चिनियाँ राष्ट्रपतिले नेपाल भ्रमण गर्ने संकेत


हङकङ, भाद्र १७ – चीनले दुवै मुलुकको अनुकूल समय पारेर राष्ट्रपति सी जिनपिङले नेपाल भ्रमण गर्ने संकेत गरेको छ। सेप्टेम्बर दोस्रो सातादेखि हुने भारत, पाकिस्तान र श्रीलंकाको भ्रमणबारे जानकारी दिन आयोजित भेटमा चिनियाँ अधिकारीहरूले त्यस्तो संकेत गरेका हुन्।

राष्ट्रपतिको पदभार सम्हालेपछि सीले पहिलो पटक दक्षिण एसियाली मुलुकहरूको भ्रमण गर्न लागेका हुन्। चिनियाँ परराष्ट्र मन्त्रालय दक्षिण एसिया महाशाखाले गत बिहीबार सम्बन्धित मुलुकका दूतावास अधिकारीहरूबीच भेटघाट आयोजना गरेको थियो। उक्त भेटमा चीनले राष्ट्रपतिको सम्भावित नेपाल भ्रमणबारे समेत ध्यानाकर्षण गराएको हो।

छलफलमा नेपाली दूतावासका तर्फबाट राजदूत महेश मास्के र काउन्सिलर रामप्रसाद सुवेदी सहभागी थिए। चीनले सोमबार रातिसम्म भ्रमणको औपचारिक घोषणा भने गरेको छैन। केही महिनाअघि राष्ट्रपति रामवरण यादवले समकक्षी सीलाई नेपाल भ्रमणको औपचारिक निम्तो पठाएका थिए। बेइजिङस्थित नेपाली दूतावासले उक्त निम्तो चिनियाँ उपविदेशमन्त्री ली झेनमिनमार्फत राष्ट्रपति सीलाई हस्तान्तरण गरेको थियो।

‘हाम्रा लागि सबै दक्षिण एसियाली मुलुकहरू उत्तिकै महत्त्वपूर्ण छन्, विशेष कारणवश यस पटक सबै देश भ्रमण गर्न सम्भव भएन,’ भेटमा सहभागी चीनका लागि नेपाली राजदूत महेश मास्केले चिनियाँ विदेश मन्त्रालयका अधिकारीको भनाइ उद्धृत गर्दै भने, ‘अनुकूलता हेरेर अरू मुलुकको पनि भ्रमण हुनेछ।’ चीनले सबै दक्षिण एसियाली मुलुकहरूसँग सहकार्य बढाउन चाहेको बताएको थियो।

हुन लागेका तीन मुलुकका भ्रमणका बखत कुनै ठूला सम्झौता भए समग्र क्षेत्रीय हितलाई प्राथमिकतामा राखिने चिनियाँ अधिकारीको भनाइ रहेको राजदूत मास्केले बताए।

चीनमा नयाँ नेतृत्व आएपछि नेपालले विभिन्न तहका छलफलमा उच्चस्तरीय भ्रमण हुनुपर्नेमा जोड दिँदै आएको छ। ‘हामी सन् २०१५ मा नेपाल-चीन कूटनीतिक सम्बन्धको ६० औं वर्षगाँठका अवसर पारेर दुवै मुलुकका तर्फबाट अति उच्चस्तरीय भ्रमण गराउने प्रयत्नमा छौं,’ राजदूत मास्केले भने, ‘यो अत्यन्तै महत्त्वपूर्ण मौका हुनेछ।’ उनले नेपालको निम्तोलाई गम्भीरतापूर्वक लिएकामा धन्यवाद व्यक्त गर्दै राष्ट्रपतिको भ्रमण हुने विश्वास व्यक्त गरेका थिए।

नेपाल र चीनबीच सन् १९५५ अगस्ट १ मा कूटनीतिक सम्बन्ध स्थापित भएको थियो। ‘अहिले नेपालको भ्रमण भएन भनेर अन्यथा नलिनु होला, दुवै मुलुकको अनुकूलता हेरेर छुट्टै भ्रमण हुनेछ भन्ने चिनियाँ पक्षको आशय थियो,’ दूतावासका काउन्सिलर रामप्रसाद सुवेदीले भने, ‘यो भ्रमणलाई क्षेत्रीय महत्त्वका रूपमा हेर्न चिनियाँ पक्षको आग्रह छ।’

सन् २०१५ भित्र चिनियाँ राष्ट्रपतिले नेपाल भ्रमण गर्न सक्ने बलियो सम्भावना रहेको समेत उनले बताए। बेइजिङस्थित नेपाली दूतावासले ६० औं वर्षगाँठलाई विशेष बनाउने योजनाअनुसार तयारी सुरु गरिसकेको जनाएको छ।

