अस्ताए सन्त कुमार ! शोकमग्न युरोप


स्वर्गीय सन्त कुमार थापा मगर

वार्सिलोना। अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास ) का युरोप संयोजक सन्त कुमार थापा मगरको निधन भएको छ।डेनमार्क निवासी चर्चित कोरियोग्राफर समेत रहेका मगरको आईतबार विहान उपाचारको क्रममा निधन भएको हो। ४१ बर्षिय मगर ब्लड क्यान्सरबाट पीडित थिए। 

डेनमार्कको सबभन्दा ठूला अस्पतालहरूमध्येको एक तथा कोपेनहेगनको सबैभन्दा उच्च विशेषज्ञ अस्पताल ठानिएको रिग्स हस्पिटालेतमा मगरलाई उपाचारका लागि भर्ना गरिएको थियो। काठमाण्डौ मच्छेगॉउमा जन्मिएका उनि विगत एक दशकदेखि श्रीमती र एक छोरीका साथ डेनमार्कको होयेटासटुरपमा बस्दै आएका थिए। 

कोरियोग्राफरमा नै सुन्दर भविष्य देखेका सन्त कुमार युरोप आएपछि पनि कलाकारिता क्षेत्रमा नै सक्रिय थिए।अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास )डेनमार्कका संस्थापक अध्यक्ष समेत रहेका उनि इनास नृत्य प्रवर्द्धन समितिका ग्लोबल संयोजक समेत थिए। 

नेपाली चलचित्र ‘कपुरी क’ मा उनको कोरियोग्राफ्री रहेको छ। साथै विभिन्न म्युजिक भिडियोहरुमा मगरले अभिनय,निर्देशन र कोरियोग्राफ्री गरेका थिए। विदेशमा आयोजना हुने नृत्य प्रतियोगिताहरुमा उनि निर्णायकको भूमिकामा देखिन्थे। ईनासको स्थापनाकाल देखि हालसम्म हुँदै आएका ग्लोवल तथा क्षेत्रीय स्तरका कार्यक्रमहरु सम्पन्न गर्न उनको महत्वपूर्ण योगदान रहेको छ।  

प्राय यूरोपका सवैजसो मुलुकमा श्रीमती मलिका प्रधानसँगै युगल नृत्य देखाएका उनि युरोपको नेपाली समुदायमा निकै लोकप्रिय थिए। 

शोकमग्न युरोप 

आईतबार विहानै मगरको निधनबारेको खबर सामाजिक संजालमा फैलिएको थियो।उनको असमायिक निधनको खवरले युरोपको नेपाली समुदाय नै शोकमग्न बनेको छ।सामाजिक सञ्जालमा धेरैले उनको मृत्युमा दु:ख व्यक्त गरेका छन्।

अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) ग्लोबल समितिका अध्यक्ष कमला दाहालले समवेदना प्रकट गरेकी छिन्। “उहाँको असामयिक निधनले कला क्षेत्र र इनासलाई अपूरणीय क्षति पुग्नुका साथै यस संस्थाले एक कर्तव्यनिष्ठ, प्रतिवद्ध, संस्था प्रती समर्पित एक असल मित्र गुमाएको छ। नेपाली कला क्षेत्र प्रतिको कार्यमा यहाँको निष्ठा,अतुलनीय योगदान सदैव उच्च बनेर मन मुटु र इनासका अनन्त जीवनकालसम्म अजर अमर बनेर रहिरहनेछन्।”

इनास ग्लोबल समितिका संस्थापक अध्यक्ष पुष्प बरुवालले दुखद र अकल्पनीय क्षण भएको बताएका छन्।“वास्तवमै शून्यता महसुस। आफ्नै मुटुको धड्कन रोकिएको अनुभूति। खै कसरि विश्वास गरौं यो वास्तविकता ? तपाई हाम्रो मनमा हुनुहुन्छ। हाम्रो स्मृतिमा अमिट हुनुहुन्छ। मेरो प्यारो सन्त भाइ, तपाईको स्वर्गवास होस्।प्रिय मलिका बहिनी लगायत परिवारजनमा धैर्य धारण गर्ने क्षमता मिलोस।” उनले लेखेका छन्। 

एनआरएन डेनमार्कका अध्यक्ष रविन्द्र खड्काले कला -सॉस्कृतिक क्षेत्रको धरोहरलाई गुमाउदा डेनमार्कको नेपाली समुदायलाई स्तब्ध तुल्याएको बताएका छन्।“उहॉको जीवनको असामयिक अवसानले हामी सबैलाई स्तब्ध तुल्याएको छ।साथै नेपाली कला र संस्कृतिको फॉटमा अपुरणीय क्षति पुगेको छ।उहाँप्रति चिरस्मरण गर्दै अपार सम्मानका साथ भावपुर्ण श्रद्वासुमन अर्पण गर्न चाहन्छौ साथै अनन्त पिडा र वेदनामा रहनु भएकी स्व थापा मगर ज्यू की अर्धागिंनी श्रीमती,नाबालक छोरी सहित शोक सन्तप्त परिवारजनमा तथा आफन्तहरु प्रति गहिरो समवेदना प्रकट गर्दछौँ ।”  

इनास युरोप उपसंयोजक प्रकाश तिवारीले दुख ब्यक्त गर्दै समाजिक संजालमा लेखेका छन्। “हजुरलाई अचानक रोग लाग्यो उति बेलै डर लागेको थियो तर पनि आशा थियो उपचारको प्रक्रिया लामो नै भए पनि बिस्तारै ठिक हुनेछ। हामी पुनः भेट्नेछौं र भावी योजनाका बारेमा पनि छलफल गर्नेछौं । तर तपाईसंगको सहकार्य र संगत यति नै लेखेको रहेछ सन्त जी हजुरको आत्माले शान्ति पाओस्।तपाईसँग बिताएका रमाइला पलहरु झलझली सम्झिरहेको छु। हार्दिक श्रद्धाञ्जली ! ” 

स्वर्गीय मगरको शवलाई अत्येष्टिका लागि नेपाल लैजाने तयारी थालिएको उनि निकट स्रोतले जनाएको छ।