पोखरा र लेखनाथमा मापदण्ड बिपरितका संरचना भत्काउन गृहकार्य शुरु


पोखरा, २८ भाद्र

सरकारले पोखरा उपमहानगरपालिका र लेखनाथ नगरपालिकामा बनेका मापदण्ड बिपरितका घर तथा अन्य संरचनाहरु भत्काउनका लागी गृहकार्य थालेको बुझिएको छ । केहि समयदेखी मापदण्ड हेर्ने पोखरा उपत्यका नगर बिकास समिती र पोखरा उपमहानगरपालिका बिचको द्धन्द्धले गर्दा जथाभाबी घर तथा अन्य संरचना बनिरहेको छ ।

शहरी बिकास मन्त्रालयको संयोजनमा हालै पोखराको बिषयमा केन्द्रित रहि १० वटा मन्त्रालयका सचिबहरुको संयुक्त बैठक बसी फेवाताल,बेगनास,रुपा लगायतका सात तालका बिषयमा गम्भीर छलफल गरिएको थियो । खासगरि तत्काल फेवातालको अतिक्रमण गरि बिना इजाजत निर्माण गरिएका संरचना प्रति सचिबहरुको गम्भीर ध्यानकर्षण भएको र त्यस्ता अतिक्रमित संरचनाहरु तत्काल भत्काउन पहल थालिने भएको छ । यसै गरि नगर भित्र मापदण्ड बिपरित बनेका र बिना अनुमति बनेका घर,संरचनाहरु समेत भत्काउने तयारी थालेको बताइन्छ ।

शहरी बिकास मन्त्रालयको संयोजनमा हालै पोखरा उपत्यकाका दिर्घकालिन योजना बिषयक पोखरामा एकदिने गोष्ठी गरि पोखरा उपमहानगर भित्रका राजनितिज्ञ,बुद्धिजिबी,पत्रकार का साथै पोखरा उपत्यका नगर बिकासका बर्तमान पदाधिकारी का साथै पुर्ब अध्यक्षहरुबाट सुझाब संकलन गरिसकेको छ । मन्त्रालयले यस्ता नियम बिपरितका संरचना भत्काउनका लागी पोखरा उपत्यका नगर बिकास समितीलाई शक्तिशालीरुपमा पुर्नसंरचनाको तयारी समेत थालेको बताइन्छ । पोखरा उपत्यका नगर बिकास समितीका सदस्य राज बहादुर गुरुङले पनि मन्त्रालयको निति तथा १० जना सचिबहरुको संयुक्त बैठकबाट निस्केको निशकर्ष मुख्य सचिबबाट स्वीकृति भई प्रकृया अगाडी बढाउने तयारीमा रहेको पुष्टि गरेका छन ।