राजनीति व्यवसाय वा पेशा होईन, समाज सेवा हो


- प्रकाश श्रेष्ठ

– प्रकाश श्रेष्ठ

कुनै पनि देशको शासन व्यवस्थालाई सुव्यवस्थीतरुपमा संचालन गर्नको लागी राजनितिक पक्ष राज्यको महत्वपुर्ण अंग हो । खासगरी व्यवस्थापिका , कार्यपालिकाको संरचना र नेतृत्व राजनैतिक पक्षको प्रतिनिधित्व हुन्छ । राज्य संचालनको नियम, कानुन बनाउने देखि त्यसको सफल कार्यान्वयन गराउन राजनैतिक नेतृत्वको महत्वपुर्ण भुमिका हुन्छ । देशको कर्मचारीतन्त्रलाई चुस्त , दुरुस्त राख्न , शुसासन कायम गर्न समेत सक्षम राजनैतिक नेतृत्व दिने नेताहरुको जरुरत पर्दछ । त्यसैले राजनिती वास्तवमा समाज र राष्ट्रलाई सही मार्गमा हिडाउने वा डोराउने साधन हो भन्न सकिन्छ ।

अहिलेको युग जटिल सामाजिक संरचना भएको युग हो यसलाई व्यवस्थितरुपमा समयसापेक्षरुपबाट अगाडी बढाउन , समाजमा रहेका तमाम वर्गहरुको जीवन निर्वाहलाई सरल एवं सहज बनाउन राज्य संयन्त्र चुस्त , जनउत्तरदायी , क्रियासिल , जनमुखी, विकाशप्रेमी, विकेन्द्रिकृत , न्यायिक , सहभागितामुलक, प्रजातान्त्रिक, पारदर्शी, भस्ट्राचारमुक्त, सेवामुखी हुनु आवस्यक छ । कुनै पनि देशको विकास र सम्पन्नता त्यो देशमा विद्यमान राजनैतिक प्रणाली र राजनितिक गतिविधिमा निर्भर गर्दछ । राजनिती नै देश निर्माण गर्ने महत्वपुर्ण औजार वा साधन हो ।

यसलाई राज्यको हरेक पक्षको विकास गर्ने माध्यमको रुपमा लिईने हुनाले यसलाई देशको मेरुदण्ड , जिवनरक्तको रुपमा लिन सकिन्छ । वास्तवमा राजनितीलाई जनताको सेवा गर्ने शुद्ध सामाजिक सेवाको रुपमा जव सम्म हेरिदैन , यसलाई केवल व्यक्तिगत आय आर्जनको माध्यमको रुपमा लिन खोजिन्छ तव सम्म देशमा जुनसुकै राजनैतिक व्यवस्था , राजनैतिकवादहरु आए पनि यसले खासै समाज र जनताको जीवनस्तर र जिवनचर्यामा खासै ठुलो महत्व राख्न सक्दैन ।
नेपालको ईतिहासलाई एकपटक फर्केर हेर्ने हो भने वि.सं. २००७ साल देखि धेरै परिवर्तनहरु पटक-पटक भएको पाउन सकिन्छ तापनि जनताको जिवनस्तर , सामाजिक -सांस्कृतिक परिवर्तनहरु खासै उल्लेखनियरुपमा हुनसकेको हामी देख्न सकिरहेका छैनौ । मुलत: जे जति राजनैतिक परिवर्तनहरु भयो त्यस पश्चात परिवर्तनको लागी नेतृत्वदायी भुमिका खेलेका राजनैतिक दल र नेताहरु ईमान्दार एवं जनउत्तरदायी भएर जनताको विकास , निर्माणको काममा समर्पित हुनु भन्दा बढी कसरी व्यक्तिगतरुपमा आफ्नो आय आर्जनमा वृद्धी हुन्छ , कसरी आफ्ना सन्तती, परिवार, नातागोता, भाई-भतिजाहरुको व्यक्तीगत जिवनलाई आर्थिकरुपले माथी उठाउन सकिन्छ त्यस तर्फ नै बढी ध्यान केन्द्रित गरेको प्रष्ट देख्न सकिन्छ ।

