नेपालको पर्यटन बिकासका लागि युरोपबाट सम्भावना:-


- बसन्त रानाभाट

– बसन्त रानाभाट

बिनाशकारी भूकम्पले थला परेको हाम्रो मुलुकलाई भारतीय अघोषित नाकाबन्धीले पनि नराम्रो सँग असर गर्यो। भूकम्पले घरबार बिहिन भएका पिडितहरुको ब्यथा आफ्नै ठाँउमा छ तर घर जोगिएकाहरुकोले पनि सहज जीन्दगी ब्यतित गर्न पाएनन्। चुलो बाल्न न त ग्यास नै पाए,डिजेल पेट्रोलको अभावले आबाज जावत गर्न त्यस्तै कठिनाई।

केहिँ दिन नेपाल पुगेर फेरि प्रबास फर्किएका नेपालीहरुको भोगाईलाई आधार मान्ने  हो भने पनि अबस्था सामान्य रहेन। प्रस्तुत लेखमा, मिठो भाषा मिलाएर सर्बसाधारण नेपालीहरुले भोगेका अनुभूतिलाई उतार्न त्यति न्यायोचित लागेन। करिब ३ करोड नेपालीहरुले स्वेदशमा नै बसेर विपत्ति र असहज परिस्थितिको सामाना गरिसकेको बेला,प्रबासबाट मिठो शब्दमा मात्र कोर्दा शोभनीय नहोला।

तर माथि उल्लेखित बिषयबस्तुलाई यस पङ्तिकारलाई यो अर्थमा उठाउँन मन लागेको हो कि, यो जटिल अबस्थामा नेपाल घुम्न गएका बिदेशी पर्यटकहरुले के सन्देश लिएर फर्केका होलान् ? यसलाई हामीले गंभिर ढंगबाट बुझ्न जरुरी छ। त्यो बेलामा,छोटो समय नेपाल पुगेर प्रबास फर्किदा,एउटा नेपालीले कहालीलाग्दा अबस्थाहरु सुनाउँछ भने बिदेशीको मनमा के परेको होला ? भन्ने बिषयलाई मात्र उठान गर्न मन लागेको हो।

एक त बिनाशकारी भूकम्पमा ज्यान गुमाएका बिदेशी पर्यटकहरु,घाईते वा हराईरहेका बिदेशीहरु र यसको प्रभाबका कारण नेपालको पर्यटन ब्यबसायमा,अपुरणीय क्षति पुगिसकेको छ। तर यो प्राकृतिक बिपत्तिका कारण परेको प्रभावलाई कसरी पुरानो अबस्थामा फर्काउँने भन्ने बिषयमा हामी सबै चिन्तित हुन जरुरी छ। भूकम्प पछि पनि नेपाललाई माया गरेर नेपाल पुगेका बिदेशी पर्यटकहरुले नाकाबन्धीको असहज परिस्थितिलाई कसरी सामाना गरे होलान् र के सन्देश लिएर फर्किए त्यसतर्फ ध्यान दिन जरुरी छ।

नेपालमा घुम्नका लागि बिदेशी पर्यटकहरुलाई कसरी बिश्वास दिलाउँन सकिन्छ वा के कस्ता कार्यक्रमहरु ल्याउँदा उपयुक्त हुन्छ भन्ने बिषयमा चर्चा गर्नु अघि, बर्षेनी कति बिदेशी पर्यटकहरुमा नेपाल भित्रने गरेका छन् यो विषयमा बुझ्न जरुरी छ। संस्कृति पर्यटन तथा नागरिक उड्यान मन्त्रालयको तथ्याङ्क अनुसार कुन कुन देशबाट बिदेशी पर्यटकहरु  नेपाल पुग्ने गरेका छन्। अझ बिशेष गरी युरोपबाट नेपाल घुम्न जानेको तथ्याङ् कस्तो छ भन्ने बिषयलाई यहाँ प्रस्तुत गरिएको छ।

नेपाल घुम्न जाने पर्यटकहरु:-

भूकम्प र नाकाबन्धीले प्रभाव पारेको बर्ष सन् २०१५ को यकिन बिबरण आईनसके पनि सन् २०१४ मा स्थलगत र बायु सेबा गरी ७ लाख ९० हजार १ सय १८ जना पर्यटकहरु नेपाल पुगेको तथ्याङ्क रहेको छ। जुन संख्या सन् २०१३ मा  नेपाल पुगेका बिदेशी पर्यटकहरु ७ लाख ९७ हजार ६ सय १६ को संख्या भन्दा केहि हजार कम हो। अप्रिलमा नै नेपालमा बिनाशकारी भूकम्प जानु र अत्याधिक पर्यटकहरु जाने महिना अगष्ट देखि नोभेम्बर सम्म नाकाबन्धीको प्रभावका कारणले पनि बर्ष २०१५ मा ठुलो गिरावट आएको सहज अनुमान गर्न सकिन्छ।

