राष्ट्रको ढुकुटीमा युरोप घुम्ने नेताज्यूहरु,केहि सिक्ने कि ?


– सुबाश चापागाईं

भूकम्पजस्ता प्राकृतिक प्रकोप संसारभर जहाँ पनि आउन सक्छन्, र आउँछन् पनि ।  तर हामीकहाँ जस्तो भयावह क्षती अन्त बिरलै भएको पाइन्छ । अहिले भोगेको यो दुर्दशा केबल एक दुई पटकको भुकम्पको प्रभाब भन्दा पनि समयमै एउटा बैज्ञानिक पद्दतिको पालना गरी प्रविधिको उचित प्रयोग गर्न नसक्नुको उपज हो ।

जापानमा हाम्रा भन्दा ठुला भुईचाला दिनहुँ जसो आउँछन् ; अमेरिकामा आँधी, सुनामीका खबर आईरहन्छन्, तर त्यहाँ यत्तिको मानविय तथा भौतिक क्षति भयो भनेर कहिल्यै सुन्नु पर्दैन ।

यस्तो ठुलो प्रकोप पश्चात् तत्कालका लागि पुनर्निर्माण र पुनर्स्थापना नै प्रमुख प्राथमिकतामा हुनुपर्छ र छन् पनि । तर यो विपद्को घाउमा मलम लगाउँदै आगामी दिनमा नेपाललाई हामीले साँच्चिकै विकासको बाटोमा डोर्याउँने हो भने आजसम्म कमै ध्यान पुर्याइएका पाटाहरुलाई नियालेर हेर्ने, मनन गर्ने बेला आएको छ ।

हाम्रा छिमेकीहरु मंगलमा उपग्रह पठाउदै गर्दा हामी किन अति कम बिकसित राष्ट्रको सुचिमा कुण्ठित छौं भनेर आत्मालोचना गर्नुपर्ने बेला भएको छ । अनि सोच्नु पर्ने भएको छ गहन रुपमा हाम्रो देशको बिज्ञान-प्रविधिको अवस्था; हामीले आजसम्म ‘बिकास’ का लागि प्रयोग गर्दै आएका सिद्दान्त र पद्दतिहरुको बारेमा ।

बिकासको कुरा आयो, यूरोप छुट्ने कुरै भएन। त्यहाँको बिकासको हामी सबै खुलेरै प्रशंसा गर्ने गर्छौं तर त्यससँगै जोडिएको उनीहरुको बैज्ञानिक सचेतना अनि अन्वेषण-अनुसन्धानका बारे चाहिँ हामी अनविज्ञ छौं।

१७ औं शताब्दी पछिको यूरोपेली औद्योगिक आर्थिक क्रान्तिलाई फर्केर हेर्ने हो भने नयाँ-नयाँ प्रविधिको प्रयोग अनि निरन्तरको बैज्ञानिक अनुसन्धानको क्रमिक अभ्यासले गर्दा नै त्यो सफल भएको देखिन्छ । जैविक बिज्ञान, इन्जिनियरिङ र उत्पादन सँग प्रत्यक्ष रुपमा सम्बन्ध राख्ने खोज-अनुसन्धान बिना बिकास लगभग असम्भव नै छ भन्ने कुरा उनीहरुले उहिले नै बुझे र बेलैमा एउटा बलियो आधार खडा गर्न सफल पनि भए ।

त्यसको प्रतिफल अहिले उनीहरु बिकासको चरमचुलीमा छन् | एयरबस देखि अत्याधुनिक औषधिहरु उत्पादन गर्न सफल छन्। राष्ट्रको ढुकुटी मासेर बर्षेनी युरोप भ्रमणमा जाने हाम्रा नेताज्यू हरुले यो कुरा कहिलेसम्म नबुझ्ने ? वा कहिलेसम्म बुझ पचाउने? नेपालमा आर्थिक क्रान्तिको कुरा चल्दै आएको दशकौं भएको छ।

