– बसन्त रानाभाट,बार्सिलोना
करिव तीन दशक अघि युरोप छिरेका डा. बोधराज सुबेदीले सबैमा ईच्छा शक्ति भयो भने मुलुकमा ठुलै परिबर्तन हुने बताउँछन्। भिमाद -१ तनहुँ घर भई हाल पोल्याण्डको माझोमिस्कि रिजनल क्यान्सर सेन्टरमा अनकोर्स सर्जनका रुपमा कार्यरत डाक्टर सुबेदीले परिबर्तनका लागि सबैमा ईच्छाशक्ति हुनुपर्ने बताएका हुन्। तिन दशक देखि पोल्याण्डको विकासे फड्कोलाई राम्रोसँग नियालेका डा.सुबेदी भन्छन्,” एक जना परिबर्तन भएर मात्र केहिँ हुँदैन देशमा आमुल परिबर्तन ल्याउँने हो सबैमा ईच्छाशक्ति र परिबर्तनको भाब हुनुपर्छ।”
पोल्याण्ड छिर्दै गर्दा त्यहाँको राष्ट्रिय पत्रिकामा लेखिएको आर्टिकल बारे सुबेदी सम्झन्छन्,” सन् १९९० ताका लेखिएको थियो, अबको ५० बर्ष पछि पोल्याण्ड नेटोको सदस्य बन्न सक्ला तर लगत्तै त्यसको केहि पछि नै सन् १९९९ मा नेटोको सदस्य र २००४ मा युरोपियन युनियनको सदस्य बन्यो। अर्थात् अपेक्षा भन्दा नै पहिले उदेश्य पुरा भयो त्यसको प्रमुख कारण सरकार र जनता सबैमा आएको परिबर्तन र ईच्छाशक्तिकै कारण हो।”
डा. सुबेदीका अनुसार पोल्याण्डले एउटा खुल्ला अर्थतन्त्रको नीति ल्यायो जसले गर्दा आर्थिक फड्को मार्न सफल भयो। “ पहिले- पहिले पैसा भएका पोलिस जनताहरुले पनि केहिँ गर्न सकेका थिएनन्, तर पछि मुलुकमा नै लगानी गरे। राम्रा राम्रा प्रोडक्सनहरु रसियाका जान्थ्यो तर खुल्ला अर्थतन्त्रको नीतिले ठुला- ठुला कम्पनिहरु देश भित्र संचालन हुने बाताबरण बन्यो।” मुलुकमा लगानी गर्ने बाताबरण सरकारले ल्याउँन सक्यो भने बाहिर मुख ताक्नै पर्दैन जनता आँफै तयार हुन्छन्।”उनले भने।
मुलुकमा उन्नति हुन कसैले रोक्दैन
उत्तरमा चिन र दक्षिणमा रहेको भारतको बीचमा रहेको नेपाललाई दुई ढुंगा बीचको तरुल भन्दै आईएको छ। तर पोल्याण्डको प्रगतीलाई आफ्नै आँखाले देखेका डा. सुबेदी भन्छन्,” सरकार र जनता बीच सुमधर सम्बन्ध भएमा बाहिरी शक्तिले छुन पनि सक्दैन,रसिया र जर्मनी जस्ता ठुला बिकसित देशको बिचबाट पनि पोल्याण्डले प्रगती गरेर नै देखायो।”
युरोपेली संघका लागि पोल्याण्ड खाद्यान्नको एक प्रमुख स्रोत मानिन्छ। कृषि क्षेत्रमा निजी फारमहरुको ठूलो संख्या पाईन्छ। माछा, चकलेट, र दुग्ध उत्पादन, मासु र विशेष प्रकारका ब्रेडहरु उत्पादन हुन्छन्। कम्युनिस्ट सरकारको पतन भए पछि पोल्याण्डको बलियो घरेलू बजार, मशीनरी, फर्नीचर, खाद्य उत्पादनहरु, कस्मेटिक्स उत्पादनसँगै अर्थतन्त्रमा ठुलो फड्को मारेको छ।
सेन्जेन क्षेत्र र ईयू एकल बजारको एक सदस्य रहेको पोल्याण्डको सबैभन्दा ठूलो व्यापार साझेदार जर्मनी रहेको भन्दै डा. सुबेदी भने, “ठुला बिकसित देशको बीचमा भए पनि, बिकास गर्न कसैले रोक्दैन नेपालले पनि पोल्याण्डबाट पाठ सिक्न सक्छ ।”
पोल्याण्डमा कति छन् नेपाली ? के गर्छन् ?
