बार्सिलोना/
फ्रान्सको दक्षिणी पर्वत श्रृंखला एल्प्समा १४८ जना सवार रहेको विमान ए ३२० दुर्घटनाग्रस्त भएको छ ।
विमानका सबै यात्रुहरुको मृत्यु भएको हुन सक्ने बीबीसीले जनाएको छ । विमानमा १४२ यात्रु र ६ जना चालकदलका सदस्यहरु थिए ।
दुर्घटनामा परेको सो विमान बार्सिलोनाबाट डसलडोर्फतर्फ गइरहेको थियो । सो जहाज जर्मनीको लुफ्थांसाको सस्तो मानिने एयरलाइन्स सेवा जर्मनविङ्सको थियो ।
विमानमा अधिकांश जर्मन यात्रुहरु थिए । फ्रान्सका आन्तरिक मामिला सम्बन्धी मन्त्री बर्नाड ग्याज्नोभले सो दुर्घटनाको पुष्टि गरेका छन्।
ग्याज्नोभले जनाए अनुसार दुर्घटनाग्रस्त विमानको अवशेष दक्षिणी फ्रान्सको बार्सिलोनेट नामको सानो सहर नजिकै भेटिएको छ। विमान स्थानीय समय अनुसार ९:३९ बजे रडारसँग सम्पर्क टुटेको थियो।
बिबिसीका अनुसार फ्रान्सेली राष्ट्रपति फ्राँस्वाँ होलनले दुर्घटना भएको क्षेत्र र अवस्था हेर्दा कोही पनि जिवितै भेटिने संभावना नभएको बताएका छन् ।
फ्रान्सका राष्ट्रपति फ्रास्वाँ ओलान्डले यात्रुहरु बच्ने सम्भावना क्षीण रहेको भन्दै दुख व्यक्त गरेका छन् । फ्रान्स सरकारले दुर्घटनापछि उद्धार लगायतका कार्य गर्न एउटा टोली गठन गरेको छ ।
जर्मन विंसले दुर्घटनाको पुष्टि गरे पनि पूर्ण विवरण आइनसकेको बताएको छ ।
लुफ्थांसाका मुख्य कार्यकारी अधिकृत कास्टर्न स्पोरले टि्वटरमा भनेका छन्-‘हाम्रो सम्वेदना यात्रु र चालकदलका सदस्यका साथ रहेको छ । यदि हाम्रो डर सही सावित भयो भने त यो लुफ्थांसाका लागि कालो दिन हुनेछ । हामीमा मानिसहरु बाँचेको आश छ ।’
लुफ्थांसाले फ्नो ट्वीटर मार्फत यात्रुका परिवार र चालक दलका परिवारप्रति सहानुभुति प्रकट गरेको छ ।