बसन्त रानाभाट ,बार्सिलोना । कोरोना भाइरस (कोभिड–१९) को महामारीका कारण युरोप संकटग्रस्त छ। पछिल्लो क्रममा युरोपेली मुलुकहरु झनै यसको चपेटोमा फसेका छन् । युरोपमा इटालीबाट यो महामारीको झिल्को बल्यो । अन्तत: इटालीजस्तै स्पेन, फ्रान्स, जर्मनी, स्वीटजरल्याण्ड, बेल्जियम, पोर्चुगललगायतका देशहरू अहिले कोरोना महामारीको संकटसँग जुधिरहेका छन् ।
झण्डै पूरा युरोप नै लकडाउनको अवस्थामा छ । एउटा मुलुकको एक शहरबाट अर्को शहरमा जान, एउटा क्षेत्रबाट अर्को क्षेत्रमा पुग्न वा एउटा प्रान्तबाट अर्को प्रान्तमा पुग्ने कुरा त छाडौँ घरबाहिर निस्केर अत्यावश्यक सामान लिन पनि मानिसहरूमा त्रास देखिन्छ ।
युरोपमा बेलायतपछि सबैभन्दा बढी नेपालीहरुको बसोबास पोर्चुगलमा रहेको ठानिन्छ । अनुमानित २० देखि २५ हजारसम्म नेपालीहरू बसोबास गर्दै आएको त्यहाँका नेपाली समुदायका अगुवाहरुको दाबी छ । पूरा युरोप नै ठप्प भएको अवस्थामा पनि १० हजारभन्दा बढी नेपाली कृषि क्षेत्रमा अहिले पनि काम गरिराखेका छन् ।
त्यहाँस्थित नेपालीहरुको अवस्था बुझ्नका लागि बिहीबार साँझ भर्चुअल लाइभ बहस गरेका थियौं । बहसमा नेपाली समुदायका अगुवाहरुले बोल्दै त्यहाँस्थित नेपालीहरुको भविष्यबारे चिन्ता प्रकट गरेका छन् । हामीले बहसमा उठेका जिज्ञासाहरु पोर्चुगललाई समेत हेर्दै आएको फ्रान्सस्थित नेपाली राजदूत दीपक अधिकारीलाई समक्ष पनि राखेका थियौँ । प्रस्तुत छ, कुराकानीको सम्पादित अंश :-
‘केही नेपालीमा कोरोना संक्रमण भएको छ’
तिलक गैरे, अध्यक्ष एनआरएनए पोर्चुगल

पोर्चुगलमा पनि केही साथीहरु कोभिड- १९ बाट संक्रमित हुनुभएको छ। कतिजना संक्रमित छन् भन्नेबारे हामीले सोधखोज गरिरहेका छौँ । यसका लागि क्षेत्रीय कमिटीहरुसँग समन्वय भइरहेको छ । बिहीबार साँझसम्म ११ जना संक्रमित नेपालीहरु छन् ।
कतिपय हुँदै नभएका घटनाहरु बाहिर आउँदा झन् साथीहरु त्रसित भएको अवस्था पनि छ । संक्रमित साथीहरु सम्पर्कमा आउन चाहनुहुन्न। चेतनाको अभावले पनि हुनसक्छ।
तपाईंको आफ्नै पनि कम्पनी छ, कोभिड-१९ को प्रकोपसँगै कृषि कामदारको अहिलेको अवस्था कस्तो छ ?
मानौं, ५५ जनाले यात्रा गर्ने एउटा बस छ भने अहिले एक तिहाइ अर्थात् १८ जनामात्र कामदारहरु चढ्न पाउँछन्। ५ सिटको गाडी छ भने पनि दुई जनाले मात्र यात्रा गर्न सक्छन् । मैले जोखिम नै छैन भनेर भन्न सक्तिन । तर, सरकारका नियमहरु कम्पनीहरुले पालना गर्नुपर्दछ । त्यसो गरेमा अलिकति जोखिम कम हुन सक्छ ।
मेरो कम्पनीमा नेपाली साथीहरु एकदमै न्यून संख्यामा २-४ जनाले मात्र काममा गरिराख्नुभएको छ । सरकारले बन्द गरेको खण्डमा खेतीको काम स्वत: बन्द नै हुन्थ्यो । तर, दैनिक उपभोग्य सामानहरु उत्पादनको क्षेत्रमा सरकारले त्यस्तो घोषणा गरेको छैन । सुरक्षित बन्नका लागि नियमहरुको पालना गर्नुपर्दछ ।
१०- १२ हजारको संख्यामा खेतीमा जोखिम मोलेर काम गरिरहेका नेपालीबारे दूतावासलाई जानकारी छ ?
