कसरी अन्त्य होला एनआरएनएको बिबाद ?


वसन्त रानाभाट
पुर्ब प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड” र पुर्ब सेनापति रुक्माङ्गत कटुवाल शान्ति प्रकिया पछि यो दुई नाम नेपाली जनताहरुले बारम्बार सुने। नाम मात्र सुनेनन् ताकि दुबैको बिषयमा लामो समय सम्म दैनिक अखबारहरु पनि रंगिए। त्यति मात्र हैन, बिचार बिश्लेषण फरक – फरक ढंगबाट आउँन थाले। एउटाको पृष्ठभुमि शसस्त्र युद्दका सुप्रिम कमान्डर र अर्का राजदरबारको काखमा खाई खेली हुर्केका नेपाली सेनाका सेनापति आँफैमा फरक धार भएकोले पनि टकराब लामो समय सम्म नै चल्यो।

नेपाली जनतालाई प्रष्ट रुपमा अझै पनि थाहा छ त्यति बेलाको सेनापति प्रकरण। संबिधान सभाको पहिलो निर्बाचनबाट तत्कालिन नेकपा माओबादी ठुलो दल बने पछि प्रधानमन्त्रीको रुपमा प्रचण्ड पुगेका थिए। तर केहि महिना मात्र अवकाश लिन बाँकी रहेका प्रधानसेनापतिलाई हटाउँन प्रचण्डले कदम चाले। यसका राजनीतिक कारणहरु आफ्नै ठाउँमा छन् ,त्यसको चर्चा बिश्लेषणमा जान आजको आलेखमा यो प्ङ्गीकारलाई उपयुक्त लागेन।

सेनाका परमाधिपति राष्ट्रपति डा. रामबरण यादबले त्यसलाई रोके। त्यस पछि त झन् सेनापति प्रकरणले ठुलै रुप लियो। अन्तत: प्रचण्डले प्रधानमन्त्री पदबाट राजिनामा दिए। दलहरु बीच तिक्तता बढ्दै गयो मुलुकले ठुलो घाटा व्यहोर्यो। दलहरु बीच दुरी बढ्दै जाँदा संबिधान निर्माण प्रकियामा ठुलो असर पर्यो।

गैर आबासीय नेपाली संघ (एनआरएनए ) बिबादको बिषय केहि कुराहरु कोर्न मन लाग्दा माथिको घटनालाई सम्झना मात्र गरिएको हो। एनआरएन र माथिको प्रकरणको बिषयबस्तु भने फरक-फरक छ।तर पनि देशको शक्तिशाली ओहदामा बसेका ब्यक्तिहरु बीच टकरापले कति सम्म ठुलो रुप लिन सक्छ ? भन्ने कुरालाई भने राम्रो सँग सिक्न सकिन्छ। केहि बर्ष अघिको यो उदाहरण हामी माँझ प्रष्ट छ। यो बारेमा देश बासी नेपालीहरुलाई र प्रबासमा रहेका गैर आबासीयहरु पूर्ण रुपमा पनि जानकार पनि छन्। हुनत यस प्रकरण बारे अझै पनि फरक – फरक मत वा प्रतिक्रिया होलान् तर यो टकरापको कारण मुलुकले ठुलो क्षति ब्यहोरेको छ भन्नुमा कसैको दुई मत छ भन्ने चाहिँ लाग्दैन।

माथिको प्रकरण जोडी रहँदा यो पनि बुझ्न जरूरी छ कि, एउटा डोरीलाई कति सम्म तन्काउँने ? बल लगाएर दुवै तिरबाट तन्काउँदै तन्काउँदै जाँदा,डोरी एक दिन त अबश्य छुटीएला । यसरी डोरी छुटिदा दुवै तिर समातेर बसेका मध्ये कोही त अबश्य लड्छन् । वा दुवै जना पनि लड्न सक्लान् ।

