प्रवासी नेपाली मञ्च स्पेनको नयाँ नेतृत्वमा रानाभाट 


स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिका महासचिव हेमन्त रानाभाट

बार्सिलोना।  प्रवासी नेपाली मञ्च स्पेनको नयाँ नेतृत्वमा हेमन्त रानाभाट सर्वसम्मत चुनिएका छन्। सोमबार बार्सिलोनामा सम्पन्न मञ्चको पाँचौ राष्ट्रिय अधिवेशनबाट रानाभाटको अध्यक्षतामा आगामी तीन बर्षका लागि २३ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो। उनि यसअघिको  कार्यसमितिका उपाध्यक्ष समेत हुन्। 

मञ्चको नयाँ कार्यसमितिको उपाध्यक्षमा भुप्रेन्द श्रेष्ठ, सचिवमा गोविन्द प्रसाद तिमिल्सिना र सहसचिव द्वय मोहोनराज गौतम र श्याम दाहाल सर्वसम्मत चुनिएका छन्।

कार्यसमितिको सदस्यमा राजेन्द्र तिमिल्सिना,शिवप्रसाद गौतम,कृष्णप्रसाद सिग्देल, कमला बराल, केशव रिजाल, सुरेश चोख्याल, गणेशराज अधिकारी, सुनयना श्रेष्ठ, कल्पना भुजेल र धुवराज ढकाल चयन भएका छन्। बाँकी सदस्यहरु मनोनित गर्दै छिट्टै कार्यसमितिलाई पूर्णता दिने मञ्चले जनाएको छ।

नेकपा एमाले स्थायी समिति सदस्य तथा विदेश मामिला विभागका प्रमुख डा. राजन भट्टराईले प्रमुख अतिथिको रुपमा बोल्दै प्रवासको कामलाई फरक ढंगबाट लैजाने पार्टीले निर्णय गरेको बताए। ‘पार्टीको निर्णय अनुसार हाम्रा संरचनाहरुलाई परिवर्तन गरेका छौ।’ डा. भट्टराईले भने, ‘आउने अगष्टभित्र सम्पूर्ण देशहरुको राष्ट्रिय अधिवेशन गर्ने र नोभेम्बर पहिलो हप्ताभित्र अन्तर्राष्ट्रिय कमिटीको सम्मेलन काठमाडौंमा गर्ने तयारी थालेका छौ।’

उनले जर्मनी,बेल्जियम,चेक रिपब्लिक,फ्रान्स, स्पेन हुँदै डेनमार्कका साथै अमेरिका र क्यानाडाको राष्ट्रिय अधिवेशनमा आँफू सहभागी हुने बताए। यसअघि एसिया र मध्यपूर्वका केहि मुलुकहरुमा पनि भर्चुअल तथा प्रत्यक्षरुपमा उपस्थित भई अधिवेशन सम्पन्न भईसकेको उनले जानकारी दिए। अधिवेशनको उद्घाटन गर्दै  डा. भट्टराईले प्रवासमा संघसंस्थाहरुबीच सामाजिक एकताको भाव हुनुपर्नेमा जोड दिए।

हेम शेर्पाको अध्यक्षतामा सम्पन्न मञ्चको पाँचौ राष्ट्रिय अधिवेशनमा युरोप कमिटीका उपाध्यक्ष विनोद ज्ञवाली,मञ्चका पूर्व अध्यक्षहरु  मुक्त बहादुर गुरुङ,दिनेश गुरुङ लगायत स्पेनस्थित संघ/संस्थाका प्रतिनिधिहरुले बोलेका थिए। 

अध्यक्षमा अर्का आकांक्षी मञ्चका निर्वतमान महासचिव दिनेशराज रेग्मीले सर्वसम्मत कार्यसमिति चुन्न र अधिवेशन सम्पन्न गर्न लचकता देखाएका थिए।

सामाजिक एकतामा जोड दिन्छौ: नव निर्वाचित अध्यक्ष रानाभाट 

प्रवासी  नेपाली मञ्च स्पेनका नव निर्वाचित अध्यक्ष हेमन्त रानाभाटले स्पेनको नेपाली समुदायमा सामाजिक एकतामा जोड दिने बताएका छन्।  ‘हामी सवैमा एकताको भाव छदै छ। अझ समुदायको हितको लागि संघसस्थाहरु बीच हातेमालो हुनुपर्छ।’ उनले भने। नेपालीनेपाली डटकमसँग कुराकानी गर्दै उनले आफ्नो कार्यकालमा समुदायको मन जित्ने गरी काम गर्न कोशिस गर्ने बताए।

‘ हाम्रो राजनीतिक विचारधारा छदै छ। पार्टीलाई मजबुत बनाउन हाम्रो साथ र भूमिका  अवश्य नै रहन्छ।’ उनले भने ‘ त्यो अलवा विभिन्न कामहरुमा हाम्रो संगठनले स्पेनवासीको मन जित्दै आएको छ। त्यसलाई निरन्तरता दिन पनि सिंगो कार्यसमिति नै लाग्ने छौ।’