एनआरएन स्पेनमा पहिलो पटक चुनाव हुँदै,अध्यक्षमा सापकोटा र गुरुङको भिडन्त  


अध्यक्ष पदका प्रत्यासीहरु, सापकोटा (बाँया) र गुरुङ (दायाँ)

बार्सिलोना/ गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद स्पेनको ईतिहासमा नै पहिलो पटक चुनाव हुने भएको छ। यस अघिका चार बटा अधिबेशनहरुमा सर्बसम्मत कार्यसमिति चयन हुँदै आएको भए पनि यस पटक भने चुनाव हुने लगभग पक्का भएको हो।

उमेद्वारी फिर्ता गर्ने अन्तिम दिन आईतबार सम्म पनि अध्यक्ष पदका लागि दुई जनाले दावी नछोडे पनि मतदान हुने भएको हो। अध्यक्ष बाहेक उपाध्यक्ष र सचिव पदका लागि पनि चुनाव हुँदै छ।

अध्यक्षमा गुरुङ र सापकोटा भिड्दै,तीन संगठन बीच सहमति

अध्यक्ष पदका लागि संघका संस्थापक सदस्य चिन्तामणि सापकोटा र बर्तमान कार्यसमितिका उपाध्यक्ष गौतम गुरुङ भिड्ने भएका छन्। नेपाली जनसम्पर्क समिति स्पेनमा संस्थापक अध्यक्ष समेत रहेका सापकोटालाई प्रबासी नेपाली मञ्च स्पेन र नेपाली जनप्रगतिशील मञ्च स्पेनले समर्थन गर्ने सहमति भएको छ। त्यसैले जनप्रगतिशील मञ्च स्पेनका तर्फबाट अध्यक्षका प्रत्यासी अर्जुन आचार्यले उमेद्वारी फिर्ता लिए।

यता गुरुङ भने राजनीतिक संगठनको समर्थन बिना नै स्वतन्त्र रुपमा अध्यक्षमा चुनाव लड्ने बताउँदै आएका छन्। राजनितिक संगठनले सहमति गरेर एनआरएन स्पेनको सर्बसम्मत कार्यसमिति बन्ने परम्परा गौतमको उमेद्वारी सँगै तोडिएको छ।स्रोतका अनुसार गुरुङलाई तमु समाज स्पेनले खुलेर समर्थन गर्दै छ।

तीन संगठनको सहमति अनुरुप नै प्रबासी नेपाली मञ्चको तर्फबाट मुक्त बहादुर गुरुङ अन्तराष्ट्रिय समन्वय परिषद सदस्यमा निर्बिरोध भएका छन्। गुरुङ राष्ट्रिय समन्वय परिषद स्पेनका बर्तमान अध्यक्ष समेत हुन्। यस्तै जनप्रगतीशिल मञ्च स्पेनको तर्फबाट महासचिवमा कृष्ण प्रसाद भुसाल र कोषाध्यक्षमा बिशाल ढुंगाना निर्बिरोध भएका छन्।

दुई खुल्ला उपाध्यक्षमा रोशन पाठक,सुनिल रानाभाट,दिलनाथ भण्डारी र पेशल कुमार कोईरालाको उमेद्वारी भने यथाबत नै रहेको छ। यस्तै सचिवमा दिनेश कुमार गिरी ,तारानाथ अधिकारी र लोकबन्धु बस्नेत भिड्दै छन्। उपाध्यक्षमा कोईराला र रानाभाटलाई तथा सचिवमा अधिकारी र बस्नेतलाई समर्थन गर्ने तीन संगठनको सहमति बनेको स्रोतले बताएको छ।

अन्य निर्बिरोध को -को बने ?

निर्बाचन समितिले प्रकाशित गरेको सूचना अनुसार महिला उपाध्यक्षमा सीता सिंह महर्जन, युवा संयोजकमा रामचन्द्र पौडेल र महिला संयोजकमा ऋतु ढुंगाना रेग्मी निर्बिरोध बनेका छन्।

यस्तै कार्यसमितिको सदस्यहरुमा प्रकाश तिमिल्सिना,सन्तोष पौडेल,किरण चालिसे(प्रकाश),ज्ञान बहादुर बस्नेत,नेहा शर्मा कडेल,उमेश पुरी,सानु राउत,हिरालाल सापकोटा(डायमण्ड),सरोज कंडेल,टिकाराम कंडेल(शास्त्री) र पशुपति कडेल निर्बिरोध चयन भएका हुन्।

मतदान कहिले ?

संघको अधिबेशन आगामी जुलाई २३ तारिख बार्सिलोनामा हुँदै छ। २१ तारिख क्षेत्रीय मतदान केन्द्रमा र २३ तारिख केन्द्रिय मतदान केन्द्रमा मतदान हुने निर्बाचन कार्यतालिकामा उल्लेख छ।