ऊर्जा राज्यमन्त्रीले तिरे दुई हजार जरिवाना (छापाबाट)


ऊर्जा राज्यमन्त्री सत्यनारायण भगतले विद्युत् प्राधिकरणलाई तिर्न बाँकी तीन महिनाको महसुल बिहीबार तिरेका छन् । चन्द्रनिगाहपुरस्थित घरमा बिजुली बालेको तीन महिनाको बक्यौता रकम बिहीबार प्राधिकरणको प्रशाखा कार्यालयमा बुझाएका हुन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

विद्युत् महसुल समयमा नबुझाएका कारण राज्यमन्त्री भगतले दुई महिनामा दुई हजार ९२ रुपैयाँ जरिवाना तिरेका छन् । ऊर्जा राज्यमन्त्री भगतले आमनागरिकसरह प्राधिकरणमा महसुल बुझाउन आएको बताए । उनले महसुल तिर्नु नागरिकको कर्तव्य भएको र आफू पनि एक नागरिक भएकाले जरिवानासहित महसुल बुझाएको बताए ।

यसैबीच, उनले रौतहटका सबै क्षेत्रमा हुकिङ हटाउन निर्देशन दिएका थिए । चेतनाको कमी र पहुँचको विषय बनाएकाले विद्युत् चुहावट अन्त्य नभएको र राज्यले त्यसमा कडाइ गरिरहेको उनले उल्लेख गरे ।