यो विषयमा राजदूतसँग कुराकानी गरेको थिएँ । यहाँको सम्बन्धित निकायलाई पनि जानकारी गराएको छु । कतिले डराएर काम गर्नु भएको छैन । जसले काम गरिरहनुभएको छ, उहाँहरूलाई सतर्कता अपनाउन अनुरोध गर्दछु । हामीले पनि कसरी सुरक्षित बन्नेबारे चेतनामूलक कार्यक्रमहरु ल्याउँदै छौँ।
कृषि क्षेत्रमै उच्च जोखिमको काम हुन नसकेपछि एजेन्ट कम्पनीले, नेपालीलाई भाडा तिर्न भनेका छन् भन्ने सुन्नमा आएको छ । यदि तिर्न नसक्ने भए कम्पनीबाट निकालिदिने गुनासोसम्म आएको सुनिन्छ नि !
केही कम्पनीहरुले त्यो कुरा गरेका छन् भन्ने जानकारीमा आएको थियो । मैले उनीहरुसँग कुरा गरिसकेँ । अहिले लिस्वनभन्दा बाहिर कृषिसम्बन्धी कम्पनीमा काम गर्न नेपालीहरु जान सक्ने अवस्था छैन । भारतीय, पाकिस्तानी, बंगलादेशी कामदार बढी छन् । ती समस्याको समाधान भइसकेका छन् ।
सरकारले दिने सामाजिक सुरक्षा प्राप्त गर्नबाट नै नेपालीहरु बन्चित भएको पनि सुनिन्छ नि !
यहाँ ले अफ र फुन्दो दुई वटा कुरा महत्वपूर्ण छन् । फुन्दो भनेको कम्पनी मालिकले अब मसँग काम छैन भनेर निकालिएको लिखत हो । कुनै पनि मालिकले कामबाट निकालेको ९० दिनभित्रमा निवेदन दिन सकिन्छ ।
ले अफ अर्को पाटो भयो । जुन कम्पनीले काम हुँदाहुँदै कोभिड-१९ को कारण बन्द भएको छ, कम्पनीले कामबाट निकालेको छैन भने ७० प्रतिशत सरकारबाट र ३० प्रतिशत कम्पनीबाट कामदारलाई रकम दिनुपर्छ ।
तर तपाईले भनेजस्तो नेपाली व्यवसायी लगायत एसियन कम्पनीहरुले सो सामाजिक सुरक्षाको योजनाबाट नेपालीहरुलाई वञ्चित गराएकोबारे सम्पूर्ण विवरण अहिलेसम्म आइसकेको छैन । तर, एक दुई जना साथीहरुले चिनियाँ कम्पनीले त्यसो गरेको भनी खबर गर्नुभएको थियो । त्यसबारेमा मैले तुरुन्त सम्पर्क गरेर कानुनी प्रक्रियासम्म जान सक्नेभन्दै सचेत गराएको थिएँ ।
कृषिक्षेत्रमा अहिले पनि काम चलिरहेको छ । यस्ता कम्पनी बन्द भएका छैनन् । सरकारले पनि बन्द गर्ने घोषणा गरेको छैन । त्यो बाहेक अन्य व्यवसाय बन्द छन् । यदि कसैले ले अफ दिन्न भनिरहेका छन् भने आवश्यक कानुनी पहल गर्न हामी तयार छौँ।
तत्काल एनआरएनले के गरेको छ ?
