प्रकाश ढकाल, कोपनहेगन
एशिया महादेशमा रहेका दुइ देश नेपाल र भारत छिमेकी देश मात्र नभई सयौं वर्षदेखिको सम्बन्ध र धेरै सांस्कृतिक समानताहरु समेत रहेको पाइन्छ । क्षत्रफलका हिसाबले भारत नेपाल भन्दा करिब बाइस गुणा बढी ठुलो छ । नेपाल भारत सम्बन्धको चर्चा गरिरहँदा यसको इतिहाँसलाइ केलाउनु पर्ने हुन्छ । किनकि नेपाल भारतको अहिलेको सम्बन्ध पनि धेरै हदसम्म इतिहाँसले निर्देशित गरेको छ ।
सन् १८०० ताका अहिलेको तात्कालिन भारत तात्कालिन ‘इस्ट इन्डिया कम्पनि’ थियो जहाँ भारतमा अंग्रेजहरु शाशन गर्दथे । त्यतिबेला अंग्रेजहरु आफनो साम्राज्य फैलाउन एशियाका धेरै देशहरुमाथि विजय प्राप्त गर्दै नेपाललाइ पनि आँखा लगाएका थिए । तर त्यसको प्रतिकारमा नेपाल र इस्ट इन्डिया कम्पनी बीच ठुलो युद्ध भयो जसलाई इतिहाँसमा ‘ अंग्रेज-नेपाल युद्ध’ भनेर चित्रित गरिएको पाइन्छ ।
नेपालका होनाहार सिपाहीहरु बलभद्र कुँवर, अमर सिंह थापा लगायतको नेतृत्वमा अंग्रेजहरु घुंडा टेक्न बाध्य भएका थिए । त्यतिबेलाको लडाईमा नेपालले भारतका दार्जिलिङ्ग, सिक्किम देखि कुमाउ, गडवाल सम्म विजय प्राप्त गरेका थिए । लडाई रोकिएको थिएन नेपालको विजय क्रम चल्दै थियो ठिक त्यसै बेला अंग्रेज र नेपालबीच ‘सुगौली सन्धि’ भयो जुन सन्धिले लामो युद्धको अन्त्य गरेको भनिए पनि नेपालले विजय प्राप्त गरेका सिक्किम दार्जिलिंग लगायत सबै राज्यहरु फिर्ता गर्नु पर्यो । त्यतिबेला नेपालमा राजा राजेन्द्र विक्रम शाह थिए ।
यो वास्तवमा एउटा असमान सन्धि थियो जसले नेपाललाइ थिचोमिचो गर्ने क्रमको एउटा शृंखला प्रारम्भ गर्यो र आज भन्दा ठिक दुइ सय वर्ष पहिला गरिएको त्यहि सन्धिलाइ बेला-बेलामा अर्को उपनाम दिएर पुनर्ताजगी गर्ने काम पनि भएको छ । पछिल्लो पटक भारत अंग्रेजबाट स्वतन्त्र भए पचात त्यस सन्धिलाई सन् १९५० मा ‘नेपाल भारत मैत्री सन्धि’ नाम दिइएको छ जसमा ‘शान्ति’ शब्द पनि कतै थपिएको छ जुन नाम मात्रको जस्तो देखिन्छ ।
त्यस सन्धि पछि नेपाल माथि भारतले हैकम जमाउन शुरु गरेको पाइन्छ । अहिले नेपाल व्यापारको लागि पुरे भारतसंग आश्रित छ । दुइ छिमेकी देशहरु व्यापारका साझेदार भए पनि व्यापारमा भारतले एकलौटी कब्जा जमाई रहेको छ भने नेपाली उत्पादन भारतमा लैजान धेरै कठिनाइ व्यहोर्नु पर्ने अवस्था छ । सुस्ता देखि कालापानी सम्म भारतले सिमा मिचेको छ ।
नेपाल बाट भारत बग्ने नदीहरुलाई सिमा क्षेत्रमा ठुलो बाँध बनाइ आँफुलाई चाहिने पानी मात्र लैजाने अनि बाँध वरिपरिका नेपालका बस्तीहरु डुबाउने ‘खेल’ बर्षौं देखि चल्दै आएको छ । अन्तर्राष्ट्रिय कानुन अनुसार पनि दुइ देशको सिमाको दश किलोमिटर वरपर त्यस्ता बाँध बनाउन पाइंदैन यदि बनाउन परे पनि दुइ देश सहमत गरेर मात्र बनाउनु पर्छ । तर भारतले कति सम्म गर्यो भने दरबार हत्याकाण्ड भएको बखत जतिबेला नेपाल र नेपालीहरु शोकाकुल भएको बखतमा रातारात कपिलवस्तुमा ‘खुर्द लौटन बाँध’ बनाउन शुरु गर्यो अहिले वर्षेनी त्यहि बाँधले त्यहाँ वरपरको वस्ती डुबानमा पर्छ ।
