म्याग्दीको गलेश्वरधाममा आश्रम निर्माणका लागि एनआरएन बेलायतको सहयोग


म्याग्दी / गैरआवासीय नेपाली सङ्घ (एनआरएन) बेलायतको आर्थिक सहयोगमा म्याग्दीको गलेश्वरधाममा सुविधा सम्पन्न ज्येष्ठ नागरिक आश्रम भवन निर्माण भएको छ ।
प्रसिद्ध धार्मिकस्थल गलेश्वरधाममा रहेको ज्येष्ठ नागरिक आश्रममा आश्रित वृद्धवृद्धाको सुविधाका लागि एनआरएन बेलायतको करिब रु ८० लाख लगानीमा भवन निर्माण गरिएको हो ।

सुविधा सम्पन्न भवनमा १६ कोठा र एउटा सभाकक्षसमेत रहेको गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष रुद्रबहादुर केसीले बताए । उनका अनुसार ज्येष्ठ नागरिक आश्रममा प्रवेश गर्ने प्रवेशद्वार गैरआवासीय नेपालीको अन्तर्राष्ट्रिय सङ्गठन समन्वय परिषद्का अध्यक्ष शेष घलेले निर्माण गरेका छन् ।

वृद्धाश्रम भवनको गत वर्ष शिलान्याससमेत गरेका घलेले रु ११ लाखको लगानीमा आकर्षक प्रवेशद्वार निर्माण गरेकाे गलेश्वर शिवालय क्षेत्र विकास कोषले जनाएको छ । आफ्नो घरपरिवार र आफन्तबाट टाढा रहेका ज्येष्ठ नागरिकको सुविधाका लागि भवन निर्माण गरेको एनआरएन बेलायतका निवर्तमान अध्यक्ष योगेन्द्रबहादुर क्षेत्रीले बताए ।

उनले आफ्नो जिल्लामा रहेका ज्येष्ठ नागरिकको सेवा गर्न पाउँदा आफूलाई खुसी लागेकोसमेत बताए । हाल गलेश्वरधाम ज्येष्ठ नागरिक आश्रममा करिब ७० जना वृद्धवृद्धा आश्रित रहेका छन् । भवन निर्माणपछि २० जना ज्येष्ठ नागरिकलाई सुविधा सम्पन्न भवनमा आवास सुविधा पुगेको छ । (रासस)