– सन्देश श्रेष्ठ
पोखरा / घुस लिदै गर्दा अख्तियारको फन्दामा परेका यातायात व्यवस्था कार्यालय पोखराका दुई लेखा अधिकृत धरौटीमा छुटेका छन् ।
सेवाग्राहीसँग १० हजार रुपैयाँ घुस लिँदै गर्दा मंगलबार पक्राउ परेका लेखा अधिकृत गोविन्दप्रसाद बराल र लेखापाल नारायणहरी शर्मा अधिकारीलाई जनही २० हजार धरौटीमा रिहा गरिएको हो ।
मुद्दा टुंगो नलागेसम्मका लागि बुधबार धरौटीमा रिहा गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरा कार्यालयका सूचना अधिकृत नरेन्द्र भट्टराईले जानकारी दिए । उनले मुद्दा टुंगो नलागुञ्जेल आरोपी दुवैको जागिर निलम्वन गरिएको पनि जानकारी दिए ।
यसअघि सेवाग्राही टेकबहादुर बरुवालले आफ्नो निजी कारको नविकरण गर्न लाग्ने रकम २४ हजार रुपैयाँ तिरेपनि आरोपी २ कर्मचारीले आलटाल गर्दै १० हजार रुपैयाँ घुस मागेपछि उनीहरुलाई मंगलबार रंगेहात पक्राउ गरिएको थियो ।
सेवाग्राहीको सूचनाको आधारमा अख्तियारको टोलीले उनीहरुलाई रंगेहात पक्राउ गरेको थियो ।