पत्रकार महासंघ र एनआरएन युकेबीच समझदारी


पत्रकार महासंघ युकेबीच एक समझदारी भएको छ । उक्त सम्झौता पत्रमा  एनआरएन युकेका अध्यक्ष मुच्छेत्र गुरुङ र महासंघ युकेका अध्यक्ष नरेश खपाङगीमगरले हस्ताक्षर गरे ।

समझदारी पत्रमा नेपाल घर निर्माणसम्बन्धी अभियानका बारेमा नेपाल पत्रकार महासंघले प्रचारप्रसार र जनमानसमा सकारात्मक माहौल बनाउन मिडिया साझेदारको काम गर्ने, नेपाल घर निर्माणका गतिविधिलाई जनमानसमा छिटोभन्दा छिटो र पारदर्शी रुपमा जानकारी गराउन नेपाल पत्रकार महासंघले भूमिका निर्वाह गर्ने छ ।

यस्तै, नेपाल घरमा युकेका नेपालीहरुका बारेमा सम्पूर्ण जानकारीहरु समेटिएको एक सूचना केन्द्र स्थापना गरिने छ र सोको व्यवस्थापन र संचालनको जिम्मा नेपाल पत्रकार महासंघलाई दिइने छ । सो अवसरमा एनआरएन युकेका तर्फबाट महासंघ युकेका पदाधिकारी तथा सदस्यहरुलाई खादा ओढाइ सम्मान गरेका थिए ।

कार्यक्रममा बोल्दै गुरुंगले नेपाल हाउस एनआरएन युकेको महत्वाकांक्षी परियोजना भएकाले सहयोग गर्न अनुरोध गरे । महासंघका अध्यक्ष खपांगीमगरले नेपाल हाउस युकेमा बस्ने सबै नेपालीहरुको शान र इज्जतको परियोजना भएकाले महासंघले सबै किसिमले सहयोग गर्ने बताए ।

एनआरएन युकेका उपमहासचिव अर्जुन कटवालले संचालन गरेको कार्यक्रममा प्रवक्ता खुशी लिम्बुले स्वागत गरेका थिए भने महासंघका उपाध्यक्ष ध्रुव अर्याल, सचिव शिव भण्डारी र सल्लाहकार नविन पोखरेलले आफ्ना विचार राखेका थिए । एनआरएन युकेका सचिव समझदारी पत्र पढेर सुनाएका थिए भने उपाध्यक्ष राष्ट्र राईले धन्यवाद ज्ञापन गरेका थिए ।