राजाराम पौडेल,पोखरा -विदेशी यात्रुसहित एकवर्ष अघिदेखि बेपत्ता पोखरा अल्ट्रालाइट कम्पनिको अल्ट्रालाइट जहाज आइतबार बिहान फेला परेको छ । पोखरा विमानस्थलबाट उडेपछि हराएको जहाज माछापुच्छ्रे र अन्नपूर्ण हिमालबीचको खोचमा टुक्राटुक्रा अवस्थामा फेला परेको हो ।पोखरा अल्ट्रालाइट कम्पनिका संचालक पोमनारायण श्रेष्ठले समुन्द्र सतहदेखि करिब १२ हजार फिट उचाईमा टुक्राटुक्रा अवस्थामा जहाज फेला परेको बताए ।‘सम्पर्कविहीन हुनासाथ हामीले खोजी सुरु गरेका थियौं । एकवर्षभन्दा बढी समयसम्म खोजी गर्दा बल्ल फेलापरेको छ,’ उनले भने । जहाजको खोजिका लागि पटकपटक हेलिकोप्टर र आफ्नै जहाज पठाएको उनले बताए ।
जहाज पोहोर साल असोज २१ गते हराएको थियो । पोखरा विमानस्थलबाट उडेको ‘९एन एएलआइ’ कलसाइन भएको उक्त जहाजलाई रसियन पाइलट ५० बर्षीय भ्यालरी बुटेरिनले उडाएका थिए । जहाजमा दक्षिण अफ्रिकी महिला ४० बर्षीया एलिजावेथ वेल यात्रारत थिइन् । ‘माउन्टेन फ्लाइट’ का लागि एक घण्टाको समय लिएर उडेको जहाज उडान भरेको ७ मिनेटपछि सम्पर्कविहीन भएको थियो ।
जहाजमा यात्रारत पाइलट र यात्रु दुवैको मृत्यु भएको र उनीहरुको शरीरको हड्डि मात्र फेला परेको श्रेष्ठले बताए । ‘शरीरको हड्डि र खप्पर, तथा दाँत र जहाजको पांग्रा सहित केही भाग संकलन गरेर ल्याएका छौं,’ उनले भने, ‘जहाजको इन्जिन र पखेटासहित धेरैजसो भाग जलेको थियो । मानव हड्डि परपर उछिट्टएको अवस्थामा थिए ।’ उनले भने ‘ब्लाकबक्स भने फेला पार्न सकिएन । त्यही भएर दुर्घटनाको कारण यकिन भएन ।’
आइतबार सशस्त्र प्रहरीको पोखरास्थित कालिका गणका प्रहरी हवल्दारद्वय पूर्णलाल देवकोटा र तेजेन्द्र बुढा हेलिकोप्टरमा गएर जहाज र मानवहड्डि संकलन गरेका थिए । ‘हेलिप्याडबाट उत्रेर आधाघण्टा उकालो लागेपछि जहाज दुर्घटनास्थलमा पुग्न सकियो,’ देवकोटाले भने, ‘छरपष्ट हड्डि र जहाजका केही भाग संकलन गरेर ल्यायौं ।’