ब्रसेल्समा प्या‌रिस हमलाका मुख्य सन्दिग्धको औंला छाप फेला


बीबीसी / बेल्जियमका अधिकारीहरुले उनीहरुले ब्रसेल्सस्थित एउटा फ्ल्याटमा गत महिना छापा मार्दा प्या‌रिस हमलाका एकजना मुख्य सन्दिग्धको औंला छाप तथा बम बनाउने सामग्री फेला पारेको जनाएका छन्।बेल्जियमको शायरविक जिल्लास्थित एउटा अपार्टमेन्टमा प्रहरीले विष्फोटक पदार्थका अवशेष र सलाह अब्देसलामको औंला छाप फेला पारेका थिए।

अधिकारीहरुले गत नोभेम्बर महिनामा प्यारिसमा गरिएको हमलाको एकदिन पछि उनी त्यहाँ छोटो समयकालागि लुकेको हुनसक्ने ठानेका छन्। र हातैले बनाइएका तीनवटा आत्मघाती पेटीहरु पनि पाइएको थियो। प्यारिसमा इस्लामिक स्टेटसंग संबद्ध आत्मघाती हमलाकारीहरुले गरेको हमलामा एकसय तीसजनाको ज्यान गएको थियो

आफ्नो नाम ढाँटेर सो अपार्टमेन्ट भाडामा लिइएको अधिकारीहरुले जनाएका छन्।
प्यारिसका लोकप्रिय क्याफे, रेष्टुरेण्ट र रङ्गमन्चमा इस्लामिक स्टेटसंग संबद्ध आत्मघाती हमलाकारीहरुले गरेको हमलामा एकसय तीसजनाको ज्यान गएको थियो।
२६ वर्षीय अब्देसलामको प्रहरीले अझै खोजी गरिरहेका छन्। ब्रसेल्समा जन्मिएका उनी फ्रान्सेली नागरिक हुन्।

हमला पछि उनी मोटरमा आफ्ना साथीहरुसंग सीमा पार गरी ब्रसेल्स फर्किएको ठानिएको छ। हमलाकै दिन बेल्जियम नजीकै फ्रान्सेली प्रहरीले अब्देसलाम र अन्य दुईजना सवार मोटरलाई रोकेका थिए। तर सामान्य सोधपुछ पछि उनीहरुलाई जान दिइएको थियो। अब्देसलामले हमला अघि दुईवटा मोटरहरु भाडामा लिनुकासाथै प्यारिस बाहिरको एउटा होटलमा दुईवटा कोठा पनि रिजर्भ गरेका थिए।

अर्को हमलाकारी अब्देसलामको भाइ ब्रहिमले आफ्नै शरीरमा विष्फोट गराएको थियो।
अधिकारीहरु प्यारिस हमलाको आंशिक योजना ब्रसेल्समा तयार गरिएको ठान्दछन्।
बेल्जियमका प्रहरीले सोधपुछकालागि दशजनालाई पक्राउगरेका छन्। ती मध्ये एकजना मोहम्मद हम्जा एतु हुन्, जसले अब्देसलामलाई प्यारिसबाट ब्रसेल्स मोटरमा ल्याएको ठानिएको छ भनी बीबीसीले समाचारमा उल्लेख गरेको छ।