देश भित्रै वा छिमेकी देशहरुसँग राष्ट्रिय महत्व राख्ने किसिमका संधी -संझौता , करारहरु जे जति भए ती देश र जनताको हित भन्दा पनि व्यक्तीगत लाभ र सत्ता टिकाईरहने , कुर्ची जोगाई रहने कामको लागी दुरुपयोग गरेको पाईन्छ ।राजनितिक परिवर्तन गर्ने संघर्षको बेलामा एकदमै राष्ट्रप्रेम , जनहित र समनातामुलक समाजको निर्माणमा लाग्ने भाषणहरु र नाराहरु सडक र गाउँ-बस्तीहरुमा चर्कोरुपमा घन्काउने र राजनैतिक परिवर्तन भएर सत्तामा पुगिसकेपछि स्वाट्टै सबै कुरा भुलेर आफ्ना आसे-पासे र आफ्नो जीवनलाई केन्द्रमा राखेर दाम कमाउन जस्तोसुकै काम गर्न र राष्ट्रलाई बन्धक बनाउन पनि पछि नपर्ने चलन चलिआएको छ ,अझै सम्म यो प्रवृती प्रायः सबै राजनितिक दलहरुमा हावी रहेको हाम्रो अगाडी घाम जस्तो छर्लग छ ।

यो सबै हुनुमा राजनैतिक नेताहरुको सोच र दृष्टिकोण राजनितीलाई समाज सेवा भन्दा पनि नाफामुखी व्यवसाय वा पेशाको रुपमा अंगाल्दै आएकोले हो भन्ने प्रष्ट आधारहरु देखिन्छन् ।जव सम्म राजनितीलाई कमाई खाने पेशा वा व्यवसायबाट शुद्ध समाजसेवाको रुपमा नेताहरुले व्यवहारमा आत्मसाथ गर्दैनन् तव सम्म जतिसुकै ठुलो राजनैतिक परिवर्तन भएपनि हुनेवाला केही छैन ।

यो कुरा साँचो हो की राजनैतिक पद संमालेको मान्छेले पनि जिवन निर्वाह गर्न आर्थिक आय आर्जन हुनु जरुरी छ तर देशको जिम्मेवार पदमा बसेका व्यक्तीहरुलाई उपलब्ध गराईने तलव, भत्ता , पारिश्रमिक, सेवा-सुविधा अन्तर्गत रहेर जिम्मेवार भएर कानुनी मर्यादामा रहेर काम गर्नु पर्छ भन्ने सबैको मान्यता र अनुरोध हो । पदिय हैसियतलाई दुरुपयोग गरेर आय-आर्जन गर्ने काममा लाग्नु , पदिय अनुशासन भंग गर्नु , आर्थिक -नैतिक भ्रष्ट्रचार गर्नु हुँदैन यसले देशलाई अधोगति तर्फ धकेलिरहेको छ मात्र भन्न खोजीएको हो ।

राजनितीमा लाग्नेहरुले अनिवार्यरुपमा सहायक पेशा वा व्यवसाय अंगालेको हुनु जरुरी छ । यदी कुनै पनि राजनितीमा लागेको व्यक्तीसँग जिवन निर्वाहको लागी कुनै पेशा वा व्यवसाय छैन भने स्वाभाविकरुपमा उसले कुनै राजनैतिक लाभको पद पायो भने पदिय दुरुपयोग गरि आय-आर्जन गर्न खोज्ने संभावना बढी रहन्छ ।

त्यस्तै संसद लगायत स्थानिय तहमा निर्वाचन हुँदा प्रशस्त मात्रामा निर्वाचनको प्रचार-प्रसारमा गरिने खर्चले समेत पछि निर्वाचन जितेर पदमा आसिन भईसकेपछि पहिला चुनाव लड्ने समयमा गरिएको खर्च उठाउन समेत पदिय दुरुपयोग गर्ने प्रमुख कारक तत्व बन्न गएको देखिन्छ । यस्तो गतिविधिलाई रोक्नको लागी चुनावमा प्रतिस्पर्धा गर्दा गरिने खर्चको सिमा जुन तोकिएको हुन्छ यसलाई निर्वाचन आयोग लगायतका निकायहरुले कडाईका साथ नियन्त्रण र नियमन गर्नु पर्ने हुन्छ ।

” राजनिती गर्नु जोगी हुन होईन “भन्ने जुन भनाईहरु यदाकदा सुन्नमा आउँछ , वास्तवमा कोही पनि जोगी बन्न राजनितीमा लाग्दैन तर यदी नाफै कमाउने र छिटो छरितो व्यक्तिगतरुपमा आर्थिक समृद्धि गर्ने हो भने व्यापार- व्यवसायमा लाग्नु आवस्यक हुन्छ । हुन त नेपालमा प्रायः नेताहरु सत्तामा पुगे पछि जोगी त होईन अकुत सम्पतीका मालिक बनेका छन् , देश भित्र मात्रै नअटाएर विदेशमा समेत लगानी गर्ने , विदेशी बैकहरुमा जम्मा गर्ने र बुढ्यौली जिवन विदेशमै बिताउने समेत गरेको पाईन्छ ।