हुँदा हुँदा गौतम बुद्धलाइ भारतमा जन्मेको भनेर प्रचार प्रसार गरिरहेको छ । नेपालमा सरकार फेरिए लगत्तै बनेका प्रधानमन्त्रीहरु भारत भ्रमणमा गइरहन्छन तर भारतबाट सरकार प्रमुखको भ्रमण नभएको दशकौं भैसक्यो । भारतसंग कुटनीतिक सम्बन्ध सुन्य प्राय छ, कुनै नियम कानुन चाहिंदैन, भारतीय सरकारको सचिवस्तरको व्यक्ति आउँदा नेपाली नेताहरु भेट्न लाइन लाग्छन ।
यी त उदाहरण मात्र हुन् भित्र नदेखिएका यस्ता हेपाहा कुराहरु धेरै छन । यति हुँदा हुँदै पनि देशका नेताहरु एवं व्युरोक्रेट्सहरु मुकदर्शक बनेर दशकौं बिताईरहंदा प्रत्येक नेपाली नागरिकको मन दुख्नु स्वाभाविक हो । देशको स्वतन्त्रता, राष्ट्रियता अनि आत्मसम्मान प्रत्येक नागरिकको भावना संग जोडिएको हुन्छ र कतै त्यसमाथि प्रहार भयो भने दुख्नु स्वाभाविक हो ।
आखिर भारतले किन यसो गरिरहेको छ त ? उत्तर सजिलो छ – किनकि हामी हरेक कुरामा भारतमा आश्रित छौं परनिर्भर छौं र सयौं वर्ष देखि हरेक कुरामा भारतसंग परनिर्भर भयौं तर त्यो परनिर्भरलाइ कसरी कम गर्ने भन्ने तिर कहिले पनि सोचेनौं । नेपाल पनि स्वतन्त्र देश हो र क्षमता बढाउंदै लगियो भने उसको हाराहारीमा पुग्न नसके पनि ‘बार्गेनिङ्ग पावर’ त बढाउन सकिन्छ नि भनेर कोहि नेता अहिले सम्म आउन सकेको छैन । अहिले भारतसंग नेपालको ‘जिरो’ बार्गेनिङ्ग पावर भएको अवस्था छ भने अरु देश संग त झन् हुने कुरै भएन ।
अहिलेको विश्वमा दुइ देशको सम्बन्ध व्यापार र विभिन्न कुरामा गरिने साझेदारमा निर्भर रहेको हुन्छ । अहिलेको जमाना भनेको अर्को देशसंग गरिने व्यापार र त्यसबाट देशले आर्जन गर्ने पैसाको हो । जुन कुरा देशलाई धनी र सम्बृद्ध बनाउने भन्ने संग जोडिएका पनि हुन्छन । आर्थिक रुपले सम्पन्न र अन्तर्राष्ट्रिय व्यापारमा अग्रणी भूमिका खेल्ने देश नै अहिलेको विश्वमा हरेक कुरामा बलियो रहेको हुन्छ ।
एउटा सत्य उदाहरण लिउं, भारत संग यस्तो सम्बन्ध हुनुपर्छ भनेर राष्ट्रियतालाइ जोड्दै नेपालको कुनै एक व्यक्ति भनिरहन्छ अनि त्यही व्यक्ति जो मन्त्री, नेता वा मन्त्रालयको सचिवको रुपमा भारत भ्रमणमा पनि जान्छ, दुइ पक्ष बीच कुराकानी हुँदा अन्त्यमा भारतीय पक्षसंग आफनो छोरा वा छोरी र त्यो पनि नभए भान्जा भान्जी, त्यो पनि नभए आफना आफन्तको लागि मेडिकल वा इन्जिनियर विषय निशुल्क पढाइ दिन अनुनय र विनय गर्दा भारतीय पक्षले सहर्ष स्वीकार्दै ”भै हाल्छ नि यति सानो कुरा पनि” भने लगत्तै त्यहीं गएर राष्ट्रियताको अन्त्य गरेर नेपाल फर्कन्छ ।
