दुर्व्यसनी सडक बालबालिका, पुनर्स्थापनाका लागि प्रबासबाट सहयोग


स्पेन/ “अपराध रोकथामका लागि दुर्व्यसनी सडक बालबालिका पुनर्स्थापना तथा सामाजिकीकरण कार्यक्रम, चितवन जिल्लाको सुरक्षा सबल बनाउने प्रमुख लक्ष्य बोकेको प्रहरी नागरिक साझेदारी अवधारणामा आधारित “बालबालिकाहरुका लागि प्रहरी नागरिक अभियान”को लागि प्रबासमा रहेका नेपालीहरुले पनि सहयोग गरेका छन्।

दुर्व्यसनमा लागेका कारण कानुनको द्वन्द्वमा परेका, बयस्कद्वारा अपराधमा संलग्न गराईएका र अपराधको शिकार हुन वाध्य पीडित सडक बालबालिकालाई प्रहरी र नागरिकको सहकार्यमा सर्वप्रथम दुर्व्यसनबाट मुक्त गर्ने, त्यसपश्चात पारिवारिक पुनर्मिलन तथा संरक्षकत्व प्रदान गर्नुका साथै शिक्षा तथा सीप प्रदान गर्ने र अन्तमा रोजगारको अवसर जुटाई भविष्यमा असल नागरिक निर्माण गर्ने कार्यमा प्रबासमा रहेका नेपालीहरुले पनि सहयोग गरेका हुन्।

गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद चेक गणतन्त्रबाट २ लाख रुपैयाँ,अन्तराष्ट्रिय समन्वय परिषद सदस्य राजेन्द्र कुमार शर्माले कतारबाट १ लाख रुपैयाँ, गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद जापानका सदस्य डिलाराम सापकोटाले ११ हजार पाँच सय रुपैयाँ ,अन्तराष्ट्रिय समन्वय परिषद जापानका पुर्ब सदस्य अरुण श्रेष्ठले ३५ जना बालबालिकाहरुको लागि स्विटर सहयोग गरेको अभियानका सदस्य तथा अन्तराष्ट्रिय क्षेत्र संयोजक सोमनाथ सापकोटाले जानकारी दिए।

उनले नेपालीनेपाली डटकम सँग कुराकानी गर्दै भने,”बालबालिकाहरु भविष्य सुनिश्चितको लागि धेरै गैर आबासीय नेपालीहरुको मन छोएको छ,पहिले पनि प्रबासवाट सहयोग भएको थियो,हालै चितवनमा सम्पन्न कार्यक्रममा पनि प्राप्त भएको सहयोगलाई हस्तान्तरण गरिएको हो।”सापकोटाका अनुसार गत पौष ४ गते चितवनमा  सम्पन्न बृहत साँस्कृतिक कार्यक्रममा पनि बिभिन्न संघ सस्था,लाईन्स क्लब रोटरी क्लब, उद्योग बाणिज्य संघ,बिभिन्न उद्योगीहरुबाट करिब २५ लाख भन्दा रकम संकलन भएको छ।

बालबालिकाहरुका लागि प्रहरी नागरिक अभियानका मूख्य कार्यक्रम संयोजक प्रहरी बरिष्ठ उपरीक्षक रमेशप्रसाद खरेल रहेका छन्।

किन सुरु भयो यो अभियान ?

“अपराध रोकथामका लागि दुर्व्यसनी सडक बालबालिका पुनर्स्थापना तथा सामाजिकीकरण कार्यक्रम-२०७२” चितवन जिल्लाको सुरक्षा सबल बनाउने प्रमुख लक्ष्य बोकेको प्रहरी नागरिक साझेदारी अवधारणामा आधारित बालबालिकाहरुका लागि प्रहरी नागरिक अभियान अन्तर्गतको एउटा कार्यक्रम हो ।

यस कार्यक्रमले दुर्व्यसनमा लागेका कारण कानुनको द्वन्द्वमा परेका, बयस्कद्वारा अपराधमा संलग्न गराईएका र अपराधको शिकार हुन वाध्य पीडित सडक बालबालिकालाई प्रहरी र नागरिकको सहकार्यमा सर्वप्रथम दुर्व्यसनबाट मुक्त गर्ने, त्यसपश्चात पारिवारिक पुनर्मिलन तथा संरक्षकत्व प्रदान गर्नुका साथै शिक्षा तथा सीप प्रदान गर्ने र अन्तमा रोजगारको अवसर जुटाई भविष्यमा असल नागरिक निर्माण गर्ने कार्यहरुलाई मूलत समेटदछ ।

सडकको जोखिमको अवस्था, दुर्व्यसनको जोखिमको अवस्था, अभिभावकत्व नपाएको जोखिमको अवस्था, कलिलो उमेरको अपरिपक्व बौद्धिक, शारीरिक एवं मानसिक जोखिमको अवस्थामा गुज्रिएका सडक बालबालिकाहरुको सबै जोखिमका अवस्थाहरु एक आपसमा थपिन जाँदा मानव समुदायमध्येकै उच्च जोखिममा रहेका छन ।

ती उच्च जोखिमको अवस्थामा रहेका प्यारा नाबालक भाईबहिनीहरुलाई सडकबाट उद्दार गर्नुकासाथै फेरी कुनै पनि कारणले सडककै परिबेसमा फर्कनु नपरोस, अनि दुर्व्यसनको शिकारभै अपराधको भूमरीमा पर्नु नपरोस भन्ने दिगो सोचनै यो कार्यक्रमको एउटा सुन्दर पक्ष हो ।

एक अध्ययन अनुसार १५० संख्याको हाराहारीमा चितवन जिल्लामा सडक बालबालिका रहेको देखिन आएकोले हालसम्म यस कार्यक्रम अन्तर्गत ३५ जना दुर्व्यसनमा लागेका सडक बालबालिकालाई उद्दार गरी चितवन जिल्लामा रहेका ७ र नबलपरासीको गैडाकोटमा रहेको १ गरी ८ वटा दुर्व्यसन सुधार केन्द्रहरुमा राखी उपचार शुरु गरिएको छ । यस प्रारम्भिक योजना अन्तर्गत कम्तिमा ५० जना दुर्व्यसनमा लागेका सडकबालबालिकालाई उद्दार गर्ने कार्यक्रम रहेको छ ।

चितवन जिल्लामा स्थापित सामाजिक तथा उद्योग व्यवसायको क्षेत्रमा अनुकरणीय योगदान पुर्याउनु हुने ब्यक्तित्वहरुबाट कोषको पारदर्शी एवं प्रभावकारी परिचालन हुने व्यवस्था मिलाई यस कार्यक्रम संचालनका लागि आवश्यक पर्ने स्रोत साधनको व्यवस्थापन बालबालिकाको क्षेत्रमा सरोकार राख्ने सरकारी तथा गैरसरकारी निकाय तथा संघसंस्थाले प्रदान गर्ने सहयोग र विशेष गरी यस कार्यक्रमका पदाधिकारी, संस्थापक सदस्य, साधारण सदस्यबाट संकलन गरिने शुल्क तथा सहयोग र ईच्छुक दाताहरुको सहयोगबाटै गर्ने लक्ष राखिएको छ ।