रेडियो नेपालप्रति उहाँको सधैं गुनासो रह्यो । देशको एउटा मात्र प्रसारण माध्यम, त्यो पनि सरकारी स्वामित्व भएको, रेडियो नेपालले रेकर्डिङको राम्रो व्यवस्था गर्नुपर्छ भन्ने उहाँको भनाइ थियो । तर त्यहाँ रेकर्डिङ गर्नुपर्दा एकमुष्ठ बाजा बजाउनेहरु समेत उपलब्ध हुँदैनथे । भएका वाद्यवादकहरुमा पनि अनुशासन भन्ने वस्तु रत्तिभर थिए । आफैंले दौडधुप गरेर बल्लबल्ल जुटाएका वाद्यवादकहरु पनि रेकर्डिङ सुरु हुँदा चिया खान गइसकेका हुन्थे ।
उहाँलाई सुरुसुरुमा त डेट पाउन पनि गाह्रो थियो । उहाँले रेडियोमा गाउन छाड्नुभएको मूल कारण पनि यही वाद्यवादहरुको अभाव, अनुशासनहीनता र ‘डेट’ को समस्या थियो । उहाँलाई जुन दिन रेकर्डिङको डेट दिइन्थ्यो, त्यस दिन निश्चित समयमा गाउन जाँदा अर्कैले गाइरहेको हुन्थ्यो । पहिलो कुरा त उहाँ मलाई डेट चाहियो भन्दै नजाने, बल्लबल्ल पाएको पालोमा पनि अर्कैले गाइदिने, यिनै कारणले दिक्दार भएर उहाँले पनि रेडियोमा गाउनै पनि छाडिदिनुभयो ।
डा. लोहनी सञ्चारमन्त्री हुँदा रेडियो नेपालको विज्ञापन सेवालाई बिस्तार गरियो र त्यससँग सम्बद्ध कलाकारहरुलाई प्रोत्साहित गर्ने भनियो । यस सम्बन्धमा उहाँको विचार थियो- विज्ञापन सेवाको बिस्तार गर्दा गीतहरु बजाउनैपर्छ । त्यसैले जुन-जुन कलाकारका गीतहरु बजाएर विज्ञापन सेवा चलाइन्छ र आर्जन गरिन्छ, ती कलाकारहरुलाई एक पटक बजेको गीतको पाँच पैसा मात्र किन नहोस्, रोयल्टी स्वरुप दिइनुपर्छ ।
यस विषयमा उहाँले मन्त्री र सञ्चारका अन्य पदाधिकारीहरुलाई भेटेर कुराकानी समेत गर्नुभयो, तर खै अहिलेसम्म पनि केही हुन सकेको छैन । कारण यही हो- पछि उहाँले रेडियोलाई ‘गीति-यात्रा’ का गीतहरु बजाउन दिनुभएन । उहाँ कलाकारहरुको हितमा एउटा सिस्टम बनाउन चाहनुहुन्थ्यो । आफ्नो सम्पूर्ण जीवन नै यसैमा समर्पण गरेका कलाकारहरुलाई सम्बन्धित क्षेत्रले बेवास्ता गर्छ भने उनीहरुको परिवार कसरी चल्छ त भन्नुहुन्थ्यो । सम्भ्रान्त हुन नसकोस् तर कुनै पनि कलाकारले कसैका सामुन्ने हात पसारेर खानु नपरोस् भन्नुहुन्थ्यो । तर, कसैले ठगेर, ढाँटेर र बेइमानी गरेर खाएको उहाँलाई उचित लाग्दैनथ्यो ।
सांस्कृति संस्थानमा (महाप्रबन्धक भएर) जानासाथ उहाँले पहिलो काम यस्तै गर्नुभयो । त्यबेला त्यहाँ दुईतिर जागिर खाने र नाचघरमा चाहिँ हाजिर गरेर रेडियो र अन्यत्र काम गर्न जाने कलाकार र कर्मचारीहरु निकै थिए । यस्ता केही कर्मचारी र केही कलाकारहरुलाई निकाल्नुभयो । तर, त्यही संस्थानकै आधारमा जीवन धान्दै आएका कलाकारलाई निकालिएन । यस कुरालाई लिएर पत्रपत्रिकाहरुले विरोध र गाली पनि छापे तर उहाँले टेर्नुभएन । उहाँको पालामा जति राम्रो कार्यक्रम त्यहाँ फेरि हुन सकेन ।
