बढुवाका लागि हुने परीक्षाको तयारी गर्न उपसचिव र अधिकृतस्तरका दुई हजार कर्मचारी बिदामा बसेका छन् । बिदा नलिएका कतिपय अधिकृतस्तरका कर्मचारी पनि हाजिर गरेर कार्यालयबाट घर फर्किन्छन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
जिल्लादेखि केन्द्रसम्मका कर्मचारी परीक्षामा
लोकसेवा आयोगले अहिले विभिन्न सेवा समूहको सहसचिव पदको परीक्षा लिँदै छ । गत १९ मंसिरदेखि सुरु परीक्षामा सहभागी हुन जिल्लादेखि केन्द्रसम्म कार्यरत उपसचिव र अधिकृतस्तरका करिब दुई हजार निजामती कर्मचारी परिक्षाको तयारीमा छन् । उनीहरू बिदा बस्न थालेपछि मन्त्रालय, विभाग तथा विभिन्न निकायको कामकाज प्रभावित हुन थालेको छ ।
परीक्षाको नाममा ६ महिना काम गर्दैनन् कर्मचारी
सामान्य प्रशासन मन्त्रालय स्रोतका अनुसार लोकसेवाको परीक्षा दिन भन्दै निजामती कर्मचारी हरेक वर्ष ६ महिनाभन्दा बढी समय कार्यालयमा मन लगाएर काम गर्दैनन् । परीक्षा आउनुभन्दा ६ महिनाअघिदेखि नै उनीहरू कार्यालयमा एक–दुई घन्टा काम गरेर विभिन्न ट्युसन र कोचिङ सेन्टर जाने गरेको मन्त्रालयका कर्मचारीहरू नै बताउँछन् । ‘सहसचिवको परीक्षा सञ्चालन भएको र उपसचिवको छिटै सुरु हुन लागेकाले दुई हजारभन्दा बढी कर्मचारी कुनै न कुनै रूपमा बिदामा बसेका छन्,’ मन्त्रालयका एक अधिकारीले भने ।
उपसचिवस्तरका धेरै कर्मचारी अनुपस्थित
अहिले सहसचिवस्तरको परीक्षा सञ्चालन भइरहेको छ । त्यसमा सहभागी हुने सबैभन्दा धेरै उपसचिव बिदामा छन् । विभिन्न मन्त्रालय, विभाग र कार्यालयमा अहिले उपसचिव भेट्टाउन मुुस्किल पर्छ । सामान्य प्रशासन मन्त्रालयका एक अधिकृतका अनुसार यस्तो समस्या वर्षेनी आउने गर्छ । हरेक वर्ष ६ महिनासम्म यस्ता समस्या आउने गरेको ती अधिकृतले बताए ।
कर्मचारी लोकसेवाले लिने विभिन्न परीक्षाको तयारीका लागि ६ महिनाअघिदेखि कार्यालय आउने र बाहिरिने गरे पनि त्यसको अनुगमन हुन सकेको छैन ।
राष्ट्रिय सतर्कता केन्द्रले कर्मचारीकै कारण काममा असर परे कारबाही गर्ने बताएको छ । केन्द्रका प्रवक्ता विष्णुराज लामिछानेले अनुगमनलाई तीव्रता दिएर अनुपस्थित कर्मचारीलाई कारबाहीको सिफारिस गर्ने बताए ।