हो यहि प्रवृत्तिले नेपालको साख दिनदिनै गिर्दै गएको हामी पत्तो पाएका छैनौं । देशको स्वार्थमा काम गर्नेहरुको कमि अनि व्यक्तिगत स्वार्थ पुरा गर्नेहरुको बढावा भएकोले देशको अवस्था गिर्दो रहेको हो भन्न कुनै सकस मान्नु परिरहनु पर्दैन ।
नेपालले भारत संग व्यापारमा टक्कर लिन नसके पनि आँफु भित्र भएको क्षमतालाइ उपयोग गर्न सक्यो भने पनि अहिलेको विश्व व्यापारको जमानामा अलिकति भए पनि ‘बार्गेनिङ्ग पावर’ भने बनाउन सक्छ । एक देश अर्को देशसंग हरेक कुरामा आश्रित भएको अवस्थामा त्यो आश्रित र परनिर्भरता कम गर्ने कुरा एकै रातमा सम्भव हुने हैन यसको लागि सम्भाव्यता अध्ययन, योजनाबद्ध विकास, पूर्वाधार विकास र प्राथमिकीकरणका विषय वस्तुहरु रहेका हुन्छन ।
अहिलेको परनिर्भरता कम गर्न पांच वर्ष, दश वर्ष र बीस वर्ष लाग्ला तर शुरुवात अहिले नै गरि हाल्नु पर्छ । अन्यथा भोलिका दिनमा हालको संक्रमणकालिन अवस्थाको हाम्रो देशमा भारतले जुनसुकै कारण देखाएर पनि सीमामा कडाइ र सामान ढुवानीमा नाकाबन्दी गर्न सक्छ । नेपालप्रतिको उसको रवैयाको कारण भारतको आन्तरिक नियत राम्रो देखिंदैन ।
पेट्रोलियम पदार्थमा नेपाल पुरै भारत संग निर्भर छ र भारतले अर्को मुलुक संग किनेको पट्रोलियम पदार्थ स्टोर गरेर तेस्रो मुलुकलाइ बेच्दछ, हाम्रो देश पनि किन्ने मध्यको एक हो । बिहारको रक्सौल देखि अमलेखगंज सम्म दिनको हजारौं ट्यांकरहरु पेट्रोल, डिजेल र मट्टीतेल ओसारिरहेका छन् जहाँ पेट्रोलियम पदार्थको चुहावट अहिले पनि भैरहेको छ र यो दशकौं वर्षदेखि चलिरहेको छ ।
रक्सौल देखि अमलेखगंज सम्मको दुरी जम्मा करिब चालिस किलोमिटरको छ र त्यो दुरीमा तेलको पाइपलाइन बिच्छाइयो भने नेपालको यातायात खर्च मात्र पचास प्रतिशत बच्छ । भलै गएको सालदेखि पाइपलाइन बन्ने तरखरमा छ तर यो निकै पहिल्यै हुनु पर्थ्यो र नेपालको दवाव पछि मात्र भारत बनाउन तयार भएको हो । लजिस्टिक र पारवहनको हिसाबले नेपालको लागि शुरुदेखि नै यो निकै आवश्यक थियो र छ पनि ।
तर भारतले पहिल्यै बनाउन तयार थिएन किनभने नेपाल आयल निगमले ओसार्ने सबै ट्यांकर भारतमा निर्मित हुन्थे र ती सबै ट्यांकरहरु निगम र नेपाली व्यापारीहरुले भारतीय कम्पनी संग किन्नु पर्थ्यो र यदि तेलको पाइपलाइन भए पश्चात ट्यांकरको बिक्रि हुने थिएन अनि सबै ट्यांकर बिग्रेको खण्डमा मर्मत र पाटपुर्जाको व्यापार अनि नेपालमा रहेका भारतीय मेकानिक्सहरुको रोजगार आदिका हिसाबले पनि पाइप लाइन बिच्छाउन भारत चाहन्दैन्थ्यो भन्ने बुझ्न गारो छैन । निगम धरासायी हुनुमा यस्तै कारणहरु जिम्मेवार हुन्छन । ढिलो भए पनि त्यो तेलको पाइपलाइन बन्ने तरखरमा छ जुन खुशीको कुरा हो जसले यातायात खर्च कम गर्नेछ ।