उहाँको पालामा सांस्कृतिक संस्थानले आफ्नै आर्जनबाट प्रशासन चलाएको थियो, कलाकार पालेको थियो । कार्यक्रमको सार्वजनिक प्रदर्शनी गरिएपछि बाहिरका या कलाकारका नातेदारले सित्तै हेर्न पाउँदैनथे । टिकट काटेर नै हेर्नुपर्थ्यो । कलाकारका नातेदार या कसैलाई कार्यक्रम देखाउनु छ भने ‘ग्राण्ड रिहर्सल’मा देखाउनुपर्थ्यो । म पनि त्यही बेला हेर्थेँ । यदि त्यसबेला काम विशेषले हेर्न भ्याइएन भने टिकर काटेरै हेर्थेँ ।
यति हुँदाहुँदै पनि कसैले जबर्जस्ती बिना टिकटमा आफ्ना मानिसलाई घुसाएर कार्यक्रम देखायो भने त्यसको हर्जाना उसको तलबबाट असुल गरिन्थ्यो । यही कारणबाट उहाँ अलोकप्रिय पनि हुनुभयो । अनुशासन र नीति विरुद्ध खेली-खाई आएका कर्मचारीहरु यसलाई अन्यायपूर्ण ठान्थे । त्यसैले उहाँलाई बढ्ता भएको, घमण्डी भन्ने आरोपहरु पनि लगाइए । तर, उहाँ आफ्नो निर्णयमा डगमगाउनुभएन ।
संगीत कोषको चाहना
कहिलेकाहीँ मानिसहरुले दिएका नराम्रा दबाबहरुबाट पनि सार्थक कुराको जन्म हुँदो रहेछ ।
हाम्रो सन्तान नभएकोमा नातागोताहरुबाट चियोचर्चा भइरहन्थ्यो । तिमीहरुको सन्तान छैन, शेषपछि घरबार-सम्पत्तिको हेरचाह कसले गर्छ ? कसले सम्हाल्छ ? भन्ने कुरा उठाइरहन्थे । दुखिरहेको घाउलाई कोट्याइदियो भने झन् दुख्छ नि ! फलाना-ढिस्कानालाई ‘धर्मपुत्र’ राख भन्ने सल्लाह पनि दिन्थे । यस्ता कुराले उहाँलाई घोचिरहन्थ्यो । अनि उहाँले एउटा संगीत स्कूल खोल्ने विचार गर्नुभयो ।
कसैलाई धर्मपुत्र पाल्नुभन्दा एउटा संगीत स्कूल खोलेर आर्थिक रुपमा विपन्न, असहायहरुलाई संगीत सिकाउने उहाँको ठूलो मनोकाङ्क्षा थियो ।
पछि उहाँलाई अस्पतालको आई.सी.यू. मा राखिएको बेला उहाँले मलाई किटान गरेर भन्नुभएको थियो- ‘म नरहे पनि तिमीले एउटा संगीत सम्बन्धी विद्यालय खोल्नू र वसन्त चौधरीलाई त्यसको अध्यक्ष बनाउनू । यस बाहेक नगेन्द्र थापा, विश्वम्भर प्याकुर्याल र मेरा अन्य साथीहरुलाई पनि त्यसमा समावेश गराउनू । तिमीले केही गर्नु पर्दैन, मेरा साथीहरुले तिम्रो इच्छा मुताबिक तिमीलाई सहयोग गर्नेछन् ।’
उहाँको जीवनभरिको सिङ्गो अनुभवको उपलब्धि हो- यो नारायणगोपाल संगीत कोष, उहाँको अन्तिम इच्छाको प्रतिरुप हो- यो नारायणगोपाल संगीत कोष र उहाँका सम्पूर्ण साथीहरुको प्रयासको परिणति हो- यो नारायणगोपाल संगीत कोष ।
(नारायणगोपालकी धर्मपत्नी पेमलाले ‘बागीना’ पत्रिका (०४९) मा लेखेको ‘नारायणगोपालसँगका मेरो बीस वर्ष’ आलेखबाट साभार गरिएको हो । पेमलाको ०६१ साल असार १६ गते निधन भएको थियो ।)