निर्वाचनका लागि आवश्यक पर्ने कानुन संसद्ले छिटै पारित गर्छ : प्रधानमन्त्री प्रचण्ड (छापाबाट)


प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचनका लागि आवश्यक पर्ने कानुन संसद्ले छिटै पारित गर्ने बताएका छन् । निर्वाचन आयोगले माघ दोस्रो साताभित्रै आयोगलाई निर्वाचन कानुन दिएमा जेठ पहिलो हप्ता निर्वाचन गर्न सकिने धारणा सार्वजनिक गरिरहँदा प्रधानमन्त्रीको त्यस्तो भनाइ आएको छ ।

संयुक्त अरब इमिरेट्स (युएई)को चारदिने भ्रमण सकेर मंगलबार स्वदेश फर्किने क्रममा प्रधानमन्त्रीले अन्तर्राष्ट्रिय विमानस्थलमा कुरा गर्दै आयोगलाई सरकारले छिटै निर्वाचनसम्बन्धी कानुन संसद्बाट पारित गरेर दिने बताएका हुन् ।

‘युएईको भ्रमणमा जानुअघि पनि मैले निर्वाचन आयोगसँग छलफल गरेको थिएँ । आयोगका पदाधिकारीले माघको दोस्रो साताभित्र आवश्यक ऐन, कानुन उपलब्ध गराउन आग्रह गर्नुभएको छ,’ प्रधानमन्त्रीले विमानस्थलमा सञ्चारकर्मीसँग भने, ‘सरकार कानुन छिटै पारित गरेर सबै पक्षको सहमतिमा निर्वाचन घोषणा गर्ने तयारीमा जुटेको छ ।’

प्रधानमन्त्रीले निर्वाचन मितिसमेत आयोगसँगको परामर्शका आधारमा सरकारले छिटै घोषणा गर्ने बताए । निर्वाचनको मिति घोषणाका लागि राजनीतिक दलहरूसँगको सहमति पहिलो आवश्यकता भएको भन्दै सरकारले दलहरूसँगको सहमतिको प्रयासमा पनि रहेको धारणा राखे । यद्यपि, उनले कानुन बनेसँगै माघ दोस्रो हप्ताभित्रै निर्वाचनको मिति घोषणाको तयारीमा पनि सरकार रहेको जानकारी दिए ।

‘दलहरूबीच निर्वाचनको मिति घोषणा गरेर जाने विषयमा विमति छैन, सबैको सहमति नै छ,’ उनले भने, ‘राजनीतिक दलहरूको सहमतिकै आधारमा निर्वाचनको मिति घोषणा हुन्छ ।’ मुलुकको आवश्यकता र चाहनालाई सम्बोधन गर्दै सरकारले निर्वाचनको मिति तय गर्ने प्रधानमन्त्रीको भनाइ थियो । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।