जनसम्पर्क समिति स्पेनको नेतृत्व चयनका लागि मतदान जारी


बार्सिलोना/ नेपाली जनसम्पर्क समिति स्पेनको नयाँ नेतृत्वका लागि मतदान भईरहेको छ। समितिको नयाँ कार्यसमिति चयनका लागि बिष्णु रिजाल र इन्द्र प्रसाद शर्मा छुट्टाछुट्टै प्यानल सहित चुनाबी मैदानमा उत्रिए पछि मतदान भएको हो।

निर्बाचन समितिका संयोजक चिन्तामणी सापकोटाका अनुसार १ हजार ३१ जना मतदाता संख्या मध्ये हाल सम्म १ सय १७ जनाले मतदान गरेका छन्। मतदान निकै सुस्त गतिमा भईरहेको छ। हाल सम्मको अबस्थालाई हेर्दा ५० प्रतिशतले भन्दा कमले मतदानमा भाग लिने संकेत छ। बिहान १० बजेबाट मतदान हुने निर्बाचन तालिका रहे पनि ढिलो गरी सुरु भएको थियो।निर्बाचन तालिका अनुसार राति ८:३० बजे सम्म मतदान हुँदैछ।

अध्यक्षका उमेद्वार रिजाल प्यानलमा,उपाध्यक्ष पदका लागि सन्तोष श्रेष्ठ र बिदुर गौतम,महामन्त्रीमा रामप्रसाद सापकोटा “बिराज”,सह-महामन्त्रीमा राम प्रसाद चालिसे र कोषाध्यक्षका लागि अर्जुन पोख्रेल रहेका छन्।

तस्बिर:- अध्यक्षका प्रत्यासीहरु बिष्णु रिजाल (दायाँ) इन्द्र प्रसाद शर्मा (बायाँ),
तस्बिर:- अध्यक्षका प्रत्यासीहरु बिष्णु रिजाल (दायाँ) इन्द्र प्रसाद शर्मा (बायाँ),

यस्तै शर्माको प्यानलबाट प्रकाश भट्टराई र राम सापकोटाले उपाध्यक्षमा उम्मेद्वारी दिएका छन्। महामन्त्रीमा हिरालाल सापकोटा “डायमण्ड”,सह-महामन्त्री रमेश प्रसाद पाण्डे र कोषाध्यक्षमा सुस्मिता कंडेलको उमेद्वारी परेको छ। ७ जना सदस्य निर्बाचित हुने भए पनि दुवै प्यानलबाट  ६-६ जनाको उमेद्वारी छ।

सदस्य पदका लागि शर्मा नेतृत्वको प्यानलमा राजेश रेग्मी,मुक्ती प्रसाद श्रेष्ठ,सुभाष आचार्य,अन्जु तिमिल्सिना अधिकारी, राहुल खड्गी र लक्ष्मण खत्रीको उमेद्वारी परेको छ भने रिजालको प्यानलमा बिनोद लामिछाने,लोकबन्धु बस्नेत,सुभाष बहादुर बिष्ट ,मुकेश कुमार क्षेत्री,रामचन्द्र बुढाथोकी र सुसन गौतम चुनाबी मैदानमा छन्।

यसै बिच नेपाली काँग्रेसका महामन्त्री डा. सशांक कोइरालाले प्रमुख अतिथिको रुपमा अधिबेशनको उद्घाटन गरे। समितिका अध्यक्ष शालिकराम डुम्रेको अध्यक्षता सम्पन्न खुल्ला सत्रमा केन्द्रीय प्रतिनिधिको रुपमा काँग्रेस नेता सुरेन्द्र पाण्डेको उपस्थित रहेको थियो। स्पेन स्थित संघ संस्थाका प्रतिनिधिहरुले कार्यक्रममा बोल्दै समितिको अधिबेशनमा शुभकामाना ब्यक्त गरेका थिए।