पेशाले मेडिकल डाक्टर भए पनि गैर आबासीय नेपाली संघ पोल्याण्डका संस्थापक अध्यक्ष समेत रहेका सुबेदी करिव १ हजारको संख्यामा नेपालीहरु रहेको बताउँछन्। ३ दशक पहिलेको अबस्थालाई सम्झदै भन्छन्,” म पोल्याण्ड पुग्दा निकै थोरै संख्यामा मात्र नेपालीहरु थियौ तर अहिले आउँने जाने क्रम चलिरहेको छ त्यसैले यकिन संख्या नै भने गाह्रो छ तर बढीमा १ हजारको संख्यामा छौ भन्ने लाग्दछ।”
बिद्यार्थीको रुपमा अध्ययनका लागि पोल्याण्ड आउँने भए पनि पछिल्लो क्रम नेपालीहरु पोल्याण्ड छाडेर अर्कै युरोपियन मुलुकलाई गन्तब्य बनाउँने गरेको पनि डा. सुबेदी बताउँछन्। पोल्याण्डमा रहेका ईन्डियन तथा नेपाली रेष्टुरेन्टहरुमा ९० प्रतिशत जति त नेपालीहरु कुकको रुपमा काम गरेको पनि उनि सुनाउँछन्। डा. सुबेदीका अनुसार वोर्क परमिट भिसामा पोल्याण्डका मिट फ्याक्ट्रीहरुमा नेपालीहरु पनि कामका लागि आउँने गरेका छन्।
पोल्याण्ड र नेपाल बीचको स्वास्थ्य क्षेत्रको तुलना
पोल्याण्डको माझोमिस्कि रिजनल क्यान्सर सेन्टरमा अनकोर्स सर्जनका रुपमा कार्यरत डाक्टर सुबेदीले हेल्थ ईन्सुरेन्स अनिबार्य हुन सके मात्र प्रत्येक ब्यक्तिले राम्रो उपाचार पाउँने बताउँछन्। सुबेदी भन्छन्,”सरकारी वा प्राईभेट जुन सुकै क्षेत्रमा काम गर्ने ब्यक्तिले तिरेको करबाट, हेल्थ ईन्सुरेन्सका लागि पैसा जान्छ त्यसैले त सरकारले प्रत्येक ब्यक्तिलाई निशुल्क उपाचार गरेको छ। बेसिक केयर देखि ठुला ठुला अप्रेशनहरु हुन् वा बिभिन्न टेष्टहरुमा निशुल्क छ।”
तर नेपालमा हामीले कर नै तिर्दैनौ,पहिले त कति नेपालीहरुले कर तिर्छौ ? सरकारले निशुल्क रुपमा उपचार गर्ने स्रोत त हुनुपर्यो,युरोप होस् वा अमेरिका संसारका जुन सुकै बिकसित देशहरु जनताको करबाट नै चलेका छन्। एउटा राम्रो संयन्त्र बनाएर प्रत्येक नेपालीलाई करको दायरामा ल्याउँन सकियो,भने सरकारले सबै सुबिधा जनतालाई दिन सक्षम हुन्छ। डा. सुबेदीले बताउँछन्।
सोचाईमा पनि परिबर्तन आउँनु पर्छ :-
नेपालको स्वास्थ्य क्षेत्रमा आमुल परिबर्तन ल्याउनका लागि सर्बसाधारणको सोचाईमा समेत परिबर्तन आउनु पर्ने डा.सुबेदी बताउँछन्। उनले भने,”महंगो शुल्क तिरेर उपचार गर्यो भने मात्र सुरक्षित हुन्छ भन्ने मानसिकता नेपाली जनमानसमा छ।
पैसा तिरेन भने त डाक्टरले अप्रेशन पनि राम्रो गर्दैन भन्ने सोचाई पनि छ। अझ देशका नेताहरु सामान्य उपचारका लागि पनि विदेश धाईदिदा झन् नेपालको स्वास्थ्य क्षेत्र बिश्वसनीय र भरपर्दो छैन भन्ने सन्देश गएको छ।”