धनाढ्य युवा र विवश युवतीको फ्युजन ‘एक रुपैयाँ’, मञ्चन मंसिर १७ र १८ गते


राजाराम पौडेल,पोखरा- एकातिर आफ्ना सपना पुरा गरि भविष्य सुन्दर बनाउन जे पनि गर्न तयार हुने युवतीहरु । अर्कोतर्फ मोज मस्तीका लागि जति पैसा खर्च गर्न तयार हुने युवाहरु । यिनै दुई पक्षबिचको फ्युजन हो नाटक ‘एक रुयैयाँ’ । यस नाटकबाट दैनिक शहरमा हुने वास्तविक विषयवस्तुलाई रंगमञ्च मार्फत बाहिर ल्याउने प्रयास गरिदैँछ । पञ्चामृत नाट्य समुहले गर्ने मञ्चन गर्ने यो नाटक मञ्चनको तयारी अन्तिम चरणमा पुगेको छ । नाटक एक मञ्चन मंसिर १७ गते शुक्रबार र १८ गते शनिबार पोखरा उद्योग वाणीज्य संघको हलमा हुँदैछ । दुई दिन हुने यो नाटकको मञ्चनले नाट्य क्षेत्रका दर्शक एवं शुभचिन्तकको नाटक हेर्ने तृष्णा मेटाउने छ ।
कृष्ण उदासीको लेखन तथा निर्देशन रहेको नाटकमा दिल प्रसाद गुरुङ, परिवर्तन, निलम तामाङ, सवु पाठक, सितला अधिकारी, आशिष अधिकारी, रमेश बाबु तिमिल्सिना, विवश बाबु, ममता कार्कीको अभिनय रहने छ । यो नाटकमा नाटककार उदासी समेत देखिनेछन् । नाटकको सह–निर्देशन विष्णु प्रसाद गौतम, संयोजन परिवर्तन, प्रबन्धक उज्वल रेग्मी, मञ्च व्यवस्थापनको जिम्मा हेमन्त हितेषी, भेषभुषा र श्रृंगार दिपकमान उदास, कोरीयोग्राफि निलम तामाङको रहनेछ । नाटक झण्डै दुई घण्टा अवधिको हुनेछ ।
नाटक एक रुपैयाँमा मनोरञ्जन भन्दा अभिनयलाई प्राथमिकता दिइने नाटककार उदासीले जनाए । ‘बाध्यताले कसरी मानिसलाई गलत कार्य गर्न उत्पेरित गर्दछ भन्ने कुरा नाटक मार्फत देखाउन खोजका छौँ’ उनले भने । गाँउबाट शहर झरेका ४ जना युवती कसरी डान्सबारमा डान्स गरी दैनिक गुजारा गर्न बाध्य हुन्छन् भन्ने कुरालाई नाटक मार्फत पस्कने प्रयास गरिदैछ ।  आफ्नो मनोरञ्जनको लागि लाखौ रुपैयाँ खर्च गर्न सक्ने धनाड्य युवाहरु र आफ्नो अनि परिवारको भविष्य सुन्दर हुने अपेक्षाका साथ पैसाका लागि जे पनि गर्न तयार हुने युवतीको वास्तविक कथाको फ्युजन हो एक रुपैयाँ । शहरमा दैनिक रुपमा घट्ने यस्ता घटनालाई टपक्क टिपेर नाटकमा ढाल्दै समाजलाई सचेतना प्रदान गर्ने जमर्को उदासीले यो नाटक मार्फत गर्दैछन् । उनको  यो १ सय ५ औ नाटक हो । यस अगाडी उनले १ सय ४ नाटकमा विभिन्न जिम्मेवारी लिएर काम गरिसकेका छन् ।
नाटकमा जगननाथ पात्रको रुपमा देखिन लागेका दिल प्रसाद गुरुङले धनाढ्य एक युवा हुन् ।  ‘त्यसरी नभनन, किन्ने खरिदने कुरा होइन, मात्र आजको रात तिमिसँग बिताउन चाहन्छु, जती पैसा माग्छौ माग र म तिमिलाई माया गर्छु ।’ यसरी जगननाथले मनोरञ्जनका लागि पैसा खर्च तयार युवाको वास्तविकतालाई रंगमञ्चमा उर्तानेछन् ।