वा डोरी तान्न साहारा दिएका अन्य धेरै पनि लड्न सक्लान्। अहिलेको एनआरएन बिबाद यसरी नै जोडदार रुपमा तन्किरहेको छ। कसले कुन टुप्पो तिर समातेर तानिरहेको छ त्यो पनि सामाजिक संजालले छर्लङ्ग पारिदिएको छ। यहाँ डोरी छुटिएला धेरै नतन्काउँ है भन्नेहरुको भन्दा डोरी मजाले आँफुतिर तानेर वा छोडेर लडाउँने खेलमा धेरै लागेको देखिएको छ। तर यसो भनी रहँदा मौन ब्रत बस्नेहरुको पनि कमी देखिदैन।

एनआरएनको बलियो डोरीलाई अहिले दुई तिर बसेर खिच्न लाग्ने र पछि फेरि डोरियो चुडियो,एनआरएन हामी कमजोर भयौ भनेर बिस्मात गर्नुको पनि कुनै तुक हुने छैन। यस्तो अप्रिय: हुन नदिन पनि डोरीको खिचातानीबाट सबै जना बाहिर आउँन सक्नु पर्छ। हिजो प्रचण्ड र कटुवालको लडाई किन लम्बियो ? अन्तत: किन कोहि पछाडी हट्नै पर्यो। कारण एउटै छ। जव लामो समय सम्म टकराव चलीरहन्छ,अन्त्यमा जसले पनि आफ्नै पक्षमा निर्णय चाहन्छ ,ताकि जित मेरै हो,सत्य म नै थिए भनेर प्रमाणित गर्न चाहन्छ। तर यसलाई बेलैमा सल्टाउन कोशिस गरियो भने,सबै मिलेर अगाडी बढ्न नसक्ने पनि होईन। तसर्थ गैर आबासीय नेपाली संघ (एनआरएनए) बिबाद जतिसक्दो छिटो सल्टाउन जरुरत छ।

भूकम्पले क्षतविक्षत भएर मुलुक संकटमा ग्रुजेको बेला,एक हजार घर बनाईदिने सपना पिडितलाई बाँडिरहेका बेला,भारतीय नाकाबन्धीले मुलुकमा अत्याबश्यक बस्तुहरुको अभाव बढेको बेला,खाना बनाउँन ग्यास चुल्हो निभेको बेला,संघको आफ्नै भबन बनाउँनु पर्ने चुनौती थपिएको बेला,खाडीमा काम गर्ने दाजुभाईहरुकोलाई कल्याणकारी कोष स्थापना गरी थोरै धेरै रकम सहयोग गर्नु पर्ने बेला,कुबेत,लेबनान,अफ्रिका लगायतका क्षेत्रमा दिदिबहिनीहरु अलपत्र परेको बेला, यी र यस्तै समस्याले झेलिरहेको यो गंभिर मोडमा, म बिनम्रता पुर्बक निबेदन गर्न चाहन्छु, यहाँ कसैले जितेर खुशी हुनु पनि छैन कसैले हार्यो भनेर बिस्मात गर्ने बेला पनि छैन। आखिर बिधान आँफैमा प्रष्ट नहुँदा बल्झिएको समस्यालाई आपसमा मिलेर समाधान गर्नुको बिकल्प छैन।

बिबादको मुख्य कारण बिधानमा प्रष्टता नहुनु

अन्तराष्ट्रिय समन्वय परिषद् सदस्य मनोनयन सम्बन्धी नियमावली २०१३ को नियम ३.४ मा उल्लेख भए बमोजिम राष्ट्रिय अधिवेशनको निर्वाचनमा पराजित, अन्तराष्ट्रिय समन्वय परिषद्को सदस्य वा पदाधिकारी पदमा पराजित ब्यक्तिलाई सोही पदमा सोही कार्यकालका लागि मनोनित गर्न मिल्दैन भनिएको छ । यसलाई आधार मान्ने हो भने, सोही पदमा मनोनित गर्न नपाइने भन्नाले,अर्को कुनै पदमा मनोनयन गर्न कुनै बाधा छैन भन्ने पनि बुझिन्छ। यो व्याख्याले अध्यक्ष शेष घलेको कदमलाई बैधानिकता दिन्छ।