यो अवस्था अझै लम्बिनसक्ने मैले देखेको छु । मैले राजदूतसँग पनि यस विषयमा छलफल गरिसकेको छु । भोलि भयावह स्थिति आयो । भेदभाव हुनसक्ने अवस्था आयो । जस्तो पोर्चुगल सरकारले आफ्नो नागरिकलाई हेर्ने र नेपालीलगायत आप्रवासीलाई हेर्ने दृष्टिकोणमा फरक आयो भने नेपाल सरकारले आफ्ना नागरिकप्रति जिम्मेवार बन्नुपर्छ भन्नेबारे पनि मैले जानकारी गराएको छु ।
अहिले तत्काललाई हामीले राहत बाँडिरहेका छौँ । तर यो अवस्था महिनौं लम्बिँदै जाँदा निरन्तरता दिन पनि अप्ठ्यारो पर्नसक्छ । हालसम्म दुई सय १० जनालाई खाद्यान्न वितरण गरेका छौँ । तर दीर्घकालीन सोचका लागि हामीले छलफल गर्दैछौँ । यहाँको राज्यबाट प्राप्त हुने सुविधाबारे पनि नेपाली समुदायलाई सूचित गराउने छौँ ।
‘नेपालीको अवस्था पीडादायी छ’
योगेन्द्र मिलन छन्त्याल, संयोजक, नेपाल पत्रकार महासंघ पोर्चुगल शाखा

पोर्चुगलमा बडो दु:खद् अवस्था छ । वाणिज्य दूतावासले नेपालीहरु कहाँकहाँ समस्यामा परेका छन् खोजी गर्नुपर्ने हो । मानौं त्यो संस्था निष्क्रिय भयो भने एनआरएनएले पोर्चुगलले यस्ता विवरण खोज्नुपर्ने हो । तर, यी काम भएको छैन । मेरो जानकारीमा आएसम्म पोर्चुगलमा हालसम्म १९ जना नेपाली संक्रमित भएका छन् ।
कम्पनीहरुका कारण धेरैजना नेपाली पोर्चुगल सरकारले दिने सामाजिक सुरक्षा योजनाबाट वञ्चित छन् । त्यस्ता २०-३० वटा घटनाको जानकारी आएको छ । नेपाली, भारतीय, चिनियाँ रेष्टुरेन्टहरुले म आफैँ स्वेच्छाले काम छाड्छु भन्ने कागज बनाइदिएर नेपाली कामदारलाई धपाइदिएका छन् ।
नेपाली व्यवसायीहरुबाट पनि यस्तो काम भएको छ । न फुन्दो पाउँछ, न ले अफका लागि प्रक्रिया गर्न पाउँछ । कामदारको अधिकार खोसिएको छ । त्यसैले नेपाली वाणिज्य दूत र एनआरएनए पोर्चुगल चनाखो हुनुपर्छ । पीडितलाई कानूनी रुपमा सहयोग गर्न जरुरी छ ।
कृषि क्षेत्रमा काम गर्ने केही नेपाली कामबाट निकालिएको जानकारी आएको छ । अझ कतिपय नेपालीहरु भर्खर आएका छन् । एक सय जना नेपाली होस्टलमा छन् । उनीहरुले कति रकम लिएर आएका थिए, त्यो सकिन लागेको हुन सक्छ । पैसा सकियो भने नेपालबाट मगाउन गाह्रो पर्छ । खानाबस्न नै समस्या हुने प्रबल सम्भावना देखिन्छ । पोर्चुगलमा नै बसेर काम गर्नेले पनि बैङ्क खाता खोल्न सक्दैन ।
खेतीको काममा सम्झौताविना काम गरिरहेकाहरु पनि छन् । यहाँ थुप्रै नेपालीलाई दलालहरुले ल्याएर घरमा थुनेर राखेको छ । काम लगाउने, सम्झौतापत्र बनाउने त कुरै भएन । बिचौलियाहरुले कामदारलाई दबाबमा राखेका छन् । सबै विवरण सार्वजनिक भए, पेपर प्रोसेस नै सिध्याइदिन्छु भन्ने डर धम्की दिन्छन् । त्यसैले उनीहरु डराएर घटना बाहिर ल्याउन चाहँदैनन् ।
‘कम्पनीले कामबाट निकाले खबर गर्नुहोस्’
कमल भट्टराई, निर्देशक, इन्टरकल्चरल एसोसिएसन लिस्वन निहाल्फ़

कोभिड -१९ को प्रकोपको अवस्थामा अहिले पोर्चुगल सरकारको मन्त्रिपरिषदले नै यहाँ रेगुलर हुनका लागि आवेदन दिएकाहरुको आवेदन स्वीकृत गरिसकेको छ । मार्च १८ देखि पेपर नभएका नेपाली लगायत आप्रवासीहरुका लागि राज्यको सुविधा पाउनेबारे ग्यारेन्टी गरेको छ ।
तिनीहरुलाई समेत यहाँको राज्यले स्वास्थ्यलगायत अन्य नागरिकले पाउने सुविधा, सामाजिक सुरक्षामा समेत सहयोग पाउने उनीहरुको अधिकारलाई कानुनी रुपले स्थापित गरेको छ ।