अकुत धनरासी भ्रष्टाचार गरेर जेल जिवन बिताएर फेरी राजनितीमा नै फर्केका र जनताले तिनै नेतालाई समर्थन गरेर हिडेको , जेलबाट निस्कदा फुलमाला , अविरले स्वागत गरेको दृश्यहरु समेत नौलो छैन । यसरी हेर्दा कता हो कता नेताहरुलाई भ्रष्ट बनाउन हामी जनताले नै उक्साई पो रहेका छैनौ भन्ने प्रश्नहरु पनि उठ्न सक्छ , हैन भने भ्रष्टाचार गरेर अकुत सम्पती कमाएको सार्वजनिकरुपमै थाहाँ हुदाँ हुँदै किन पटक-पटक चुनावमा निर्वाचित गरेर पठाउँछौ ।

किन प्रतिस्पर्धाबाट जागिर खानु भन्दा नेताको चाकरी गरेर जागिर खान लालयित हुन्छौ । किन व्यक्तिगत अपेक्षाहरु र मागहरु पुरा गर्न मन्त्री , सांसदको डेरा चाहर्छौ , किन लेबीको नाममा राजनैतिक पार्टीहरुले मन्त्री, सांसदहरुसँग चर्को रकम माग गर्छौ । सत्तामा हुदाँ किन दरवार स्वरुपका पार्टी मुख्यालयहरु बनाउने काममा लाग्छौ । किन राज्यका जिम्मेवार निकाय, विदेशी कुटनितिक क्षेत्रमा राजनैतिक भागबण्डाबाट नियुक्ती गर्न रडाको मच्चाउँछौ । यी सबै खाले काम वास्तवमा नेताहरुलाई भ्रष्ट हुन अभिप्रेरित गर्ने पृष्ठपोषण(Feedback) को काम हो ।

यसैले यदी नेता भएर जनताको सेवा गर्ने हो भने काठमाण्डौ र विदेशमा महंगो महल ठड्याउने सपना हैन जनताको झुपडी सजाउने सपना देख्नु पर्दछ । राजनितीलाई व्यापार, व्यवसाय वा पेशा हैन सामाजिक सेवाको रुपमा हेरिनु पर्छ र परिभाषित गरिनु पर्छ अनि सोही किसिमको व्यवहार लागु गरेर जनतालाई देखाउनु पर्छ । तव मात्र राजनितीले देश निर्माण र विकास हुन सक्छ अन्यथा यो क्षेत्र अहिलेकै अवस्थामै रहेमा जतिसुकै राम्रो संविधान र कानुन बने पनि जस्तोसुकै राजनितिक परिवर्तन भएपनि हुनेवाला केही छैन ।

साँच्चिकै देशमा विकासको गतिलाई द्रुतरुपमा अगाडी बढाउने हो भने राजनैतिक नेताहरुले राजनितीलाई समाजसेवाको रुपमा काम गर्ने र जसले भ्रष्टाचार गर्दछ त्यसलाई हदै सम्मको कानुनी कार्वाही गर्ने व्यवस्था हुनु पर्दछ । यदी सरकारी वा सार्वजनिक संस्थाका कर्मचारी र कुटनितिक नियोगमा काम गर्ने व्यक्ती भए सधैको लागी सरकारी वा सार्वजनिक सेवामा कार्य गर्न वंचित गर्दै जेल सजाय र आर्थिक दण्ड-सजाय गर्ने , सांसद , मंत्रीहरु वा अन्य राजनैतिक पदहरुमा कार्यरतले भ्रष्टाचार गरेमा जेल सजाय ,आर्थिक दण्ड-सजाय एवं पुन राजनितिक पदमा चुनिन पाउने अवसरबाट सधैका लागी बन्देज गर्ने कानुनी व्यवस्था हुनु पर्दछ ।

यसो हुनसकेमा कर्मचारीहरु तथा राजनितीक नेताहरुको आचरण र व्यवहारमा सुधार आउन सक्ने र कुनै पनि व्यक्ती राजनितीलाई व्यवसाय वा पेशाको रुपमा अंगिकार गरि उक्त क्षेत्रमा पाईला नराख्ने केवल यसलाई सामाजिक सेवाको रुपमा आत्मसाथ गरेर मात्र यो क्षेत्रमा पाईला राख्ने वा क्रियासिल रहने अवस्था बन्न सक्दछ ।