सन् २०१४ को तथ्याङ्कलाई आधार मान्दा छिमेकी मुलुक भारतबाट मात्र १ लाख ३५ हजार ३ सय ४३ जना घुम्ने प्रयोजनका लागि नेपाल पुगेका छन्। जम्मा संख्याको यो ठुलो हिस्सा हो। यस्तै चाईनावाट पनि १ लाख २३ हजार ८ सय ५ जनाको संख्यामा नेपाल पुगेका छन्। सन् २०१४ मा भारत बाहेक तेस्रो मुलुकबाट नेपाल भित्रिएका प्रर्यटकहरु ६ लाख ५४ हजार ७ सय ७५ जना रहेका छन्।

भारत र चिन बाहेक नेपाल घुम्न जाने बिदेशी पर्यटकहरुमा मुख्यता: अमेरिकाबाट ४९ हजार ८ सय ३०,श्रीलङ्का ३७ हजार ५ सय ४६, बेलायत ३६ हजार ७ सय ५४, थाईल्याण्ड ३३ हजार ४ सय २२,जापान २५ हजार ८ सय २९,अष्टेलिया २४ हजार ५ सय १६,फ्रान्स २४ हजार ९७, दक्षिण कोरिया २३ हजार २ सय ५,बंगलादेश २१ हजार ८ सय ५१,मलेसिया १८ हजार ९ सय १५,जर्मनी १८ हजार २८, स्पेन १३ हजार १ सय १० र नेदरल्याण्ड १२ हजार ३ सय २० जना रहेको,नेपाल सरकार संस्कृति पर्यटन तथा नागरिक उड्यान मन्त्रालयले सन् २०१४ मा तयार गरेको तथ्याङ्कमा उल्लेख छ।

युरोपका कुन देशबाट कति ?

युरोपबाट बर्षेनी  नेपाल घुम्न जाने बिदेशी पर्यटकहरुमा सबै भन्दा बढी बेलायतबाट ३६ हजार ७ सय ५४ जना रहेका छन्। सन् २०१४ कै तथ्याङ्क अनुसार दोस्रोमा फ्रान्स २४ हजार ९७,तेस्रोमा जर्मनी १८ हजार २८ र चौथौमा स्पेन रहेको छ,यहाँबाट १३ हजार १ सय १० जना पर्यटक नेपाल पुगेका छन्।

यस्तै अन्य युरोपियन मुलुकहरु नेदरल्याण्ड १२ हजार ३ सय २०, ईटाली १० हजार ३ सय ४७,स्बिजरल्याण्ड ६ हजार ४ सय ४७, बेल्जियम ५ हजार ४ सय ३७, डेनमार्क ५ हजार १ सय ५०, स्विडेन ३ हजार ७ सय २४, अष्ट्रिया ३ हजार ३ सय २० र  नर्बे २ हजार ४ सय ७०जना रहेका छन्। अन्य युरोपियन मुलुकहरुबाट भने यो भन्दा कम संख्यामा नेपाल पुगेको पाईन्छ।

सन् २००७ मा स्पेनबाट १५ हजार ६ सय ७२ जना र सन् २०१२ मा १४ हजार ५ सय ४९ जना पर्यटकहरु नेपाल पुगे पनि,अहिले आएर त्यो संख्या घट्दो क्रममा छ।  सन् २००३ देखि सन् २०१४ सम्म नेपाल पुगेका स्पेनिसहरुको तथ्याङक हेर्दा करिब १ लाख ५० हजारको हाराहारीमा पुगेको छ। बिशेष युरोपबाट नेपाल पुग्ने पर्यटकहरुलाई हिमाल चढ्न र ट्रेकिङ्का लागि रुचि हुने पाईएको छ।

नेपालको अबस्था सामान्य छ:-

प्राकृतिक विपत्ति पटक पटक आउँने होईन। दशकौ पछि नेपालले बिनाशकारी भूकम्पको सामाना गर्नु पर्यो। तर पनि विपत्ति पछिको अबस्थामा भने सबैको चासो रहेको हुन्छ। त्यहिँ अबस्थाले नै पर्यटकको गन्तब्य निर्धारण गर्ने हुँदा,हामी प्रबासमा बस्ने नेपालीहरु जाग्नु पर्ने बेला आएको हो।

भूकम्प पछि भारतीय नाकाबन्धीले पनि नेपालको प्रर्यटन क्षेत्र धरायसी बनेको छ। तर अहिले दुवै अबस्था सामान्य बन्दै गएको छ। तर बिदेशी माँझ यो सन्देश पुग्न सकेको छैन। ५० लाख नेपालीहरु प्रबासमा छौ भनीरहँदा,नेपाल अझै पनि पर्यटकका लागि उचित गन्तब्य हो भन्न हामीले के गर्ने भन्ने प्रश्न महत्वपूर्ण हो।

अब गर्ने के त ?