नाटकमा बविता उर्फ बवी पात्रको रुपमा देखिने सवु पाठक भविष्य सुन्दर बन्ने आशमा जे पनि गर्न पछि नपर्ने तयार हुन्छिन् । ‘रिसाउने मान्छे भए के गथ्र्यौ ? जर्बजस्ति गथ्र्यौ ? हँ ! के गथ्र्यौ ?’ बबिले पैसा खर्च गरि मनोरञ्जन लिन खोज्ने युवालाई सन्तुष्ट पार्दै हरेक रात शहरमा हुने यस्तो गतिविधिलाई प्रतिनिधि पात्रको माध्यमबाट दर्शक सामु पस्कनेछन् ।
प्रेमीको रुपमा देखिएका आशिष अधिकारी सन्तुरामले माया–प्रेम र मिलन विछोडको माध्यमबाट दर्शकको ध्यान खिच्नेछन् । ‘सम्झत ति हाम्रा प्रेमका दिनहरु कति आनन्द लाग्ने थिए । न्याना थिए, उज्याला थिए, गाउँवेशीमा लुकामरी खेलेका क्षणहरु वयर टिप्दै एक अर्कालाई को खाई को खाई गर्दै खुवाएका ति पलहरुलाई ।’ सन्तुरामले लवर व्वाईको रुपमा दर्शकमाझ देखिनेछन् ।
शितला अधिकारीले बाध्यताले ग्राहकको सन्तुष्टि पुरा गर्न पुगेकी अर्को पात्र सृजना उर्फ सिर्जुको रुपमा देखिनैछन् ।  ‘अब त पिडा पनि नशा बन्न थाल्यो, दुःख पनि नशा बन्न थाल्यो ।’  सिर्जु पात्रले आशा मारिसकेको पिडित युवतीको भुमिकामा रंगमञ्चमा आफ्नो उपस्थिती देखाउनेछन् ।
निलम तामाङले पैसाको लागि शरिर बेच्न पछि नपर्ने  पार्वती उर्फ पारुको रुपमा आफुलाई प्रस्तुत गर्नेछन् ।  ‘तिमि मलाई पैसाको साटोमा घर परिवार दि सक्छौ ? मलाई बिहे गर्न सक्छौ ? मलाई श्रीमती बनाएर घर लैजान सक्छौ ?’ पैसा पाउनका लागि रात बिताउन तयार हुने युवतीको प्रतिनिधित्व गर्दै नाट्यप्रेमीको ध्यान तान्नेछन् ।
विवश बाबुले मन्तुराम पात्रको माध्यमबाट ग्रामिण परिवेशलाई स्मरण गराउँदै शहर भन्दा गाउँनै सुन्दर रमणीय भएको प्रष्ट्याउन खोज्नेछन् । ‘यि शहरका मान्छेहरु, हाम्रो गाउँ गयो भने गोबर गनायो भनेर छि छि  र दुरदुर गर्छन् आफ्नो शहरको यस्तो गन्हाउने दुर्गन्ध दिन दिनै सँुघेर बस्दा रहेछन् ।’ मन्तुरामले शहरको दुर्गन्ध र शहरमा हरेक रात हुने विकृतीप्रति व्यङ्ग गर्छन् ।
रमेश बाबले लोकेन्द्र पात्रको माध्यमबाट शहरमा विभिन्न विकृतीमा फसेको युवाको रुपमा आफुँलाई ढाल्नेछन् । ‘बिहे बिहे बिहे, बिहेगरेपछि दिने सबचिज दिएको छु, भन अरु के चाहियो ?’ लोकेन्द्रले पैसाको आडमा अवोध युवतीलाई आफ्नो इच्छा अनुसार प्रयोग गर्न खोज्ने युवाको प्रतिनिधि बनेर रंगमञ्चमा देखिनेछन् ।
ममता कार्कीले बुनु पात्रमार्फत आफुलाई उतादैछन् ।  ‘म यो कापी किताब पढ्दीन दिदि किनकी यसमा तपाइृको बैश पोखिएको छ लतपतिएको छ ।’ गलत कार्यबाट आर्जीत पैसालाई घृणा गर्ने स्वभावका साथ उनले प्रस्तुती राख्नेछिन् । पछिल्लो क्रममा पोखरेली रंगमञ्चमा युवाहरुको आर्कषण बढ्दै गएकोले नाटकको मञ्चनले तिव्रता पाउन लागेको हो ।
पञ्चामृत नाट्य समुहको तेस्रो प्रयासमा यो नाटक पोखरामा मञ्चन गरिन लागेको संयोजक परिवर्तनले जनाए । समुहको पहिलो प्रयासमा गत बैशाखमो पुलिस र प्यास र भदौमा  ‘मौसम हराएको देश’ नाटक मञ्चन गरेको थियो ।  पञ्चामृत समुहले पोखरामा नाटकघर निर्माण गर्ने जनाएको छ । यो समुहको सडक नाटक देखाउने योजना समेत छ ।