बसन्त रानाभाट / बार्सिलोना
अन्तराष्ट्रिय नेपाली कलाकार समाज (ईनास) को युरोप स्तरीय कार्यक्रमले स्बिजरल्याण्ड संगीतमय बन्ने भएको छ। युरोप स्तरीय एकल नृत्य तथा गायन प्रतियोगितामा युरोपभरका प्रतिभावान कलाकारहरु एउटै मञ्चमा आएर स्बिजरल्याण्डलाई संगीतमय बनाउँन लागेका हुन्।
कार्यक्रममा,स्बिजरल्याण्ड,जर्मनी,स्पेन,लक्जम्बर्ग,पोल्याण्ड,ईटाली,बेलायत,फिनल्याण्ड,फ्रान्स,बेल्जियम,डेनमार्क,नेदरल्यान्ड्स,पोर्चुगल,चेक रिपब्लिक जस्ता युरोपियन मुलुकहरुबाट प्रतिभावान कलाकारहरुले सहभागिता जनाउँने बताईएको छ। अन्तराष्ट्रिय कलाकार समाज (ईनास) स्बिजरल्याण्ड एबं ईनास युरोपको आयोजनामा आगामी मे १४ र १५ तारिख बासेलमा कार्यक्रम हुन लागेको हो।
ईनासको नौलो कार्यक्रम:-
प्रबासमा सांगीतिक जमघटका कार्यक्रमहरु बढी नै हुने भए पनि लुकेर रहेका प्रतिभाहरुलाई कदर गर्दै प्रतियोगितात्मक कार्यक्रमहरु भने कमै हुने गरेका छन्। तिन पटक सम्म युरोपस्तरीय एकल नृत्य प्रतियोगितात्मक कार्यक्रम गरिसकेको ईनासले यसपटक देखि एकल गायनलाई पनि प्रतियोगितात्मक रुपमा समेटेको छ।
नेपालमा यस्ता कार्यक्रमहरु हुँदै आएका भए पनि युरोपको नेपाली सांगीतिक मञ्चमा भने, यसलाई नौलो रुपमा हेरिएको छ। चौथो युरोपस्तरीय एकल नेपाली नृत्य तथा पहिलो गायन प्रतियोगिताले युरोपमा रहेका दोस्रो पुस्ताका नेपालीहरुको समेत ध्यान खिचेको छ।
– युरोपमा नेपाली डानसिङ्ग तथा सिङ्गिङ स्टारको खोजी
झ्याउरे, टप्पा, मारुनी, सोरठी, चुट्का, देउडा, हुट्क्यौली आदि नेपालका सबै लोक नृत्य तथा मन्जुश्री, कुमारी, भैरव, साकेला, घाटु लगायतका परम्परागत लोक नाच देखाउँदै युरोपका प्रतिभावान कलाकारहरु नृत्य प्रतिस्पर्धाको मञ्चमा उत्रदै छन्। यो अलवा नेपाली पप, जाज, ब्रेक र रिमिक्स जस्ता आधुनिक विधामा गरी प्रतियोगीहरुले दूई फरक शैलीका गीतहरुमा नृत्य प्रस्तुत गर्दै उपाधिको होडमा प्रतिस्पर्धा गर्न लागेका हुन्।
तिन मिनेट समय तोकिएको नृत्यबाट नै उत्कृष्ट हुनेले “ईनास युरोप नेपाली डानसिङ्ग स्टार २०१६” को उपाधि चुम्ने छ। उपाधि बिजेतालाई ७ सय १ युरो नगद, ट्रफी र प्रमाणपत्रले पुरस्कृत गरिने आयोजकले जनाएको छ। यस्तै फस्ट रनर अप र सेकेन्ड रनरअपलाई पनि क्रमश: पाँच सय एक युरो र तिन सय एक युरो नगद, ट्रफी र प्रमाण-पत्र प्रदान गरिने भएको छ।
नृत्य जस्तै गायन विधामा पनि पहिलो दोस्रो र तेस्रोलाई यसै गरी पुरस्कृत गरिने ईनासले जनाएको छ। गायन तर्फ भने आधुनिक तथा लोक विधाबाट प्रतियोगीहरुले दुई वटा नेपाली गीतहरु सुनाउने छन्। प्रतियोगितामा गायनतर्फ सर्बोत्कृष्ट हुनेले,”ईनास युरोप नेपाली सिङ्गिङ स्टार २०१६” को उपाधि चुम्ने भएको छ। १३ बर्ष वा सो भन्दा माथि उमेर भएकाहरुले मात्र नृत्य तथा गायन प्रतियोगितामा सहभागिता जनाउँन सकिने आयोजकले जनाएको छ।
तिन पटक नृत्य प्रतियोगिता सम्पन्न गरिसकेको ईनासले अहिले गर्न लागेको नृत्य प्रतियोगिता भने चौथो हो। पहिलो र तेस्रो जर्मनीमा,साथै दोस्रो ईनास युरोपस्तरीय नेपाली नृत्य प्रतियोगिता नेदरल्याण्डमा सम्पन्न भईसकेका छन्।
कार्यक्रमको तयारी तिब्र
करिब १५ देशहरुबाट सहभागीहरु पुग्ने अपेक्षा गरिएको कार्यक्रमका लागि तयारी तिब्र गतिमा चलिरहेको छ। ईनास युरोपका संयोजक अर्जुन काफ्लेले प्रतिभावान कलाकारहरुले एउटा राम्रो मञ्च पाउँने हुँदा उनीहरुको उच्च कदर हुने बिश्वास राखेका छन्। उनले भने,” नेपाल देखि सिधै आएका मात्र होईनन्,युरोपमा नै जन्मेर यतै हुर्केका प्रतिभावान कलाकारहरुको लागि पनि कार्यक्रमले न्याय दिन सक्नेछ भन्ने हाम्रो ठम्माई छ।”
कार्यक्रम ब्यबस्थापन समितिका संयोजक धन सिंह ठकुरीले कार्यक्रम तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए। ठकुरीले कार्यक्रममा सहभागी बनेर कलाकारहरुलाई प्रोत्साहन दिन युरोपबासी नेपाली समुदायलाई अनुरोध समेत गरेका छन्।
चौथो युरोपियन बैठक पनि
नृत्य र गायन प्रतियोगितासँगै ईनासको चौथो युरोपियन बैठक पनि हुने भएको छ। मे १४ तारिख बासेलमा नै बैठक हुने युरोप संयोजक काफ्लेले जानकारी दिए।
उनका अनुसार बैठकमा, युरोपमा गठित बिभिन्न देशका समितिहरुले आ-आफ्नो गतिबिधि तथा प्रतिबेदन पेश गर्ने छन्। केन्द्रिय अध्यक्ष पुष्प बरुवाल समेत सहभागी हुने बैठकले आगामी कार्ययोजना समेत तय गर्ने बताईएको छ।






waoooo….
Comments are closed.