जसले आफ्नो कम्पनीमा काम गरिरहनुभएको छ उहाँहरुलाई केही समस्या हुँदैन । तर, जसको काम छैन वा रोकिएको छ, त्यसको लागि म दुईवटा जानकारी दिन चाहन्छु । एउटा, कम्पनीको मालिकसँग कुरा गरेर राज्यले उपलब्ध गराउने सुविधाको बारेमा छलफल गर्नुहोस् । दोस्रो कुरा, बलजफ्ती कसैले कम्पनीको कामबाट निकालिदिएमा डिस इम्पेग्रो र सोसल अफिसमा जानुहोस् ।
यहाँको भाषामा लेखिएको फर्महरुमा आफ्नो डिटेल भर्नुहोस् । त्यसको तल आफ्नो मनमा लागेका कुराहरु लेख्ने ठाउँ पनि राखिएको छ। पोर्तुगाली भाषामा लेख्न जान्नुहुन्न भने अंगेजीमा भए पनि लेख्नुहोस् । त्यो दुई ठाउँमा जानकारी गराउनुहोस् । सुविधा नदिई बलजफती निकाल्ने कम्पनीसँग यहाँको सरकारले कुरा गर्न सक्छ वा त्यो अवस्थामा हामीले पनि कुरा गर्न सक्छौँ ।
‘नेपालीहरुको आधिकारिक तथ्यांक छैन’
मोहनकुमार थापा, प्रतिनिधि, अवैतनिक वाणिज्य दूतावास लिस्वन

कन्सुलर कार्यालयमा आधिकारिक जानकारी छ यहाँ कृषि क्षेत्रमा काम गर्ने नेपालीहरु कति छन् ?
त्यस्तो आधिकारिक तथ्यांक छैन ।
तपाईंको अनुमानमा सिजनल भिसामा कम्पनीहरुले ल्याएका कामदार कति छन् ?
कृषिका लागि कम्पनीले सिजनल काममा लागि ल्याएका कामदारहरु संख्या हजार, १५ सय जति छ जस्तो लाग्छ । तर, यो यकिन तथ्याङ्क होइन । खेतीको काममा पुग्ने दुई किसिमका हुन्छन् । एउटा कम्पनीले नै सिजनल वर्कर भनेर ल्याएका र अर्को अन्तबाट आएर खेतीको काममा जानेहरु ।
अनुमानित रुपमा पोर्चुगलमा कृषिक्षेत्रमा नै काम गर्ने नेपालीहरु कति छन् ?
१२ देखि १५ हजारसम्म रहेको अनुमान छ ।
कोभिड-१९ को जोखिमपछि पनि सबैले काम गरिराखेका छन् ?
एनआरएनका साथीहरुले त्यहाँको काम रोक्न पहल गरिदिनु पर्यो भन्ने सुझाव पनि दिनुभयो । हामीले साथीहरुको सुझावअनुसार यहाँस्थित सम्बन्धित निकायमा जानकारी पनि गरेका थियौँ। तर, रोकिने अवस्था रहेन । मैले स्थानीय निकायमा लेखेको इमेल त्यहाँका साथीहरुलाई पनि पठाएको छु । घरमा बसेर पनि के गर्ने ? भन्दै धेरैजसोले काम गरिराख्नुभएको छ । तर, कतिपय भने डराएर जानुभएको छैन ।
‘यतिबेला बाँच्ने बचाउने कुरा नै मुख्य हो’
दीपक अधिकारी, राजदूत, नेपाली राजदूतावास पेरिस, फ्रान्स
पोर्चुगलको कृषि क्षेत्रमा ठूलो संख्यामा नेपालीहरु काम गरिरहेको कुरा मैले पनि सुनेको छु । पहिलो, खेतीमा काम गर्दा त्यस्तो क्लोज कन्ट्याकमा काम गर्नु परेन । दोस्रो कुरा, अहिले सबैतिर कामविहीन भएर बस्नुपरेको अवस्थामा पोर्चुगलमा धेरै नेपालीहरुले काम गरिराख्नु भएको छ । यसको उज्यालो पाटो भनेको बेरोजगार बस्नु परेन।
उहाँहरु कसरी काम गरिराख्नु भएको छ, त्यो मैले देखेको छैन । यो तर्कको कुरा मात्र पनि भयो । तर, काम गर्दा स्थानीय प्रशासनले जारी गरेको नियमलाई पूर्ण रुपमा पालना गर्नुपर्छ । त्यति धेरै चिन्तित नै हुनुपर्ने हो जस्तो त मलाई लाग्दैन । यहीँ फ्रान्समा पनि कृषि मन्त्रीले खेतीमा काम गर्न जनशक्तिको अभाव भएको बताउनुभएको छ ।
फ्रान्स, स्पेन वा पोर्चुगल जहाँसुकै पनि कृषि बन्द भयो भने त बजारमा खाद्यान्न नआउने भयो । भोकमरीको अवस्था आउन सक्छ । अर्को कुरा संक्रमणको जोखिमको विषयमा पोर्चुगल सरकार निकै सतर्क छ भन्ने लाग्दछ ।
पोर्चुगल सरकारले रेसिडेन्सी कार्ड नभएका आप्रवासीहरुलाई सहज बनाएको हो ?
