काठमाडौँ/ नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री सुशील कोईरलाको निधन भएको छ। लामो समयदेखि जिब्रोको क्यान्सरबाट पीडित कोइरालाको गएराति १२ बजेर ५० मिनेटमा महाराजगञ्जस्थित आफ्नै निवासमा निधन भएको हो।
दमसम्बन्धि क्रनिक अब्सट्रक्टिव पल्मुनरी डिजिज -सीओपीडी) समस्याले एक्कासी च्यापेपछि अस्पताल लैजान नपाई कोइरालाको निधन भएको हो ।निधनको खबरपछि राति नै काठमाडौंमा उपलब्ध नेताहरु कोइराला निवास महाराजगञ्ज पुगेका थिए ।
यसैबीच कांग्रेसले महाधिवेशनको पूर्वसन्ध्यामा जारी निर्वाचन प्रक्रिया स्थगन गर्ने निर्णय गरेको महामन्त्री प्रकाशमान सिंहले जानकारी दिए । उनका अनुसार मंगलबार बिहान १० बजे बस्ने आकस्मिक केन्द्रीय समिति बैठकले महाधिवेशनसम्बन्धि औपचारिक निर्णय गर्नेछ । अधिकांश नेताहरु महाधिवेशनका लागि काठमाडौं बाहिर छन् ।
यसअघि सोमबार नेपाली कांग्रेस काठमाडौ जिल्ला समितिको अधिवशेनको उद्घाटन गर्न प्रमुख कार्यक्रममा विरामी भएकाले कोइराला उपस्थित भएका थिएनन्।
सन् १९३८ फेब्रुअरी ३ तारिखमा पिता बोधप्रसाद र माता कुमुदिनीका जेठा छोरा सुशीलको जन्म विराटनगरमा भएको हो । उनका ६ भाइ र एक बहिनी थिए । अविवाहित सुशील वन अधिकृत बाबुसँगै नेपालगन्ज पुगे । त्यसपछि कोइरालाको स्थायी बसोबास उतै भयो ।
दोस्रो संविधानसभामा ठूलो पार्टी भएपछि कोइराला २०७० माघ २७ गते प्रधानमन्त्री निर्वाचित भएका थिए । १२ औं महाधिवेशनमा सभापति चुनिएका कोइरालालाई ठूलो जस चाँही संविधान निर्माणको जान्छ । जुन, गिरिजाप्रसाद कोइरालाको जीवनको उत्तरार्धमा सुरु भएर थाति रहेको काम थियो ।
२०१० सालदेखि नै राजनीतिमा सक्रिय कोइराला २०३६ सालमा कांग्रेस केन्द्रीय सदस्य भएका थिए । ०४२ सालको सत्याग्रहदेखि ०४६ र ०६२/६३ को आन्दोलनमा कोइरालाले सक्रिय सहभागिता जनाएका थिए ।
कोइराला पार्टी केन्द्रीय सदस्य, महामन्त्री, उपसभापति, कार्यवाहक सभापति हुँदै पार्टीको सर्वोच्च पद सभापति भएका थिए ।