काठमाण्डौ – उपत्यकाभित्र पानी वितरण गर्ने ट्यांकरमा अब स्टिकर टाँसिने भएको छ । ती ट्यांकरले आपूर्ति गर्ने खानेपानीको शुद्धताका आधारमा स्टिकर दिने सरकारी तयारी छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
काठमाडौं खानेपानी विकास बोर्डले ट्यांकरले आपूर्ति गर्ने पानीको शुद्धता मापन गरेर स्टिकर दिने खानेपानी तथा सरसफाइ मन्त्रालयले जनाएको छ । स्टिकर सर्वसाधारणले देख्ने गरी ट्यांकरमा टाँस्नुपर्नेछ । मन्त्रालयका अनुसार ५ वैशाखबाट उपत्यकाभित्र यो नियम लागू हुनेछ ।
खानेपानी तथा सरसफाइमन्त्री जीवनबहादुर शाहीले उपत्यकावासीलाई शुद्ध पानी वितरणको उद्देश्यले स्टिकरको व्यवस्था गर्न लागिएको बताए । ‘उपत्यकाभित्र खानेपानी अभाव छ । सर्वसाधारण ट्यांकरबाट ल्याइएको पानी पिउन विवश छन् । तर, त्यो पानीको शुद्धता नापिएको छैन,’ मन्त्री शाहीले भने, ‘पिउनयोग्य नभएको पानी पनि सर्वसाधारण पिउन बाध्य छन् । यसलाई नियन्त्रण गर्न स्टिकर प्रणाली लागू गर्न खोजिएको हो । ५ वैशाखबाट यो प्रणाली लागू हुन्छ ।’