पोर्चुगलले खुल्ला ह्रदयले कुटनीतिक नोट लेखेर चिट्ठी पनि पठाएको छ । पोर्चुगिज सरकारले १३ मार्च २०२० मा गरेको निर्णयानुसार पोर्चुगलमा बस्ने अनुमति प्रदान गरेका कागजात वा भिसाको म्याद २४ फेब्रुअरी २०२० पछि समाप्त भएको भए ती कागजात वा भिसा ३० जुन २०२० सम्म स्वत: वैध मानिनेछन् ।

पोर्चुगिज सरकारले २८ मार्च २०२० मा गरेको अर्को निर्णयानुसार १८ मार्च २०२० भित्र पोर्चुगलमा बसोबासको लागि निवेदन दिने सबै विदेशी नागरिकलाई १ जुलाई २०२० सम्म अस्थायी बसोबासको अधिकार प्रदान गरेको छ । यसबाट आवास अनुमतिको लागि आवेदन गर्नेहरूले सामाजिक सुरक्षा, स्वास्थ्य सुरक्षा र बैङ्क एकाउण्ट सम्झौता, रोजगारसम्बन्धी सम्झौता र घर भाडा सम्झौता नवीकरणको सुविधा १ जुलाई २०२० सम्म प्राप्त गर्ने छन् ।
पोर्चुगलमा संक्रमित नेपालीहरुको यकिन विवरण दूतावाससँग छ ?
फिल्डमा भएको दूतावास भएको भए एउटा कुरा हुन्थ्यो । उहाँहरुसँग नजिक भएर काम गर्न पाइन्थ्यो । अहिले त फोनको माध्यम मात्रै हो । कोही संक्रमित भएर उपचारमा हुनुहुन्छ भने घटना बाहिर नआओस् म ठिक भइहाल्छु भनेर बाहिर नल्याएको हुन सक्छ ।
कन्सुलेटमा आजपनि कुराकानी गरेको थिएँ । त्यहाँको परराष्ट्र मन्त्रालयको मान्छेसँग उहाँहरु सम्पर्कमा हुनुहुन्छ । नेपालीहरुको यकिन तथ्यांक दिनुहोस् भनेर उहाँहरुले परराष्ट्र मन्त्रालयसँग अनुरोध गरिसक्नुभएको छ । सकेसम्म एउटै तथ्यांक भएमा समुदायलाई राम्रो सूचना पुग्दछ । कन्सुलेट र एनआरएनले संयुक्त रुपमा के बुझ्नुहुन्छ त्यसलाई नै हामीले आधार मान्ने हो। त्यसमा पनि कसलाई कुन स्रोतबाट के जानकारी आयो भन्ने विषय महत्वपूर्ण हुन्छ ।
तर, कन्सुलेट र एनआरएनएबीचको तथ्यांक फरक छ नि ?
त्योचाहिँ उहाँहरुसँग फेरि भेरिफाई गरौँला । तर, कन्सुलेटको भनाइ के छ भने आधिकारिक यो हो भन्ने नभएसम्म हामी आफैँले व्याख्या गरेर संक्रमित भन्ने कि नभन्ने ? मैले वाणिज्य दूतसँग कुरा गर्दा अलिकति बढी ६-७ जना संक्रमित भएको भन्ने पनि छ । तर हामीले व्याख्या गर्ने हो कि ? कन्फर्म नभई कसरी भन्ने ?
