डा. यादव पण्डित, अमेरिका
(भौतिक शास्त्रका प्राध्यापक तथा परमाणु वैज्ञानिक)
एउटा पदमा पुग्नकै लागि १० लाख रुपैयाँसम्म मनोनयन शुल्क राख्नु एकदमै गलत कुरा हो। निर्वाचनको खर्च कम्तिमा उम्मेदवारहरुको शुल्कबाट आवोस् भन्ने चाहाना चाहिँ ठीकै हो। तर दशौं लाख रुपैयाँ उम्मेदवारी शुल्क लिने कुरा व्यावहारिक छैन राम्रो पनि होइन । र अर्कोतर्फ एनआरएनमा व्यक्तित्व वा क्षमताको मापन पैसाको मापनसँग जोडिदै आएको छ । कसले कति पैसा हाल्छ ? वा कसले कति डोनेट गर्यो भन्ने कुरालाई प्राथमिकतामा राखिएको छ। तर मेरो व्यक्तिगत विचारमा एनआरएनभित्र डोनेसन वा च्यारिटीको परिभाषा फेर्न जरुरी छ। एकजना मान्छेले खर्च कटाएर वार्षिक रुपमा पाँच हजार डलर आम्दानी गर्छ । त्यो मध्ये उसले एक हजार डलर एनआरएनलाई डोनेसन गर्छ। र अर्को एकजनाले पाँच लाख डलर वार्षिक आम्दानी गर्छ । र, त्यसमध्ये १० हजार डलर डोनेट गर्छ।अब यी दुई मध्ये कसले धेरै दिएको हो त ? ठूला- ठूला च्यारिटी अर्गनाइजेसनहरुमा आफ्नो अतिरिक्त आम्दानिको कति प्रतिशत रकम दिने ? त्यो कल्चर स्थापित भएको छ। तर हामीकहाँ व्यक्तिगत रुपमा कसले कति लाख वा डलर दियो ? भन्ने विषयले प्राथमिकता पाउँछ।आम्दानिको कति प्रतिशत सामाजिक काममा खर्च गरेको छ भन्ने विषय ओझेलमा परेको देखिन्छ । एनआरएनमा अहिले एउटा फाउन्डेसन पनि निर्माण भएको छ।त्यसमा पनि यो कुराले प्राथमिकता पाउन सक्नुपर्थ्यो।
अब गरौं, सामान्य व्यक्ति एनआरएनको केन्द्रीय नेतृत्वमा पुग्ने कुरा। कुनै एक व्यक्ति आफ्नो कामको लिमिटेसनका कारण दिनुपर्ने समय दिन सक्तैन । अर्कोतर्फ एक देशबाट अर्को देशमा ट्राभल गर्न सक्ने खर्च जुटाउन सक्तैन । त्यहाँ फेरि चुनावी खर्च पनि जोडिएको हुन्छ । अर्कोतर्फ आर्थिक रुपमा केही दिने वा सहयोग गर्ने संस्थाको रुपमा एनआरएन परिचित छ । च्यारिटी कार्यक्रममा कसले कति बोल्यो भन्ने हाम्रो मानसिकता संघभित्र छ । माग वा अपेक्षा पनि स्वाभाविक त्यस्तै राखिएको छ। यी सबै किसिमका अपेक्षाहरु पूरा गर्नका लागि एउटा विशुद्व आफ्नो क्षेत्रमा काम गरिरहेको बौद्विक वा प्राज्ञिक मान्छेले कसरी पूरा गर्न सक्छ ? उसको आफ्नै सीमित आम्दानी हुन्छ । त्यसकारण एनआरएनको संरचना, स्थापनाकालीन पृष्ठभुमि र कामको मोडालिटीका कारणले सामान्य मान्छेलाई नेतृत्वमा पुग्न धेरै ग्राहो देखिन्छ।
त्यसैले आर्थिक रुपले सम्पन्न भएका वा व्यापार व्यवसाय गरिरहेकाहरुले नै नेतृत्व गरिरहेका छन्। यी सबै अवस्थालाई उनीहरु नेतृत्वमा आउनुलाई पनि हामीले स्वभाविक रुपमा नै हेर्नुपर्छ। तर उनीहरुले आफ्नो टिमलाई काम गर्ने र रिजल्ट दिनसक्ने बनाउनका लागि क्षमतावान व्यक्तिहरुलाई प्रोत्साहन गरेर संघको अभियानमा जोड्न सक्नुपर्छ ।
अर्कोतर्फ एनआरएनभित्र कुन पदमा बसेर काम गरिरहेको छ भन्ने विषयले प्राथमिकता पाएको देखिन्छ।आईसीसी अध्यक्षदेखि तल्लो पदसम्म जुन खालको वेर्टिकल हायरार्की सिष्टम छ। त्यसलाई पूर्णरुपमा उल्टाउनुपर्छ । होरिजेंटल हायरार्की भइदियो भने सामाजिक क्षेत्रमा काम गर्न थुप्रै मान्छे आउँछन् । अहिले त नेपालको सरकारी संयन्त्रको संरचना जस्तै छ। र त्यही मानसिकता पनि देखिन्छ । केन्द्रको अध्यक्ष भयो भने सारा उसैको कुरा हुनेजस्तो जुन सोच छ त्यसलाई परिवर्तन गर्नुपर्छ। एनआरएनको कुनै पनि इकाइमा बसेर पनि योगदान दिन सकिन्छ। त्यो भन्दा माथिको इकाइले नियन्त्रण गर्ने होइन कि कोर्डिनेट मात्रै गरिदिने हो। धारणा त त्यही नै छ। तर व्यवहारिक रुपमा भने त्यस्तो देखिदैन। तपाईले आफ्नो स्थानीय कमिटीमा गरेको कुनै विशेष काम,केन्द्रीय अध्यक्षले नेतृत्वमा पुगेर गर्ने कामभन्दा पनि महत्वपूर्ण बन्न सक्छ। यस्ता कुरालाई अहिले एनआरएनको संरचनाले व्यावहारिक रुपमा प्रतिनिधित्व गरेको छैन । अर्कोतर्फ व्यापारीले व्यारीहरुलाई मात्र नेतृत्वमा ल्याउँदा सामाजिक रुपमा नकरात्मक असर परेको छ । सक्षम अरु मान्छेहरुलाई पनि ल्याउन उनीहरु सहयोगी बन्न सक्नुपर्छ। कुनै मान्छे पदको कारणले परिचित हुने कि ? उसको योगदानको विषयलाई जोड्ने। यो पनि हामीले सोच्नुपर्ने विषय हो।
यो संस्था सबैभन्दा पहिले कसलाई चाहियो त ? यो प्रश्नको उत्तर खोज्दै जाने र अझ इमान्दर भएर कुरा गर्ने हो भने जो विदेशमा आएर आर्थिक रुपमा सम्पन्न भए उनीहरुलाई नै । पहिला मान्छेले खान लाउन बस्न र व्यवस्थापन गर्न तर्फ ध्यान केन्द्रित गर्दछ।त्यति गरेपछि सामाजिक प्रतिष्ठा र इज्यत । र, मात्रै देशका लागि पनि केहि योगदान गरौं भन्ने सोच। एनआरएनको जन्म पनि त्यही आवश्यकताबाट निर्माण भएको देखिन्छ ।
(अमेरिका निवासी डा.पण्डितसँगको कुराकानीमा आधारित)