अर्को मुख्य कुरा नेपालमा पाइने सबै किसिमका कृषि मल भारत बाट आयत्त गर्नु । निकै दुखद कुरा हो कि एउटा कृषि प्रधान देशको सरकारले आफना कृषकहरुलाई समयमै मल उपलब्ध गराउन सक्दैन र गराई हालेपनि भारतबाट आयात नगरी हुँदैन । जतिसुकै लगानी लागोस अर्ब रुपैंया लागोस, खर्ब रुपैंया लागोस नेपालमा कृषि मल उत्पादन गर्ने दुइ वटा उद्योग स्थापना गर्नु अहिलेको आवश्यकता हो ।
दुइ वर्ष पहिला बाबुराम सरकारको पालामा नेपाली कृषकले समयमा मल नपाएर कत्रो आपत पर्यो । भारतको के कुरामा चित्त बुझेन वा मुल्य बढाउन पर्यो अनि आयात रोकिदिन्छ । यस्तो अवस्थाबाट नेपाललाई पार लगाउने कि नलगाउने ? त्यो मुख्य कुरो हो । नेपालमा कृषिमल उद्योगको स्थापना बाट कृषकले सस्तोमा मल पाउंछन भने अर्को कुरा लाखौं रोजगार सृजना हुन सक्छ । उत्पादनको बजार नेपाल नै हुन्छ भने सिमा क्षेत्रका भारतीय जिल्लामा पनि बेच्न सकिन्छ ।
भारतसंग सिमाना जोडिएका तराइका जिल्लाहरुमा ‘औधोगिक कोरिडोर’ को सम्भावना त्यत्तिकै रहेको छ । कच्चा पदार्थको उपलब्धता, सस्तो श्रम अनि यातायातका हिसाबले तराइका जिल्लामा उपयुक्त उद्योग संचालन ल्याउन अपरिहार्य भैसकेको छ । बिस्कुट देखि चाउचाउ सम्म अनि गार्मेन्ट देखि फर्निचर उद्योग सम्मको राम्रो सम्भावना रहेको ठाउँहरु हुन ती ।
विराटनगर क्षेत्रमा स्थापना गरिने उद्योगको बजार बंगलादेशसम्म हुन सक्छ । यदि ती ठाउँहरुमा पहिल्यै उद्योग छन् भने त्यसैलाई अझ राम्रो र प्रतिस्पर्धा गर्न सक्ने उत्पादन बनाउन हामी किन नसक्ने ? यदि भारतीय पक्षका उद्योग छन् भने पनि उनीहरुभन्दा राम्रो र ‘इन्नोभेटिभ’ खालको उत्पादनमा जोड किन नदिने ? जमाना प्रतिस्पर्धाको हो त्यसबाट डराएर भाग्न थालियो भने भोलि मुलुकको भविश्य नै के हुने भन्ने तर्फ आजका देशका नेताहरुले सोचेको सम्म पाइएको छैन ।
भारतीय उद्योगहरुले नेपाली कच्चा पदार्थ सस्तो मुल्यमा निर्यात गरि लगेर त्यसबाट नयाँ उत्पादन गरि नेपालमै बेचिरहेको तथ्य बाट हामी सबै बेखबर छैनौं । यो शृंखला बन्द गर्नको लागि पनि सिमा जोडिएका जिल्लामा तत्काल ‘औधोगिक कोरिडोर’ निर्माणमा निजि क्षेत्रलाइ प्रोत्साहन गर्ने बेला यहि हो अब ढिलो गर्नु हुँदैन ।
भारत आर्थिक वृद्धितर्फ लम्किरहेको देश हो, शहरीकरण तीव्र गतिमा भैरहेको छ । तर शहरीकरण बढ्दै गैरहेको बखत त्यहाँ आवश्यक पर्ने कुरा नेपालले के बेच्न सक्छ भन्ने तर्फ बेलैमा सोच्न जरुरी छ । धेरै ठुलो र आदर्शको कुरा गर्नु आवश्यक छैन ।
