बहुप्रतिक्षित नेपाल फेस्टिवल २०१६ सिड्नीको मुटु डार्लिङ हार्वरमा भब्य रूपमा सम्पन्न भएको छ ।नेपालका परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले अपरान्ह महोत्सवको उदघाटन गरे। महोत्सवमा सिड्नीसँगै अष्ट्रेलियाका बिभिन्न भागबाट आएका हजारौं नेपालीहरुको सहभागिता जनाएका छन् ।
महोत्सवलाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री महतले अष्ट्रेलियामा रहेको नेपाली समुदायको प्रसंसा गरे । उनले बिदेशी र नयाँ पुस्ताका नेपालीमाझ नेपाली कला र संस्कृतिको प्रर्बद्धन गर्न महोत्सव आयोजना हुनु अन्य देशका लागि पनि अनुकरणीय रहेको बताए ।कार्यक्रममा गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घले, उपाध्यक्ष कुमार पन्त, एनएसडब्लु क्षेत्रका सिनेटर श्याम द्यास्त्री, महोत्सवका आयोजक समिति संयोजक दिनेश पोखरेल लगायतले कार्यक्रमलाई सम्बोधन गरेका थिए ।
महोत्सवमा नेपाली ब्यापारिक प्रतिष्ठान, नेपाली खाना, संस्कृतिक प्रर्बद्धन लगायतका ३५ वटा स्टल रहेका छन् । नेपाली संस्कृति प्रर्बद्धनका लागि बेग्लै नेपाल हाउसको समेत ब्यबस्था गरिएको छ ।
औपचारिक कार्यक्रम समापनसँगै साँझ पाँच बजेबाट बिविध सांस्कृतिक कार्यक्रम भएको छ । जसमा अन्जु पन्त, मञ्जु पौडेल, सुगम पोखरेल, कन्दरा समूह लगायतले बिविध सांस्कृतिक प्रस्तुतीहरु थियो । आतिसबाजीसहित सम्पन्न भएको महोत्सवमा २० औं हजार मानिस सहभागी भएका थिए ।
सन् २००६ बाट पहिलोपटक अष्ट्रेलियाको सिड्नी गैरआवासीय नेपाली संघले नेपाल महोत्सवको आयोजना गरेको थियो । यो नेपाल महोत्सवको छैटौं संस्करण हो ।
महोत्सवको औपचारिक कार्यक्रमअगाडी सिड्नीमा शान्ति पदयात्रा आयोजना गरिएको थियो जसमा राष्ट्रिय पोशाक, बाजागाजा र झण्डासहित सयौं नेपाली सहभागी भएका थिए ।