झन् चिढियो एमाले : प्रचण्ड र ओली, देउवा र बामदेववीच चर्काचर्की (छापाबाट)


२०७३- संसदको गतिरोध अन्त्य गर्न प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरुको सोमबार भएको बैठक विना निस्कर्ष टुङ्गिएको छ । 

सभामुख ओनसरी घर्तीको पहलमा संसद सचिवालय सिंहदरबारमा भएको बैठक संविधान संसोधन विधेयकबारे सत्तापक्ष र प्रतिपक्षले आ-आफ्नो अडान नछोडा निस्कर्ष ननिस्किएको हो । स्थानीय निर्वाचन यथाशीघ्र गरिनुपर्छ भन्नेमा एकमत देखिएका शीर्ष नेताहरुले सदनको गतिरोध अन्त्य गर्न संवाद जारी राख्ने प्रतिबद्धता भने जनाएका छन् । आजको कान्तिपुर दैनिकमा खबर छ ।

शीर्ष बैठकमा नेताहरूले संसदका आन्तरिक गतिविधिबारे सौहार्द छलफल गरे पनि संविधान संसोधन विधेयक दर्ता यताको गतिरोधका विषयमा एक(अर्काप्रति कडा टिप्पणी गरेका थिए । प्रधानमन्त्री पुष्पकमल दाहालले निरन्तरको संसद अवरोधबारे आलोचना गरेपछि प्रमुख प्रतिपक्षी दलका नेता केपी ओलीले ‘प्रधानमन्त्रीको ओहोदामा बसेर असोभनिय अभिब्यक्ति नदिन’ सचेत गराएका थिए ।

‘सहमतिबाट अघि जाने हो भने संविधान संसोधन विधेयक फिर्ता लिनुहोस्,’ ओलीको भनाई उद्धृत गर्दै बैठक स्रोतले भन्यो, ‘प्रधानमन्त्रीको ओहोदामा बसेर जेखालका अभिव्यक्ति दिइएका छन्, त्यो उपयुक्त र शोभनीय भएनन् । प्रधानमन्त्रीको तहबाट प्रतिपक्षविरुद्ध जेजस्ता लाञ्छना लगाइएका छन्, पहिले यसमा प्रष्ट हुनु जरुरी छ ।’

बैठक स्रोतका अनुसार कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले उपाध्यक्ष वामदेव गौतमबीच समेत चर्को वाद(प्रतिवाद भएको थियो । बैठकमा सहभागि कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेलले भने संविधान संसोधन लगायतका विषयमा देउवाले भन्दा फरक धारणा राखेका थिए ।

बैठकबाट बाहिरिने क्रममा भने कांग्रेस नेता पौडेलले छलफल सकारात्मक भएको उल्लेख गर्दै विवादीत सबै विषयलाई एउटै प्याकेजमा सहमति खोज्ने प्रयास सुरु भएको प्रतिक्रिया दिए ।
सभामुख घर्तीले संविधान संसोधनसहितका विवादीत विषयको अन्तरवस्तुमा सहमति गर्न आग्रह गरेकी छन् ।

‘आजसम्मका सबै ठूलठूला घटनाक्रममा प्रमुख राजनीतिक दलहरु एकतावद्ध भएर अघि बढेका छन्,’ शीर्ष नेताहरुसँगको छलफलपछि सभामुख घर्तीले भनिन्, ‘संविधान कार्यन्वयनका सन्दर्भमा पनि तीन दल मिल्नुको विकल्प छैन । विवादका अन्तरवस्तुमा तत्कालै सहमति हुन नसक्दा पनि प्रक्रियामा सहमति गरेर अघि बढ्नुपर्छ ।’

शीर्ष नेताहरुको बैठकमा गतिरोध तोड्ने सहमति नभएपछि अपरान्ह बसेको संसदको बैठक औपचारिकतामा सिमिति भएको थियो । कार्यसूचीमा निर्वाचन सम्बन्धी दुइटा विधेयकका अतिरिक्त संविधान संसोधन विधेयक र अख्तियार प्रमुख लोकमानसिंह कार्की विरुद्धको महाभियोग प्रस्तावमाथिको छलफल जारी रहने उल्लेख थियो ।

सभामुख घर्तीले बैठक सुरु भएको घोषणा गर्नासाथ प्रमुख प्रतिपक्षीएमाले सहितका ८ दलका सासद आ(आफ्नो स्थानमा उभिएका थिए । प्रतिपक्षीका तर्फबाट बोल्न समय दिएपछि नेपा राष्ट्रिय पार्टीका सांसद लक्ष्मण राजवंशीले संविधान संसोधन विधेयकलाई महाभारत कथामा सकुनीले पाण्डव र कौरवलाई पासा (जुवा) खेल्न दिएको आमन्त्रणसँग तुलना गरेका थिए ।

‘महाभारतको युद्धमा कौरव र पाण्डव कसैले पनि जितेन, केवल कृष्णजीले जीते,’ उनले भने, ‘संविधान संसोधनबाट पनि यहाँ हामी कसैले जित्दैनौ । केवल कलियुगका कृष्णजीले जित्छन् ।’

सरकारले विधेयक फिर्ता गरेपछि विज्ञ सम्मिलित आयोगमार्फत प्रदेश सिमाङकन मिलाउन सकिने राजवंशीले बताए । ‘संविधान संसोधन विधेयक पारित गरे प्रदेश नम्बर ५ मा देखिएको आगोको झिल्को सिङ्गो नेपाल पिरोल्ने डडेलो बन्न सक्छ,’ उनले भने, ‘विधेयक फेल हुँदा चन्द्रसुर्य अंकित झण्डामा आंशिक वा पुरै ग्रहण लाग्नेगरी मधेशमा आगो सल्किन्छ ।’

देश सुगौली सन्धीयताको सबैभन्दा संकटपूर्ण अवस्थामा रहेको विश्लेषण गर्दै राजवंशीले राष्ट्रहितका लागि एकठाउँमा आउन प्रमुख दलहरुलाई आग्रह गरे ।

संविधान संसोधन विधेयक अघि बढाउने सत्तापक्षको भनाई र विधेयक फिर्ता नगरी सदन चल्न नदिने प्रतिपक्षको अडानकाबीच सभामुख घर्तीले सोमबार अवरुद्ध बैठकलाई थप दुई दिन स्थगित गरेकी छन् । ‘दलहरुबीच दुरी बढ्न नदिनु मेरो कर्तव्य हो,’ बैठक स्थगित गर्नर्ुको कारणबारे उनले भनिन्, ‘सदन अवरोधका बीच पनि उहाँहरुलाई संवादका लागि थप समय उपलब्ध गराएको छु ।’