शहरीकरण तीव्र गतिमा वृद्धि भएको देशमा सामान्य कुरा गर्दा पनि घरको लागि चाहिने झ्याल, ढोकाको फ्रेम त्यसको लागि चाहिने ह्यान्डल साथै अन्य टुल्सहरु, खानेपानीको पाइप अनि घरको लागि गलैंचा, कार्पेट आदि ठुलो परिणाममा भारतलाई बेच्न सकिन्छ यदि पहिल्यै अर्को देशले बेचिरहेको छ भने उसको भन्दा राम्रो र गुणस्तर बनाएर बेच्न सकिन्छ । यो प्रतिस्पर्धाको जमाना हो । यदि नेपालमा भएका उद्योगहरु संग क्षमता छैन भने पनि क्षमता बढाउन सरकारले नै पहल गर्नु जरुरी छ । सानो सानो कुराबाट शुरु गर्दै व्यापारको क्षेत्र बढाउनु अहिलेको नेपालको आवश्यकता हो ।
नेपालको जडिबुटीको सबैभन्दा ठुलो बजार नै भारत हो तर भारतीय व्यापारीहरुले नै नेपालबाट अबैध बाटोबाट निकै सस्तो मुल्यमा लागिरहेका छन् । यसको समाधानको लागि नेपालका उत्पादनकर्ता देखि भारतका व्यापारी सम्म पुग्नको लागि राम्रो व्यवस्थित व्यापारिक च्यानल/मार्ग बनाएर व्यापार मात्र गर्न सकियो भने वर्षेनी दश अरब सम्मको जडिबुटी भारतलाई बेच्न सकिन्छ ।
नेपालमा जडिबुटी उत्पादनकर्ता हरुको क्षमता वृद्धिमा सरकारले एउटा मेकानिज्म बनाएर कार्य गर्यो भने जडिबुटीले मात्र लाखौंको रोजगार सुरक्षा गर्न सक्छ । नेपालमा जडिबुटीका विज्ञहरु धेरै छन उनीहरुको ज्ञानको सदुपयोग हुनु जरुरी छ अनि त्यसै खेर गैरहेका भिर पाखाहरु छन् जहाँ वर्षेनी करोडौं टन मुल्यवान जडिबुटीहरु ‘फ्री अफ कस्ट’ मा उत्पादन हुन्छन । त्यता ध्यान दिने कहिले ?
नेपालले वर्षेनी करिब बाह्र अरबको चामल भारतबाट आयात गर्छ अनि त्यति नै बराबर मुल्यको मासु पनि आयात गर्छ । दशैँ तिहार जस्ता सांस्कृतिक चाडपर्वमा खसी बोका उतैबाट ल्याउनु पर्छ । दशैं जस्तो सांस्कृतिक पर्वमा खसी काट्ने पनि संस्कृति हो अनि मन्दिरमा वली दिने पनि संस्कृति हो र सवारी साधनमा वली दिने पनि संस्कृति नै हो तर त्यहि संस्कृति पुरा गर्न पनि हामी आँफै उत्पादन गर्न नसक्नु लज्जाको विषय हो । भारतबाट ल्याएर हामी हाम्रो संस्कृति कर्म पुरा गरिरहेका छौं ।
नेपालको तराइका १६ जिल्ला मध्य केवल पांच जिल्लामा वैज्ञानिक तरिकाले उत्पादनमा जोड दिने हो भने चामल र दाल र तोरीको तेलमा देश आत्मनिर्भर हुन्छ अनि हुम्ला जुम्ला देखि डोल्पासम्मका नेपालीहरु दशैँ जस्तो तिहारमा एक किलो चामल किन्न लाइन लागिरहनु पनि पर्ने थिएन ।
देशले वर्षेनी कृषि क्याम्पसबाट अरबौं लगानी गरी विज्ञहरु उत्पादन त गरेको छ तर त्यसको उपयोगिता ‘सुन्य’ छ । वास्तवमा भन्ने हो भने त्यो म्यानपावरको केहि काम नै छैन नेपालमा अनि ती दीक्षित म्यानपावरले काम खोजिरहेका छन । आफनो ज्ञान र शिपको उपयोगिता खोजिरहेका छन त्यो पनि आफनै देशमा । ती विज्ञहरुलाइ काम दिनको लागि र उत्पादकत्व बढाउनको लागि तराइका मुख्य पाँच जिल्लामा आधुनिक ढंगले खेति गर्न मात्र सकियो भने नेपालमा गरिबी घट्ने मात्र हैन बिहान बेलुका प्रत्येक नेपालीले पेटभरी खुवाउन लागि अर्को देशसंग हात फैलाउनु पनि पर्दैन ।