भारतमा लगानी प्याकेजको सम्भावना

चिनियाँ राष्ट्रपति सीले एकैसाथ तीन मुलुकको भ्रमण गर्ने भए पनि यो मुख्यतया भारत केन्दि्रत हुने ठानिएको छ। चिनियाँ प्रधानमन्त्री ली खछ्याङले गत मेमा पहिलो विदेश भ्रमण भारतबाटै सुरु गरेका थिए। मोदीको शपथग्रहण लगत्तै विदेशमन्त्री वाङ यीले राष्ट्रपतिका विशेष दूतका रूपमा भारत भ्रमण गरेका थिए। सीको भ्रमणका बखत भारतमा अर्बौं डलरको चिनियाँ लगानीसम्बन्धी बृहत् प्याकेज घोषणा हुने सम्भावना रहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। गत जुनमा दुवै मुलुकका वाणिज्यमन्त्रीबीच भारतमा ‘चिनियाँ औद्योगिक पार्क’ निर्माणसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भइसकेको छ। सीले यसको औपचारिक घोषणा गर्ने ठानिएको छ। यसबाट चीनसँगको व्यापार घाटा पूर्ति गर्न भारतलाई राहत पुग्ने बताइएको छ। भारतले सूचनाप्रविधि र औषधिका लागि चीनमा आफ्ना बजार खोल्नसमेत अनुरोध गर्दै आएको छ। नरेन्द्र मोदी सरकारले विशेष गरी आर्थिक र पूर्वाधार विकासका क्षेत्रमा चीनसँगको सम्बन्ध अझ प्रगाढ बनाउन चाहेको छ।

गतवर्ष दुई मुलुकबीच ६५.४७ अर्ब अमेरिकी डलरको दुईपक्षीय कारोबार भएकामा भारतले ३१.४२ अर्ब व्यापार घाटा बेहोरेको थियो। २०१४ को पहिलो तीन महिनामा चीन र भारतबीच २१.९८ अर्ब डलरको कारोबार भएकामा भारततर्फको व्यापार घाटा ८.८४ अर्ब उल्लेख छ। यो शीर्ष भ्रमण दुई मुलुकबीचको विशाल व्यापार घाटा कम गर्ने चिनियाँ योजनाको घोषणा, रेल नेटवर्क र यसको आधुनिकीकरण, सीमा विवाद लगायतमा केन्दि्रत हुने बताइएको छ। भ्रमणका बेला हुने विभिन्न आर्थिक मुद्दाहरूबारे छलफल गर्न भारतीय वाणिज्यमन्त्री निर्मला सीतारमन आइतबार बेइजिङ पुगेकी छन्।

सत्तामा आएपछि चिनियाँ राष्ट्रपति सी र भारतीय प्रधानमन्त्री मोदीबीच गत महिना ब्राजिलमा बि्रक्स सम्मेलनमा पहिलो भेट भएको थियो। चीन, भारत, रुस, ब्राजिल र दक्षिण अफ्रिका सम्मिलित विकासशील राष्ट्रहरूको समूह बि्रक्सले १ खर्ब अमेरिकी डलर पुँजीसहितको ‘बि्रक्स बैंक’ स्थापना गर्ने घोषणा गरेका छन्। चीनमा मुख्यालय रहने बैंकको पहिलो अध्यक्षता भारतले गर्नेछ। भारतले राष्ट्रपति सीलाई सेप्टेम्बर १७ र १८ मा आफ्नो मुलुक भ्रमण गर्न प्रस्ताव गरेको छ। यसअघि उनी सेप्टेम्बर १४ र १५ मा भारत भ्रमणपछि श्रीलंका र पाकिस्तान जाने योजना थियो। तर भारतीय राष्ट्रपति प्रणव मुखर्जी १४ देखि १७ सम्म भियतनाम भ्रमणमा रहने भएकाले पछिल्लो मिति प्रस्ताव गरिएको परराष्ट्र मन्त्रालयलाई उद्धृत गर्दै हिन्दुस्तान टाइम्सले लेखेको छ।

यसअघि भारत र पाकिस्तान सँगैसँगै भ्रमण गर्ने परम्परा रहे पनि सी श्रीलंका पुग्ने पहिलो चिनियाँ राष्ट्रपति हुनेछन्। २१ औं शताब्दीको ‘सामुदि्रक सिल्क रोड’ निर्माण र एसियाली पूर्वाधार लगानी बैंक स्थापनामा श्रींलंका महत्त्वपूर्ण सहयोगी हुने चीनको ठम्याइ छ। सी राष्ट्रपति भएपछि श्रीलंकाली समकक्षी महिन्दा राजपक्षेले दुई पटक चीन भ्रमण गरिसकेका छन्। पाकिस्तानी दैनिक डनले प्रस्तावित चीन-पाकिस्तान रेलवे लिंकलाई सीको भ्रमणका बखत अन्तिम रूप दिन सकिने सम्भावना रहेको बताएको छ। लाहोर-कराँची मोटरबाटो र केही ठूला जलविद्युत्लगायत चीनको झिंजियांग र पाकिस्तानको ग्वाडर पोर्टलाई आर्थिक करिडोरका रूपमा विकसित गर्ने बृहत् परियोजनालाई राष्ट्रपतिको भ्रमणताका अन्तिम रूप दिने सम्भावना छ। चीनले ७ वर्षभित्र पाकिस्तानका विभिन्न पूर्वाधार विकास र जलविद्युत् परियोजनाहरूका लागि ३२ अर्ब अमेरिकी डलर खर्च गर्ने घोषणा गरेको डनले जनाएको छ। गत फ्रेबुअरीमा बेइजिङ पुगेका पाकिस्तानी राष्ट्रपति ममनुन हुसेनले समकक्षी सीलाई भ्रमणका निम्तो दिएका थिए। तीन दक्षिण एसियाली मुलुकहरूको भ्रमणअघि राष्ट्रपति सी सेप्टेम्बर १२-१३ मा ताजिकिस्तानको राजधानी दुशानबमा हुने सांघाई कोअपरेसन अर्गनाइजेसन (एससीओ) समिटमा सहभागी हुनेछन्।- ekantipur