नेपालमा पर्यटक बढी जाने केहि पश्चिमा देशहरुले,बिनाशकारी भूकम्पका बेला, नेपालमा यात्रा गर्न असुरक्षित रहेको भन्दै सुचना जारी गरेका थिए। केहि देशले सुझावलाई केहिँ खुकुलो बनाए भने कतिपयले अझै पनि आफ्ना नागरिकहरु नेपाल भ्रमणका लागि सहज छ भन्न सकेका छैनन्।

पर्यटक आगामनको रोकावट मुख्यत: यहिँ वाट नै भएको छ। नेपाल सरकारले यस बारे कत्तिको चासो दिएको छ ? नेपाल घुम्नका लागि सुरक्षित छ भन्ने सन्देश बिदेशी माँझ प्रबाह गर्न सकेको छ कि छैन ? बिभिन्न देशहरुमा कुटनीतिक सम्बन्ध स्थापित गर्दै नेपाली राजदुताबासहरु स्थापना गरिसकेको नेपालले,सुरक्षाको प्रत्याभुति दिन नसके सम्म, अबस्था सधैँ जटिल नै रहने देखिन्छ। यसबारे पर्यटन मन्त्रालय देखि पर्यटन क्षेत्रमा काम गर्ने निजी संघ सँस्थाहरुले पर्यटकलाई नेपाल ल्याउँन प्रोत्साहनका प्रयासहरु गर्न जरुरी छ।

प्रबासी नेपालीहरुको भूमिका:-

विदेशमा रहेका नेपालीहरु,यहाँको नेपाली समुदायले बिशेष जिम्मेबारी निर्बाह गर्न जरूरी छ। व्यक्तिगत,समुहगत वा सँस्थागत रुपमा बिदेशी पर्यटकहरुलाई बिश्वास दिलाउँन सकिए प्रभावित पार्न सकिन्छ। प्रबासमा ७२ देशमा आफ्नो संजाल फैलाएको गैर आबासीय नेपाली संघ (एनआरएनए) पनि रहेको छ। भूकम्पको बेलामा राहत बितरण गरेर चर्चा कमाएको यति ठुलो सँस्थाले हरेक राष्ट्रिय समन्वय परिषदहरुबाट, बिदेशी समुदायलाई लक्षित गरी नेपाल सुरक्षित छ भन्ने सन्देश मुलक कार्यक्रम ल्याउँन सकेका पनि ठुलो सहयोग मिल्ने देखिन्छ।

यस्तै,नेपाल सरकारले,विदेशमा रहेका नेपाली राजदुताबास,कन्सुलर कार्यलयहरुबाट पनि पर्यटन भित्राउँने बिशेष कार्यक्रमहरु संचालन गर्न जरुरी छ। विदेश स्थित राजनितिक,जातीय,क्षेत्रीय संघ सँस्थाहरुले आ- आफ्नै ठाउँबाट पहल गर्दा,नेपाल प्रतिको सकारात्मक सोच ल्याउँन मद्दत पुग्ने छ।

तर प्रर्यटन बिकासका लागि भन्दै नेपाली समुदायबाट  हुँदै आएका कार्यक्रमहरुले,आसनग्रहण,भाषण र खादामा बढी समय खर्चिने हुँदा, फरक भिजन सहित बिदेशीहरुलाई नै लक्षित गरी प्रभावकारी कार्यक्रम ल्याउँन जरुरी देखिन्छ।

युरोपबाट सम्भावना:-

संयुक्त राज्य अमेरिका,अष्ट्रेलिया,न्युजिल्याण्ड,एसियाका मुलुकहरु जस्तै नेपालको पर्यटक बिकासका लागि आश लाग्दो केन्द्र युरोप क्षेत्र मानिन्छ। बिशेष गरी नेपालका हिमालहरु चढ्नका लागि फ्रान्स,बेलायत,स्पेन,जर्मनी,स्बिजरल्याण्ड,अष्ट्रिया,ईटली,रसिया,नेदरल्याण्ड,पोल्याण्ड नर्बे,चेक गणतन्त्र,रोमानिया,बेल्जियमबाट पर्यटकहरु बर्षेनी नेपाल जाने गरेका छन्।

युरोप क्षेत्रमा नेपालको कुटनीतिक सम्बन्धलाई अझ प्रभावकारी बनाउँन जरुरी छ। बिशेष गरी फ्रान्स,बेल्जियम,रसिया,स्बिजरल्याण्ड,डेनमार्क,बेलायत,जर्मनी जस्ता मुलुकहरुमा सम्बन्ध स्थापित गरीसकेको नेपाल सरकारले दुताबासबाट पर्यटन बिकासका कार्यक्रम ल्याउँन सक्यो भने ठुलो सम्भावना देखिन्छ।

बढी पर्यटकहरु जाने तर दुताबास नभएका मुलुकहरु स्पेन,नेदरल्याण्ड र ईटलीलाई पनि लक्षित गरी सरकारले योजना बनाउँन जरूरी छ।

यसमा गैर आबासीय नेपाली संघ,नेपाली समुदाय स्थित राजनीतिक,जातीय क्षेत्रीय संघ सँस्थाहरुको सहयोग र सद्भाव रहे,नेपालको पर्यटन क्षेत्रलाई पुरानै धारमा फर्काउँन खासै समय लाग्दैन।

2 COMMENTS

Comments are closed.