पछि उत्पादन विस्तार पुरै सोह्र जिल्लामा गर्न सकिन्छ । त्यहाँ उत्पादन हुन सक्ने धान, मकै, आलु, प्याज, तोरी, मुसुरो, गहुँ, लसुन, हरियो तरकारीहरु लगायतक उत्पादन र नगदे बालीले दैनिक उपभोग्य सामग्री तथा वस्तुहरुको परनिर्भरतालाइ सुन्य तहमा ल्याउन सक्छ । यसका केहि जटिलता छन किनभने भुमिको वितरण टुक्रा टुक्रामा भएको छ तर सहकारीको अवधारणाबाट कृषकहरुलाई तालिम र शिक्षा संगसंगै दिंदै उत्पादन बढाउन सकिन्छ ।
भेडा बाख्रा तथा माछा पालन गर्न कृषकहरुलाई सहुलियत ऋण को व्यबस्था गर्दै बजारको पनि व्यबस्था गर्दै भेडाबाख्रा पालन गर्न प्रोत्साहन गर्न सकियो भने वर्षेनी अरबौं रुपैया विदेशिनबाट रोक्न सकिन्छ । विदेश बाट सामान ल्याउने व्यापारीले सजिलै ऋण पाउने तर कृषकले गर्छु भन्दा ऋण त परै जाओस प्राविधिक सहयोग पनि नपाउने कुचलनको अब अन्त्य गर्नु पर्छ ।
नियमन र अनुगमन पनि कडाइका साथ लागु गर्दै लानु पर्छ । कृषिको आधुनिकीकरणका लागि अर्बौं रुपैंया वा एक खर्ब लाग्ला तर यो गर्नु अहिलेको देशको सबैभन्दा मुख्य आवश्यकता हो । रेमिट्यान्सले उत्पादकत्व घटाईरहेको अवस्थामा यो अपरिहार्य भैसकेको छ । कृषि क्षेत्रमा व्यवस्थित तरिकाले उत्पादन र व्यवसाय गर्नेहरु नेपालमा सफल भएका उदाहरण दिनदिनै अखबारमा पढ्न पाइन्छ । अहिलेको आवश्यकता भनेको नेपाललाई चाहिने दैनिक उपभोग्य सामाग्रीमा देशलाई आत्मनिर्भर बनाउनु हो ताकि भारत संगबाट आयात गर्नु नपरोस ।
यी माथि उल्लेखित कुराहरुको शुरुवात गर्नलाई कुनै विदेशी दाता पनि चाहिंदैन, नेपालमा भएकै मानवस्रोत र विज्ञहरुले मात्र पनि सम्भव छ खाँचो छ त केवल नेताहरुको राजनीतिक इच्छाशक्ति र नेपालको ब्युरोक्र्याट्सको विवेकको । नेपालमा पुंजी पनि छ, एक्स्पर्टहरु पनि छन अनि प्रचुर सम्भावना पनि ।
प्रश्न नेपाललाई कहिले सम्म परनिर्भरतामा राख्ने भन्ने मात्र नभई नेपालका हुम्ला जुम्ला, मुगु र डोल्पाका जनतालाई कहिले सम्म एक किलो चामलको लागि लाइन लाग भनिरहने भन्ने पनि हो । शुरुवात नै नगरे त कहिल्यै पनि हुँदैन तर कोशिश गरियो भने पांच वा दश वर्ष लाग्ला तर दैनिक उपभोग्य सामाग्रीमा नेपाल भारतसंगको परनिर्भरताबाट एकदिन अवश्य मुक्त हुने छ ।
यसले भारत संग नेपालको वार्गेनिङ्ग पावर बढाउने मात्र नभई उत्पादित वस्तु नेपालसंग सिमा जोडिएका भारतीय जिल्लाहरुमा निर्यात समेत गर्न सकिन्छ ।






katha bhaya.
denmark jasto bhrstacharmukt des ma baser yo kura sochna sajilo xa.
50,000 ma bikne Nepal ko sansad lai yasto kura pachxa.
Comments are closed.