ठूला प्रतियोगिताको खासै अनुभव नबटुलेकी कैलाली टीकापुरकी १५ बर्षीया सीमाकुमारी चौधरीले देशकै सबैभन्दा ठूलो खेलकुद प्रतियोगिताको पदक जित्ने अठोट गर्दा उनैका घर परिवार र प्रशिक्षकले समेत विश्वास गरेका थिएनन् ।
यसअघि विद्यालयस्तरका प्रतियोगितामा मात्र प्रतिस्पर्धा गरेकी सीमाले धेरैको अनुमानविपरीत सोमबार आफूभन्दा अनुभवी प्रतिद्वन्दलिाई पछि पार्दै सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताको एथलेटिक्समा कांस्यपदक चुमिन् ।
परिवारको कमजोर आर्थिक अवस्थाका कारण ‘स्पाइक सु’ सम्म किन्ने पैसा नभएपछि इटहरी रंगशालाको सेन्डर ट्रयाकमा सोमबार खाली खुट्टा नै आर्लीएकी सीमाले महिला आठ सय मिटर दौडमा अविश्वासिलो प्रदर्शन गर्दै सुदूरपश्चिमाञ्चलका लागि कास्यपदक जितिन् ।
विभागीय टोलीहरुको दबदबा रहेको ट्रयाक एन्ड फिल्ड स्पर्धामा कास्यपदक जित्न सीमाले दुई मिनेट ३१.६२ सेकेन्ड खर्चिईन् । उक्त स्पर्धामा निर्धारित दूरी दुई मिनेट १९.४२ सेकेन्डमा पुरा गर्दै त्रिभुवन आर्मी क्लबकी सरस्वती भट्टराईले स्वर्ण र दुई मिनेट २५.५६ सेकेन्डमा दूरी पार गर्दै आर्मी क्लबकै सानुमाया कार्कीले रजतपदक जितिन् । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।