– डा. विनय श्रेष्ठ, स्विटजरल्याण्ड।
अमेरिका र भारत एक मिलिटरी लजिस्टिक सम्झौता हस्ताक्षर गर्न सिद्धान्तत तयार भएको समाचार प्रकाशित भएको छ। संसारकै शक्तिशाली राष्ट्र अमेरिका र सैन्य शक्तिका हिसाबले विश्वकै शक्तिशाली राष्ट्रहरुको तालिकामा उच्च स्थान ओगटने भारतबीच सैन्य र सुरक्षाका सवालहरुमा हुने सामिप्यताले मुख्यत: एसिया र समग्रमा संसारकै सुरक्षा सवालमा महत्वपुर्ण प्रभाव पार्नेछ।
सम्झौता अनुसार भारत र अमेरिकाले सैन्य कृयाकलापहरुमा एक-अर्काका भूमि प्रयोग गर्न सक्नेछन्। अवश्यपनि हस्ताक्षर हुने सम्झौताका लागि लामो समयदेखि कुतनीतिक स्तरमा कार्य भएकै हुनुपर्छ। यो तहको सहमति १-२ घण्टामा पक्कै जुर्दैन।
यसले, ति दुवै राष्ट्रहरुले एसिया र बिशेषत: हिन्द महासागर क्षेत्रमा चीनको बढ्दो उपस्थतिलाई संवेदनशिलताका साथ लिएको बुझ्न सकिन्छ भने भारतले जस्तोसुकै मुल्य चुकाउनु परेपनि आफुलाई आवश्यक सैन्य प्रविधि अमेरीकाबाट खरीद गरेर भारतीय सेनाको आधुनिकरण गर्न चाहन्छ भन्ने स्पष्ठ गर्छ। साथै, यि दुई देशबीचको सैन्य सहकार्यमा देखिएको प्रगतिले केहि समयदेखि हामीले अवलोकन गरेको भारत र पश्चिमी राष्ट्रहरू बीचको नजिकिंदो सम्बन्धलाई पुष्टि गर्दछ।
भारत हातहतियारको आपुर्तिका लागि मूलत: आफ्नो ट्रेडिसनल पार्टनर रसियामाथि निर्भर छ। रसिया र भारतबीच हातहतियार आपुर्ति, विकास र उत्पादनका क्षेत्रमा दूरगामी प्रभावका सन्धि-सम्झौताहरु भएका छन्। तर पनि भारत अमेरिकाको कटिङ एड्ज सैन्य प्रविधि प्राप्त गर्न बर्षौंदेखि लालायित छ।
भारत र अमेरिकाबीचको यस सम्झौताले चीन र रसियाबीच सैन्य सहयोग र सहकार्यमा बिस्तार हुने सम्भावना बढाएको छ। यसैपनि युक्रेन विवाद पश्चात रसिया एसिया-प्यासिफिक क्षेत्रमा केन्द्रित हुन थालेको छ। तरपनि आ-आफ्ना ब्यापारिक एवं सुरक्षा चासोका कारण चीन र रसियाबीच को सहकार्य पनि सोचें जस्तो सहज भने रहने छैन।
अमेरीका र भारतबीचको सैन्य सम्झौताले नेपालमा के कस्तो असर पर्ला भन्ने नै हाम्रो चासोको बिषय हो। भारत आफ्नो दायाँ रसिया र बायाँ अमेरीका राख्न सकेकोमा हौसिने छ भने चीन भारतको त्यो हौस्याईबाट सशङ्कित बनेपनि आफ्नो राष्ट्रिय हितको बिषयमा मिलि मिटर पनि टसमस हुने छैन। ति शक्तिशाली राष्ट्रहरु बीच विकसित नयाँ सैन्य ध्रुविकरणले नेपाललाई प्रभाव पार्ने अनुमान गर्न सकिन्छ। प्रभावको आयतन र परिणाम भविष्यमा सतहमा आउने नै छ।
नेपालको विशेष भू-राजनीतिक परिवेश र उल्लेखित सम्झौताबाट सृजित नयाँ परिस्थितिमा नेपालले आफ्नो राष्ट्रिय हितमा केन्द्रित रहि भारतसंगको आफ्नो सम्बन्धलाई पुनरावलोकन र नयाँ शिराबाट परिभाषित गर्दै दुई देशबीच विद्धमान विवादहरुको समाधान खोज्न उन्मुख हुन पर्ने देखिन्छ। खोक्रो राष्ट्रवाद र सहज समर्पणवाद कुनैले पनि हाम्रो राष्ट्रिय हितको सुरक्षा हुन सक्ने देखिंदैन।
भारत र चीन सैन्य शक्ति र अर्थतन्त्रका हिसाबले अन्तर्राष्ट्रिय स्टेजमै प्रभाव जमाएका राष्ट्रहरु हुन। सबैभन्दा हेक्का राख्नु पर्ने कुरो, यि दुबै नेपालका छिमेकी राष्ट्रहरु हुन्। सहअस्तित्व, समदुरी र विकास केन्द्रित अवधारणामा आधारित नीति अंगालेर अघि बढनु, सहज नभएपनि, देश र जनताको हितमा हुन्छ कि?
स्विटजरल्याण्ड नेपाल जस्तै भूपरिबेष्टित तर नेपालभन्दा सानो भएरपनि युरोपियन युनियन भित्र नछिरिकनै जर्मनी, फ्रान्स र ईटलि जस्ता सैन्य शक्ति र ठूला अर्थतन्त्रका बीच सार्वभौम राष्ट्रका रुपमा समृद्धि हासिल गर्न सकेको छ।