घरबारबिहीनको सहयोगार्थ नेपाली बालकको बेलायतमा ‘च्यारिटी वाक’


लण्डन । बेलायतमा नेपालीहरुको बढ्दो आवादीसँगै स्थानीय गतिविधिमा नेपालीहरुको सहभागिता पनि बढ्न थालेको छ ।यसै क्रममा बेलायतको वेल्समा जन्मिएर हाल इंगल्यान्डको हृयाम्पसायरस्थित बेजिंगस्टोकमा आफ्ना आमा-बाबुसँग बसोबासरत शुभाषिस श्रेष्ठले नर्थ हृयाम्पसायरस्थित माइकल हस्पाइसको सहयोगार्थ ८.५ माइल लामो च्यारिटी वाक गरी नेपाली एक लाख रुपैयाँभन्दा बढी सहयोग रकम संकलन गर्न सफल भएका छन् ।

गत शनिबार राति १० बजे शुरु भएको सो च्यारिटी वाकमा आफ्ना बाबु शिवजी श्रेष्ठसँगै सहभागी भएका शुभाषिसले त्यस ‘मुनलाइट वाक’ करिब ३ घन्टामा पूरा गरेका थिए । सन् १९९१ मा पूर्व मेयर मार्गरेट वेस्टनको नेतृत्वमा स्थापित सो हस्पाइसमा छोटो आयु भएका अर्थात क्यान्सर जस्ता गम्भीर रोगहरुबाट ग्रसित भइ जीवनको अन्तिम क्षणमा पुगेका हरुलाई राखिन्छ, जहा रोगबाट ग्रस्त व्यक्तिहरुले जीवनको अन्तिम क्षणलाई पारिवारिक एबम सकारात्मक सोचका साथ बिताउँदै सहजताका साथ मृत्युबरण गर्ने वातावारणको सिर्जना गरिन्छ ।

बिगत २५ बर्षदेखि यस्ता गम्भीर रोगबाट पीडितहरुको सेवा गर्दै आएको यस संस्थाबाट प्रत्येक बर्ष ५०० भन्दा बढीले सेवा प्राप्त गर्दछ । ओखलढुंगामा जन्मिएर हाल बेलायतमा बसोबासरत आफ्ना बुवा शिवजी श्रेष्ठले प्रत्येक बर्ष गर्दै आएको च्यारिटीमा साथ दिएका १२ बर्षीय शुभाषिसले गत बर्ष नेपालमा विनासकारी भुकम्पपीडितहरुको सहयोगार्थ आफु पढेको बिद्यालयमा ‘नन युनिर्फम डे’ कार्यक्रम गराएर सहयोग रकम समेत संकलन गरेका थिए ।

यसका साथै आगामी अक्टोबर १५ मा बेलायतको बेजिंगस्टोकस्थित घरबारबिहीनहरुको सहयोगार्थ काउन्सिलर नाइजल पियर्सको नेतृत्वको ‘क्याम्रोज सेन्टर फर होमलेस पिपुल इन बेजिंगस्टोक’ द्वारा आयोजना गरिएको तथा आफ्ना बुवा शिवजी श्रेष्ठले संयोजन गरिरहेको ‘वार्म इभिनिंग फ्रम नेपाल’ नामक च्यारिटी कार्यक्रममा उनले नेपाली गीत गाउने तयारी पनि गरिरहेका छन् ।