उहाँहरु आफैँले मलाई यस्तो भएको हो । डाक्टरले टेष्ट गर्दा पोजेटिभ देखियो नभनेसम्म बोल्न ग्राहो हुन्छ वा त्यहाँको परराष्ट्रको तथ्यांकलाई हामीले कुर्नुपर्ने हुन्छ। अर्कोकुरा कन्सुलेट र एनआरएनएसँगै काम गरौँ भन्ने मानसिकतामा देखिनुहुन्छ । अब छिट्टै केही तथ्य आउला । हामीहरुले बुझेअनुसार संक्रमितमध्ये कोही पनि त्यस्तो जोखिममा हुनुहुन्न ।
संकटको अवस्था लम्बिदै जाने हो भने त पोर्चुगलमा खान बस्नमा नै समस्या देखिने अगुवाहरुको आकलन छ । त्यसमा दूतावासले के गर्न सक्छ ?
हामी सबैले बुझेका छौँ विदेशमा रहेका नेपालीहरु संख्या धेरै नै ठूलो छ। खाडी क्षेत्रका रोजगारीमा पुगेका कामदारहरुदेखि लिएर पढ्न गएका विद्यार्थीहरुसम्म ठूलो संख्या छ । तर, यो संकट अचानक आइलाग्यो । कसैको पनि पूर्व तयारी छैन। कसरी सम्हालिने भन्नेबारे सबैलाई कठिन छ । औषधि उपचार, बाँच्ने र बचाउने कुरा प्राथमिकतामा हुन्छ।
अहिले पोर्चुगल, फ्रान्समात्र भन्ने कुरा भएन । युरोपमात्र भन्ने कुरा भएन । समग्र रुपमा देशभित्र र बाहिर रहेका सबै नेपालीहरुलाई हेर्नुपर्ने हुन्छ । यो कठिन क्षणमा एकले अर्कालाई सहयोग गरौँ । नेपाल सरकारले केही गर्नुपर्ने देखिएमा दूतावास स्वत: अघि आइहाल्छ । दूतावासले पनि कहिल्यै नभोगेको स्थिति भयो । यो बेलामा धैर्य गरौँ, संयमित बनौँ।
खेतीको कामका लागि बिचौलियाहरुले मोटो रकम लिएको र नेपालीहरु ठगिएका घटनाबारे दूतावास जानकार छ ?
दूतावासले पोर्चुगलमा कामदार ल्याउने भनेर अहिलेसम्म श्रमिक मागपत्रहरु प्रमाणित गरेको छैन । तपाईंले भनेको जस्तो हामीले पनि सुनेका छौँ। तर, दूतावासले कागज प्रमाणीकरण नगरेको हुनाले के शर्तमा कसरी भिसा लगाएर आउनुभयो भन्ने जानकारी छैन। मोटो रकम तिरेर आउनुभएको छ भन्ने अनौपचारिक रुपमा सुनेका छौँ।
मलाई यस्तो भयो भनेर कसैले पनि दूतावासमा निवेदन दिनुभएको छैन । ठगियो वा यस्तो भयो भनेर दूतावासमा निवेदन आयो भने त्यसबारे छानबिन गर्न वा कानुनी कारबाहीका लागि नेपाल सरकारलाई सिफारिस गरेर पठाउछौँ ।
अहिलेसम्म दूतावासमा एउटा पनि त्यस्तो निवेदन छैन । म के निवेदन गर्दछु भने यदि तपाईं आउने प्रक्रिया वा अन्य सिलसिलामा कोहीसँगबाट ठगिनुभएको छ भने दूतावासमा निवेदन दिनुहोस् । तबमात्र आधिकारिक रुपमा कारबाही गर्ने आधार बन्दछ ।

‘नेपालीलाई आवश्यक सबै सहयोग गर्छौँ’
अनिल शर्मा, अध्यक्ष एनआरएनए अल्गाभ क्षेत्रीय समिति
अल्गाभ क्षेत्रमा अनुमानित पाँच हजार नेपाली छन् । यो क्षेत्रमा दुई जनामा कोरोना संक्रमण देखिएको सुनिन्छ । यस विषयमा थप जानकारी लिने काम भइरहेको छ ।
बिरामीलाई अस्पताल लैजानुका अलावा अन्य कुनै पनि किसिमको सहयोगका लागि हामी तयार छौँ। कोही नेपाली संक्रमित भएको शंका लागेमा सम्पर्क गर्न अनुरोध गर्दछौँ। हामीले स्थानीय निकायसँग पनि समन्वय गरिरहेका छौँ ।