा डुब्दै गएको महशुस हुनथाल्यो,’ उनले पेरिस म्याच पत्रिकालाई भनेकी छिन्, ‘र, उनी पनि उसैगरि डुब्न थाले।’
विवाहित शिक्षिकाले किशोरलाई यो सम्वन्ध धेरै परसम्म जान नसक्ने भएकाले आफूलाई छाडिदिन र पढाइलाई अगाडि बढाउन अनुरोध पनि गरिन्।
तर, १७ वर्ष पुगेको दिन मेक्रोनले आफूलाई भनेको कुरा ब्रिजिट्ले यसरी सुनाइन्–‘तिमीले जेसुकै गर। म तिमीलाई बिहे गरेरै छाड्छु।’
‘यो प्रेमले सबैथोक सोहोर्याएर ल्यायो,’ उनले भनिन्, ‘र, मैले मेरा तत्कालीन श्रीमान्सँग पारपाचुके गरेँ।’
यसरी पारपाचुके गरेको २१ महिनापछि अर्थान् सन् २००७ को अक्टोबर महिनामा ब्रिजिट् र मेक्रोनको प्रेम पति पत्नीमा रुपान्तरित भयो। त्यतिबेला ब्रिजिट् ५४ वर्षकी थिइन् भने मेक्रोन २९ वर्षका।
‘हाम्रा बारेमा नानाथरि चर्चा गर्ने मानिसको आवाज बन्द गरिदिने छौं,’ त्यतिबेला मेक्रोनले भनेको वाक्य सम्झँदै ब्रिजिट् मुस्काउन थालिन्।
बिहेको बेलामा ब्रिजिट्ले अरूबेलाजस्तै छोटो आकारको सेतो पहिरन लगाएकी थिइन् भने मेक्रोनले ब्रिजिटका सन्तानहरुलाई उनीहरुको प्रेम स्वीकार गरिदिएकोमा धन्यवाद दिएका थिए। यतिन्जेल ब्रिजिटका धनिमानी चकलेट उत्पादक माइतीले पनि मेक्रोनलाई ज्वाइँ स्वीकारीसकेको थियो।
नोभेम्बरमा प्रकाशित आफ्नो पुस्तक ‘रिभोलुसन’ मा मेक्रोनले उक्त विहेलाई ‘एउटा प्रेम जुन सुरूमा गोप्य थियो, अलिअलि लुकाइयो पनि र जसका कारण धेरैले गलत अर्थ लगाए। त्यसैलाई यो विहेले एउटा आधिकारिक र पवित्र बन्धनको रुप दिएको’ भनेर उल्लेख गरेका छन्।
केहीले यसलाई दुई बौद्धिकको बीचमा भएको चीरस्थायी सम्वन्धको उपमा दिएका छन् जसमा पहिलो भेटको २५ वर्ष बित्दा पनि उनीहरू बीचको संवाद मधुरता उल्लेखित छ।
ब्रिजिटकी साथी एवं लेखक फिलिप बेसोनले पत्रकारहरुलाई उनी साहित्यिक व्यक्तित्वसमेत बनाएकी पहिलो प्रथम महिला हुने बताएका छन्। त्यसैगरि ब्रिजिटको पाहुना बन्नेहरुमा पनि ख्यातिप्राप्त लेखक र अभिनेताहरुको नाम देखिन्छ।
यो सबका बाबजूद जब आफ्नो श्रीमान्को प्रशंसा गर्नुपर्छ त्यतिबेला ब्रिजिट् वाचाल हुन्छिन्।
पेरिस म्याचमै दिएको अन्तवार्तामा उनले भनेकी छिन्– ‘उनी अर्कै ग्रहबाट आएका प्राणी हुन् जसमा दुर्लभ विलक्षण प्रतिभा छ र त्यसलाई असाधारण मानवताका माध्यमबाट प्रस्तुत गर्छन्। एक दार्शनिक हुन् मेक्रोन जो बैंकर र अहिले राजनीतिज्ञ बन्न पुगेका छन्।’
जहाँसम्म मेक्रोनको कुरा छ, उनी पनि ब्रिजिट्का धारणालाई उत्तिकै महत्व दिन्छन्। मेक्रोन मन्त्री भएका बेलामा ब्रिजिट्ले पनि कतिपय बैठकमा सँगै बस्ने मौका पाएकी थिइन्।
गत महिना एक ठाउँमा बोल्दै मेक्रोनले उनकी पत्नीले केवल सामान्य सहयोग गरेर श्रीमान्को उम्मेद्वारीमा सघाउने काम मात्र नगरेको स्पष्ट पारे।
‘यदि मैले जितेँ भनेँ,’ उनले तत्कालै सच्याउँदै भने, ‘ओह सरी…यदि हामीले जित्यौं भनेँ उनी मेरो पछाडि उभिने मात्र होइन एउटा भूमिका र स्थान बनाएर बस्नेछिन्।’
तत्कालीन फ्रान्सेली अर्थमन्त्री रहेका पति मेक्रोनलाई सघाउनका निम्ति ब्रिजिट्ले सन् २०१५ मा शिक्षण पेशा त्यागेकी थिइन्। त्यसपछि उनले श्रीमान्को विभागीय काममा महत्वपूर्ण योगदान समेत दिएकी थिइन्।
आफ्ना श्रीमानका बारेमा हुने सही वा गलत टिकाटिप्पणीको पनि उनी मुकाविला गर्छिन्। उनका श्रीमान्को रेडियो फ्रान्सका प्रमुख कार्यकारी म्याथ्यु ग्यालेटसँग समलिंगी सम्वन्ध रहेको हल्ला पनि चर्चामा आइसकेको छ। यसको जवाफमा त मेक्रोनले आफू आफ्नी पत्नीसँग कति नजिक छु भनेर बताइसकेका छन्।
‘मेरी श्रीमति ब्रिजिट्का निम्ति यो कस्तो नरमाइलो अफवाह हो,’ फेब्रुअरीमा आयोजित एक चुनावी र्यालीमा उनले भनेका थिए, ‘शारीरिक रुपले म कसरी त्यसो गर्न सकूँला? उनी विहानदेखि बेलुकीसम्मै मसँग यति नजिक हुन्छिन् कि म आफैलाई दुई भागमा बाँड्नै सक्दिनँ। सहरमा कुरौटेहरुले यदि म्याथ्यूसँग मेरो दोहोरो जीवन चलिरहेको छ भनेर सुनाउँछन् भने त्यो मेरो प्रतिछायाँ हुनसक्छ जो म होइन।’
(बेलायती अखवार इन्डिपेन्डेन्टबाट अनुवादित)