लन्डन । भारतीय नाकाबन्दी बिरुद्धमा बिभिन्न देशहरुमा गैर आवासीयहरु बिरोधमा उत्रीरहेका बेला,मौन बनेको गैरआवासीय नेपाली सँघ यूकेले अन्तत लन्डनमा प्रर्दशन गर्ने भएको छ ।
गैर आबासीयहरुको केन्द्र बिन्दु मानिने बेलायतमा ढिलै गरि भए पनि प्रर्दशन गर्ने तयारी गरेको छ। अन्य बेला सामान्य घटना परिघटना हुँदा पनि बेलायतमा चर्चा हुने भए पनि छिमेकी मुलुकले अघोषित रुपमा नाकाबन्धी गर्दा पनि बेलायतका गैर आबासीयहरु अहिले सम्म मौन नै थिए।
गैरआवासीय नेपाली सँघ यूकेका प्रबक्ता खुशी लिम्बुका अनुसार आगामी बुधवार लन्डनस्थित भारतीय दूतावास अगाडि प्रर्दशनका लागि तयारी गरिएको छ । बिहान १० बजे पछि भारतीय दूतावासमा जम्मा हुन एनआरएन यूकेले बेलायतस्थित नेपाली समूदायलाई आग्रह गरेको छ ।
यस अघि कहाँ कहाँ भए प्रर्दशन ?
नेपालमा बनेको नयाँ संबिधान प्रति असन्तुष्टि जनाउँदै अघोषित नाकाबन्धीको हदसम्म पुगेको भारत सरकार बिरुद्द संसारभरबाट एनआरएनहरु बिरोधमा उत्रिएका छन् । नेपाली जनताहरुले आफ्नै हातले कोरेर जारी गरेको संविधानमा अन्तराष्ट्रिय जगतले नै खुलेर प्रशंसा गर्दै, स्वागत गरिरहेका बेला छिमेकी मुलुक भारत भने असन्तुष्टी बन्दै नाकाबन्दीको हद सम्म पुगे पछि एनआरएनहरुले आक्रोस पोख्न शुरु गरेका हुन्।
नेपाली संघ सस्थाहरुलाई समेटेर राष्ट्रिय समन्वय परिषदहरुको अगुवाईमा भारतीय दुताबास एबम कन्सुलर कार्यालयमा ज्ञापान पत्र बुझाउँदै बिरोध कार्यक्रम भएका हुन्। गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद स्पेन र जापानले, संघ सस्थाहरुको नेतृत्व गर्दै भारतीय दुताबासमा ज्ञापनपत्र बुझाईसकेका छन्।
यस्तै स्विजरल्याण्डमा एनआरएनको नेतृत्वमा बिरोध कार्यक्रम नभए पनि नेपाली जनसम्पर्क समिति स्बिजरल्याण्ड,प्रबासी नेपाली मञ्च,नेपाली ऎक्यबद्दता मञ्चले हस्ताक्षर सहित ज्ञापनपत्र बुझाई बिरोध सभा पनि गरे। शुक्रबार भारत सरकार बिरुद्द बेल्जियमबासी नेपालीहरुले बिरोध गरेका छन्। युरोपको राजधानी ब्रसेल्समा स्थित भारतिय दुतावासमा कार्यलयमा पुगी बिरोध गरेका हुन्।
गैर आबासीय नेपाली संघ अष्ट्रेलियाले पनि भारतीय नाकाबन्धीको खुलेर बिरोध गरेको छ। अध्यक्ष सुरेन्द्र सिग्देल द्वारा जारी बिज्ञप्तिमा स्वतन्त्र र सार्बभौम मुलुक नेपालमा बाहिरी हस्तक्षेप नगर्न सचेत गराएको छ।
नाकाबन्दीको बिरोधमा अमेरिकाको न्यूयोर्कमा रहेका नेपालीहरुले राष्ट्रसंघीय मुख्यालय अगाडि बिरोध प्रदर्शन गरे। गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिका र प्रजातान्त्रिक युवा परिषदले राष्ट्रसंघ मुख्यालय अगाडि प्रदर्शन गरेका हुन् ।
नाकाबन्दी गरेकोमा अमेरिकाका एनआरएन ११ वटा स्टेट च्याप्टरले संयुक्त विज्ञप्ति जारी गर्दै नाकाबन्दीले भारतले आफ्नो असली अनुहार उदांगो पारेको भन्दै टिप्पणी गरेका थिए।
यति धेरै ठाउँहरुमा बिरोध भई रहँदा पनि गैर आबासीयहरुको केन्द्र बिन्दु मानिने बेलायतमा अहिले सम्म एनआरएन मार्फत बिरोधका कार्यक्रहरु हुन सकेका थिएनन्।
एनआरएन युकेले जारी गरेको सूचना
आदरणीय बेलायतवासी नेपाली दिदीबहिनी तथा दाजुभाइहरु
साथै बिभिन्न संघ संस्थाका प्रतिनिधि ज्यूहरु,
नमस्कार ।
बिषय : भारतीय नाकाबन्दी बिरुद्दको बिरोध कार्यक्रम ।
उपरोक्त बिषयमा गैर आवासीय नेपाली संघ यूकेको हालै सम्पन्न बैठकले निर्णय गरे बमोजिम नेपालका बिभिन्न नाकाहरुमा छिमेकी देश भारतले लगाएको नाकाबन्दी बिरुद्धमा बिरोध सभा निम्न मिती, समय र स्थानमा आयोजना गरेको हुँदा यहाँहरु सबैलाई उपस्थितिको लागि हार्दिक आब्ह्वान गर्दछौं ।
मिति : बुधवार , 7 अक्टोबर 2015
स्थान : हाइ कमिसन अफ इन्डिया, ईन्डिया हाउस, अल्डविच, लण्डन, WC2 4NA
समय : बिहानको १०:१५ बजेबाट