सन्देश श्रेष्ठ
पोखरा / विप्लव नेतृत्वको नेकपा माओवादीले युद्धकालिन जनसरकारको झल्को दिनेगरी जनपरिषद घोषणालाई निरन्तरता दिएको छ । द्वन्द्वकालिन समयमा माओवादीले समानान्तर सरकारका रुपमा चलाएको जनसरकारकै झल्को दिनेगरी विप्लव माओवादीले जनपरिषद घोषणा गरेको हो ।
जनपरिषद घोषणाको निरन्तरतास्वरुप माओवादीले तमुवान स्वायत्त जनपरिषद घोषणा गरेको छ । माओवादीका स्थायी समिति सदस्य धर्मेन्द्र बास्तोलाको प्रमुख आतिथ्यता तथा केन्द्रीय जनपरिषद नेपालका प्रमुख सन्तोष बुढामगरको उपस्थितिमा किसनसिं गुरुङको नेतृत्वमा २१ सदस्यीय स्वायत्त प्रादेशिक जनपरिषद घोषणा गरेको हो ।
परिषदको उपप्रमुखमा माया चेपाङ सर्वसम्मत चयन भएको विहीबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा वितरण गरिएको विज्ञप्तीमा उल्लेख छ । परिषदमा रहेका अन्यको नाम भने सार्वजनिक गरिएको छैन ।
तमुवान परिषद विहीबार सार्वजनिक गर्दै माओवादी स्थायी समिति सदस्य बास्तोलाले संसदीय प्रणाली असफल भएकाले जनपरिषद घोषणा गर्नुपरेको बताए । उनले भने, ‘संसदीय प्रणाली नेपालमा असफल भइसक्यो, अब संसदीय व्यवस्था फालेर जनवादी सत्ता स्थापना गर्नेतर्फ जान जरुरी छ, यसैको तयारीस्वरुप जनपरिषद घोषणा गरेका हौं ।’
उनले राष्ट्रिय एकताका लागि पहिचानसहितको स्वायत्त प्रदेश निर्माण गर्नुपर्ने धारणा राख्दै भने, ‘ईतिहासमा जातजातीले राज्य गरेको तर कालान्तरमा एकीकरण भएपछि तिनैलाई दमन गरेर राख्दा राष्ट्रिय एकता हुन सकेन, अब राष्ट्रिय एकताका लागि जात, वर्ग र क्षेत्रलाई समेटेर प्रदेश निर्माण गर्नुपर्छ ।’ उनले पहिचानको कुरा गर्दा संसदवादीले जातीय पक्षधर भनेर सबै जातलाई कहाँ राज्य दिन सकिन्छ र ? भनेर बठ्याईं गरेको भन्दै यसैले अहिलेको समस्या निम्त्याएको बताए ।
बास्तोलाले बृहत शान्ति सम्झौताभन्दा पछि हटेर ल्याइएको संविधानले देशको समस्या समाधान गर्न नसक्ने बताए । उनले जनताले अस्वीकार गरेको संविधानको औचित्य नभएको पनि जिकिर गरे ।
उनले भारतको चाकरी र दलाली गरिरहेका संसदवादी दलले भारतको आशिर्वाद पाउन आन्तरिक प्रतिस्पर्धा गर्नेगरेको आरोप लगाए । उनले संसदवादी सिस्टमले काम गर्ने भएकाले केपी ओलीको ठाउँमा रामचन्द्र, प्रचण्ड वा जोसुकै व्यक्ति आएपनि देशमा देखिएको समस्या समाधान नहुने ठोकुवा गरे । देशको समस्या समाधान गर्न प्रणाली नै परिवर्तन गर्नुपर्ने उनको भनाई थियो ।
‘भारतको नाकाबन्दी स्वाभाविक’
स्थायी समिति सदस्य बास्तोलाले भारतले नेपालमाथी अहिलेमात्र नभई सँधै नाकाबन्दी लगाइरहेको धारणा राखे । स्वतन्त्र रुपमा नेपालले पाउनुपर्ने पारवहन सुविधा भारतले कहिल्यै पनि नदिएको बताउँदै उनले पुँजीवाद भित्र यो हुनु स्वाभाविक भएको तर्क गरे ।
अमेरीकाले रुस, कोरिया, ईरान, ईराकलगायतका देशमा यसैगरी नाकाबन्दी लगाउँदै आएको भन्दै उनले भारतले पनि अमेरीकाकै सिको गरेर नेपालमाथी नाकाबन्दी लगाइरहेको बताए ।