तर फेरि अर्को तर्फ सदस्य बाहेक सबै पदमा निर्वाचन हुने भनी विधानमा लेखिए पछि, सोही पदमा मनोनयन गर्न पाइदैन भने पछि बिधानले आँफैमा बिबाद उत्पन्न गराएको छ। अध्यक्ष लगायत उपाध्यक्ष महासचिव,सचिव कोषाध्यक्ष पदमा मनोनित गर्न मिल्दैन बाँकी सदस्य र प्रवक्ता रह्यो। भने पछि पराजित ब्यक्तिलाई सोहि पदमा मनोनयन गर्ने भन्नाले कुन पदमा मनोनित गर्ने ? त्यसैले बिधानले नै अहिलेको बिबाद सृजना गराएको हो। बिबाद समाधान गर्नेको हो दुवै तर्फबाट बुझ्न जरुरी छ।

बाँकी छुटेकालाई पनि समेटेर बिबादको अन्त्य गर्नु

हारेका ब्यक्तिहरुलाई मनोनय भयो र मनोनयन प्रकिया नै गल्ती छ भनेर एनआरएनमा बिबाद देखिएको भए पनि अझ भित्री रुपमा बुझ्दा,आँफुलाई निर्बाचनमा जिताउँने वा सहयोग गर्ने मान्छेहरु मनोनयनमा नपर्नु पनि बिबादको अर्को कारण हुनसक्ला ।यसलाई स्वभाबिक रुपमा पनि लिन सक्नु पर्छ। तसर्थ: मनोनित भएकाहरुलाई ब्याक नगराई,छुटेकालाई मिलाएर जानु उत्तम बिकल्प जस्तो लाग्छ। तर यसो भनीरहँदा धेरैले बिधान र सँस्थागत मर्यादाको रुपमा प्रश्न उठाउँनु होला। यो बिधि र बिधानको लडाई हो भन्ने पनि आबाज उठ्ला। प्रथमत:माथि उल्लेखित बिधानले नै मनोनयन सम्बन्धी नियमाबली आँफैमा अस्पष्ट पार्नाले आजको यो अबस्था आएको हो।

अहिलेको बिबादलाई बिधान ब्याख्या समितिमा अध्यक्ष कुलचन्द्र न्यौपानेलाई दिनुपर्ने आवाज पुर्ब अध्यक्ष जीवा लामिछानेको रोड म्याप पनि मिडियामा सार्बजनिक भयो। तर मलाई यस्तो लाग्दछ। बिधानको व्याख्या गर्दै यहाँ यो गलत छ वा यो सही छ भनेर निर्णय सुनाउँनु मात्र अहिलेको समाधान होईन। बिधानमा उल्लेखित एउटा बाक्य जसले फरक – फरक अर्थ लाग्छ भने त्यसलाई नै अन्तिम मानेर, अर्को ठुलो बिबाद सृजना गर्नु मात्र अहिलेको समाधान होईन।

हामी यही मुलुकका नागरिक हौ,मुलुकको सर्बोच्च अदालतका बहालवला प्रधानन्यायधिसलाई,मन्त्री परिषदको अध्यक्ष बनाएर दोस्रो संबिधान सभाको निर्बाचन गराएर नयाँ संबिधान पाएका छौ। यही कुरालाई बिधि बिधानको व्याख्या खोज्दै अन्तरिम संबिधानमा खोतल्न पुग्यौ भने सायद मुलुकले नयाँ संबिधान पाउँने थिएन होला।

आगामी नेतृत्वको प्रष्ट संकेत

यही बिबादको बिषयलाई लिएर कतिपयले आगामी नेतृत्वको लागि अहिले नै रस्साकस्सी चलिसकेको भन्दै आकलन गर्न पनि थालेका छन्। मुख्यत: दुई उपाध्यक्ष भवन भट्ट र कुमार पन्तले मिडियामा दिएको अभिव्यक्तिलाई आधार मानेर गैर आबासीयहरुले यस्तो आकलन गरेका हुन्। भट्टले एक अन्तरबार्तामा भनेका छन्, “असन्तुष्टि आउने कुरा जहाँ पनि भई नै रहन्छ । यो त्यति ठूलो विवाद होइन मेरो विवेकले देखेसम्म आइसिसीले गरेका निर्णयहरू विधानसम्मत नै छन् । संगठन पूर्ण रूपमा स्वयंसेवी हो। यहाँ जित्नु–हार्नुभन्दा पनि क–कसको कत्तिको योगदान छ भन्ने कुरा ठूलो हुन्छ ।

