महाबिपत्तीको घडीमा दुखलाई शक्तिमा बदलौ,हिम्मत नहारौ


– दीपक खरेल
कामबाट लखतरान भएर बिहान ३ बजे बिस्तारामा ढलेर निन्द्रामा नै हुँदा बिहानै बिहानै करिब ८:१५ मा भाईको फोनआयो, “दाई दाई हामी सबै मर्ने भयौ देशमा ठुलो भूकम्प गयो”, मेरो पहिलो प्रश्न थियो बुबालाई कस्तो छ ? हिजो मात्र मुटुको अप्रेशन गरेको बिरामी यो भूकम्पमा के भयो होला भन्ने कुराले पिरोली रह्यो ।

भाई सँग कुरागर्दा गर्दै फोन काटियो फेरि कुरा हुन सकेन, मुटु पोल्यो । समाचार हेर्न थाले नेपाल नै सखाप भएका जस्ता खबरले आखा रसाउँन थाले मनले भगवान पुकार्न थाल्यो । प्रभु कसैलाई केहि नहोस् । सम्भव भए सम्म आफन्तहरुलाई फोन लगाएर जानकारी लिने कोशिस गरे । तर सम्पर्क भएन ४ घण्टा पछि पुन: भाईसँग सम्पर्क भयो । बुबालाई आईसीयुको बेडबाट बोकी खाली चौरमा ल्याएछन् ।

गाउका घरहरु भत्केछन् तर कुनै मानबिय क्षति नभएको जानकारी आयो । बिदेशी भुमिमा काम गर्नु पर्ने बाध्यता मन भरी पिडा र गहभरी आशु लिई फेरि काम तिर नै गए । शरीर यहाँ भए पनि मन मस्तिस्क नेपालमा नै थियो । बारम्बार ट्याईलेट जाने वाहनामा खबरहरु हेर्दा झन् चिन्तित बनाउथ्यो । मृतकको संख्या हर मिनेटमा बढेको खबरले झन् आँशु बगाउथ्यो । काम सकेर घर आउदा बुबालाई हस्पिटल बाट घर पठाईदियो भन्ने खबर पाँए ।

हस्पिटल खालि गर्नु पर्ने भयो रे झन पिडा बढ्यो । हिजो मात्र मुटुको अप्रेशन गरेको ८० बर्षको बुढालाई झम् झम् परेको झरीमा पाल मुनि राखेको खबरले आफु विदेश हुनुको पिडा सँगै झन् दुखित बनायो । सोचे कम से कम नेपालमा भएको भए ति बुढा बाउ सँगै हुन्थे । एक गिलास तातो पानि तताएर दिन पाउथे । हुदा हुदै रात बित्यो आफुमा आँट बढाए अब हामी सबै मिलेर यो दुखत पलको सामना गर्नु पर्छ । सबै मिलेर नेपाललाई सहयोग गर्नु पर्छ ।

देश विदेशबाट सहयोगी हातहरु बढ्दै गए, सके सम्म हर तरफबाट राहतका कार्य हुदै गए । सानो तिनो भूकम्पको झड्कालाई वास्ता नगरी अब नेपालीहरु आफ्नो घर गाँउ समाज र रास्ट्र निमार्णमा जुट्दै थिए । एक्कासी ७.३ रेक्टर स्केलको अर्को ठुलो भूकम्पले फेरि त्रसित बनायो । फेरि घर ढले मान्छे पुरिए, ज्यान लियो , घाइते बनायो । नेपालीहरुमा पलाएको आँट र शक्तिलाई फेरि डर र त्रासमा परीणत गरिदियो । अब त सबैले भन्न थाले डरै डरले मर्ने भईयो ।

तर अब यसरी आत्तिने बेला होईन सबै एकजुट भएर शक्तिमा बदल्ने बेला भएको छ।
भोलि नेपाल र नेपालीलाई सम्झिएर बहादुर नेपाली भनेर बिश्व सामु चिनाउनु छ । आउनुहोस् सम्पुर्ण नेपाली हातहरु एक जुट हौ दुखको सामना गरौ मिलेर नै नयाँ नेपालको मिलेर नै सृजना गरौ । महाबिपत्तीको यो घडीमा दुखलाई शक्तिमा बदलौ। हिम्मत नहारौ,आ- आफ्नो ठाउँबाट पहल गरौ।

-खरेल गैरआबासीय नेपाली संघ अन्तराष्टिय समन्वय परिषद्का सदस्य हुन्

तपाईको प्रतिक्रिया