तर के हामी यसका लागि साँच्चिकै तयार छौं त ? अर्थतन्त्र बलियो बनाउन चाहिने पुर्वाधारहरु हामीले खडा गरेका छौं त ? अर्थ सुधार्न उत्पादनको भूमिका प्रमुख रहन जान्छ, तर हामीसँग अन्तराष्ट्रिय रुपमा पर्तिस्पर्धा गर्न सक्ने उत्पादन क्षमता छ त ? सियो देखि नुन सबै आयात गरेर उपभोग गर्न बाध्य हामीले बुझ्नै पर्ने कुरा यो हो कि जब सम्म स्थानीय स्रोत साधन को उचित उपयोग, परिचालन गरि देशमै उत्पादनको स्थिति सिर्जना हुँदैन, आर्थिक क्रान्ति केवल छेपाराको उखान मात्र हुनेछ ।

जुम्ला र मनाङ्मा क्विन्टलका क्विन्टल स्याउ कुहिंदै गर्दा खाडिबाट हाम्रा दाजुभाईहरु काठको बाकसमा फर्कन बाध्य भै नै रहनेछन् । बिजुली उत्पादन गर्ने एसियामै पहिलोमध्यको एक राष्ट्र हामी आज आएर घन्टौको लोडसेडिंग खप्न बिवश छौं। यत्रो जलस्रोतको धनि राष्ट्रमा यस्तो हुनुको कारण के ? प्रष्ट छ- राज्यको नीतिगत अपरिपक्वता, अनि लगानीको कमि। जलबिद्युत मात्र नभई बैज्ञानिक अनुसन्धान चाहिने प्राय सबै क्षेत्रमा यस्ता कमजोरीका जरा गाडिएका छन् ।

अवगत नै छ कि हामीकहाँ प्राकृतिक सम्पदाको कमि छैन । तर स्रोतले आफै मात्र राष्ट्रिय अर्थतन्त्रमा केहि माने राख्दैन जबसम्म त्यो उत्पादनका लागि प्रयोगमा आउदैन । उत्पादनका लागि R&D (Research and Development) अपरिहार्य छ ।तर अपसोच हाम्रो देशको R&D को अवस्था मानौं सुन्य नै छ ! रिसर्चहरु एक-दुई बिश्वविद्यालयका प्रयोगशाला मै सिमित छन्; र त्यो पनि अधुरा-अपुरा, ठोस नातिजा बिहिन । झन् बिशेष गरि जैविक अनुसन्धानको हकमा त स्थिति दयनीय नै छ।

त्यसैले त यार्चागुम्बा, चिराइतो , पाँचऔंले जस्ता क्यान्सरको औषधिसम्म प्रयोग हुन सक्ने सम्भाबना राख्ने जडिबुटीहरु विदेशीले किलोको हिसाबमा लगेर हामीलाई नै ट्याब्लेटमा बेचिरहेका छन् । यति ठुलो जैविक बिबिधता माँझ पनी हाम्रा जनता सिटामोल नपाएर मर्नुपर्ने अवस्था छ।

त्रिभुबन, काठमाडौ , पुर्बाञ्च्चल बिश्वबिद्यालय लगायत आधा दर्जन भन्दा बढी शैक्षिक संस्थाहरुमा स्नातक र स्नातकोतर तहमा अहिले जैविक प्रबिधि (biotechnology) को अध्ययन अध्यापन गराइन्छ । जडिबुटी प्रशोधन, बालि सुधार, औषधि निर्माण , खाद्य प्रबिधि जस्ता बिषयमा बिशेष दखल राख्ने हजारौं युवा बर्षेनी यहाँबाट उतिर्ण हुन्छन् , अनि अवसरको अभावमा युरोप र अमेरिका तिर हाँकिन बाध्य हुन्छन् ।

उनीहरुको सिप र दक्षता अनुसार देशमै जैविक अनुसन्धान गर्ने गराउने अनि उत्पादनमुखी बतावारणको जग बसाल्न सक्ने हो भने यस्तो प्राबिधिक जमातको पलायन रोक्न सकिन्थ्यो र यसले राष्ट्रिय अर्थतन्त्रमै ठुलो टेवा पनि पुर्याउने थियो।