विविध कारणले निर्वाचित हुन नसकेका तर काम गर्न इच्छा भएका साथीहरूको योगदान र उहाँहरूको क्षमतालाई हामीले मूल्यांकन गर्दै जानुपर्छ । यसलाई सम्बोधन पनि गर्दै अवसर दिनुुपर्छ । केही कुरामा साथीहरूलाई असन्तुष्टि भएको पनि हुन सक्छ । ” हाम्रो आइसिसी सर्बोच्च निकाय हो । साथीहरू यसमा आएर आफ्नो कुरा राख्छन् । त्यसबाट निर्णय भएर अगाडि बढिसकेको प्रक्रियाबाट फेरि फर्कनु भनेको संस्थाको उचाइ तथा सम्मानको कुरा पनि आउँछ । फिर्ता गर्ने कुरा गर्दै जाने हो भने कहिलेसम्मका कुरालाई फिर्ता गर्ने भन्ने कुरा आउँछ । मिलाउने हकमा आमनेसामने बसेर मिलाउन सकिन्छ । यसका लागि साथीहरू सबै सकारात्मक छन् ।”

उपाध्यक्ष भट्टले मिडियामा बताईरहेका बिचारहरु राखी रहँदा अर्का उपाध्यक्ष पन्तले दिएको अभिव्यक्तिलाई पनि यहाँ साभार गर्न चाहे,‘विधि, पद्धति र संस्थाभन्दामाथि व्यक्ति हुन सक्दैन भन्ने हाम्रो मूल मान्यता हो। अग्रज नेतृत्वले बसालेको यो मान्यता र संस्कारलाई सके थप उन्नत बनाएर भावी पुस्तालाई हस्तान्तरण गरौँ, नसके योभन्दा पछाडि नफर्कौ’, बहुमत र अल्पमत भनेर वहस गर्न गरी राखेको छैन। तरपनि महाधिवेशनबाट निर्वा्चित २४ मध्ये १६ जनाले नियुक्ति लगायत अध्यक्षले लिनुभएको निर्णयमा असहमति जनाएको अवस्थाले हाम्रो संस्थाभित्र समस्या भएको पुष्टि गर्छ।’

अत: एनआरएन भित्रको बिबाद समयमा नै समाधान गर्नु पर्ने देखिन्छ। कतिपय गैर आबासीयहरुले उपाध्यक्ष द्वय भट्ट र पन्तको अहिलेको कदमलाई आगामी नेतृत्वलाई लिएर पनि जोडिसकेका छन्।

कटुवाल,प्रचण्ड बिबादबाट पाठ सिकौ

आलेखको प्रसंग प्रचण्ड, कटुवालको बिबादलाई स्मरण गर्दै सुरु गरे र अन्त्यमा फेरि त्यही कुरा दोर्हाउँन मन लाग्यो। बिबाद लम्बाउदै जाँदा झन् जटिल बन्ने छ। त्यसैले बीचको बाटो समयमा नै निकाल्न जरुरी छ। १२ बर्षको मेहनतमा बनेको एनआरएनको बलियो डोरीलाई मिडियामा प्रचारबाजी गर्दै बिबादलाई झन् तन्काउँदा, सँस्था नै कमजोर बन्दै गएको देखिन्छ।

त्यो मात्र हैन गैर आबासीय नेपालीहरु बिश्वास पनि कमजोर बनाउँने छ। हरेकलाई काम गर्ने आँट,बिश्वास र जोश एउटै समयमा आउँन नसक्ला। तर जसले समय दिएर नेपालीहरुको हितमा काम गर्ने संकल्प बोक्नु भएको छ ,मिलेर जानुको बिकल्प छैन। यहाँ कसैले जितेर खुशी हुनु पनि छैन, कसैले हार्यो भनेर दुखी बन्नु पनि छैन। हामी बीच एकताको भाव रह्यो भने, यसैमा धेरैको खुशी छ।

तपाईको प्रतिक्रिया