आज शुक्रबार काठमाडौंबाट प्रकाशित दैनिक पत्रिकाहरुको फ्रन्टपेजमा फरक-फरक समाचारले स्थान पाएका छन् ।
नयाँ पत्रिका दैनिकले मधेशी मोर्चालाई मनाउन सरकारले पूरक संविधान संशोधनको तयारी गरेकोलाई मुख्य समाचार बनाएको छ । त्यस्तै प्रहरीको रासनभत्ता बढाउने प्रस्ताव गृह मन्त्रालयमा अलपत्र परेको समाचार र फौजदारी अभियोगमा चलाइने २० मुद्दामा सरकार असफल हुने क्रम बढेको समाचारलाई फ्रन्टपेजमा छापेको छ ।
अन्नपूर्ण पोस्ट् दैनिकले पश्चिम सेती आयोजनाबारे चिनियाँ कम्पनीले विस्तृत तथ्यांक मागेको समाचारलाई प्राथमिकता दिएको छ । त्यस्तै, स्थानीय तह पुनर्संचना प्रतिवेदन आयोगमै फिर्ता हुने समाचार र भूकम्पपीडितका लागि दोस्रो किस्ताको राहत रकम निकासा भएको समाचारलाई फ्रन्टपेजमा प्रकाशित गरेको छ ।
राजधानी दैनिकले मधेशी मोर्चाले दोहोरो प्रस्ताव ल्याएको समाचार र ‘राष्ट्रपतिको निर्णयविरुद्ध अदालतमा मुद्दा नचल्ने’ शीर्षककाे समाचारलाई महत्व दिएको छ ।
कान्तिपुर दैनिकले चेपाङ परिवारको दुखलाई मुख्य समाचार बनाएको छ । त्यस्तै निर्वाचन घोषणामा ढिलाइ हुँदा प्रतिपक्षी एमाले सशंकित भएको समाचारलाई प्राथमिकता दिएको छ ।
नागरिक दैनिकले ‘समुदायमा विद्यालय अलपत्र’ शीर्षकको समाचारलाई महत्व दिएको छ ।
गोरखापत्र दैनिकले सशस्त्र प्रहरीलाई प्रधानमन्त्रीले निर्वाचन लागि तयार रहन निर्देशन दिएको समाचारलाई फ्रन्टपेजमा छापेको छ । त्यस्तै ‘इम्ब्रोइडरीमा बालापन गुमाउँदै बालबालिका’ शीर्षकको समाचारलाई एंकर स्टोरी बनाएको छ ।