हुन त NARC, NAST लगायत अनुसन्धान गर्ने गराउँने राष्ट्रिय संयन्त्रका केन्द्रीय क्षेत्रीय प्राय: सबै निकायहरुमा जैविक खोजका लागि भनेर छुट्टै बायोटेक्नोलोजी बिभाग नभएका चाहिँ हैनन् । तर अपसोच लोक सेवा आयोग ले बायोटेक्नोलोजीलाइ मान्यता दिएको भनिए पनि कार्यान्वयन भने भएको पाईएको छैन ।  उता प्राबिधिकहरुको अभावमा कृषि अनुसन्धान केन्द्रहरुमा कैयौं दरबन्दी रिक्त भएको थाहा हुँदा हुँदै पनि राज्य मौन छ; कस्तो बिडम्बना!

अहिले भुकम्पपश्चात् कै कुरा गर्ने हो भने भण्डारण गरेर राखेका बिउबिजन नष्ट भएर किसानहरु चिन्तित छन् । कृषि मन्त्रालयले भारतबाट बिज आयात गर्ने निर्णय गरेको छ ।बिदेशबाट त्यसरी आयातित बिउबिजन हाम्रो पर्यावरण र भूगोलमा ल्याएर प्रयोग गर्दा यसले उत्पादन शिलतामा पुर्याउने असरबारे हाम्रा बिशेषज्ञहरु मौन छन् ।  बेलैमा एउटा बिज संरक्षण केन्द्र (Seed Bank) को स्थापना गर्न सकेको भए यस्तो विपदको बेला हामी दक्षिणको मुख ताक्न लाचार हुने थिएनौं भने हाम्रा मौलिक अन्नबाली पनि पुस्तौं पुस्ताका लागि संरक्षित हुने थिए ।

विश्वको जलवायु परिवर्तनशील छ; तापक्रम बर्षेनी बढ्दै आएको छ | यस्ता वातावरणीय उतारचढावले हाम्रो जैविक स्रोत र कृषिमा सरासर असर गरेको देखिरहँदा पनि प्रभाव न्यूनीकरण गर्ने तिर राज्यले कुनै ठोस नीति अपनाएको पाइदैन ।कृषिमा आधुनिकीकरण गर्ने भन्दै केवल बोक्रे नारा लगाएर मात्रै पुग्दैन; पर्याप्त गृहकार्य गर्नुपर्छ । ‘मोलेक्युलर बायोलोजी’ प्रयोगशालाहरु निर्माण गरि उचित अनुसन्धान गरिनुपर्छ, बालि सुधारका लागि ठुला ठुला परियोजना संचालन गर्नुपर्छ। हैन भने खाध्य असुरक्षाले हामीलाई आउने दिनहरुमा पिरोल्ने कुरा लगभग अकाट्य छ।

माहोल पुनर्निर्माणको छ, संबिधान पनि लेखन को क्रममा छ। बेलैमा यी कुराहरुमा राज्यको ध्यानाकर्षण गराउनु जरुरी छ। यसमा संचार माध्यमहरुले गहन भूमिका निर्वाह गर्न सक्छन् । अहिले नेपालमा बैज्ञानिक वकालतको आबश्यकता छ । आम मिडियाले ‘Advocacy for Science and Technology’ लाई थोरै मात्र पनि प्राथमिकता दिने हो भने पनि राज्य संयन्त्रमा यसको सकारात्मक प्रभाव पर्ने देखिन्छ ।

अब बिकासको रुख चढ्नुको अर्को विकल्प हामीसँग छैन ।सिधै उडेर टुप्पोमा बस्न हामीसँग पंख छैनन्, फेदबाटै चढ्नुपर्छ | बिज्ञान-प्रबिधि फेद हो। राष्ट्रलाई अझैपनि कुहिरोको काग बनाइराख्ने कि आधी माथी उड्ने चिल; हाम्रै हातमा छ ।

(लेखक काठमाडौं बिश्वबिद्यालयमा स्नातकतह, बायोटेक्नोलोजी अध्ययन गरिरहेका छन् । )

तपाईको प्रतिक्रिया