डा महावीर पुनसँग स्पेनमा अन्तरक्रिया हुँदै 


तस्विर डा महावीर पुनको फेसबुकबाट

बार्सिलोना। राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख डा महावीर पुनसँग स्पेनमा रहेका नेपालीहरुले अन्तरक्रिया गर्ने भएका छन्। झन्डै दुई महिनादेखि युरोपको भम्रणमा रहेका डा. पुनसँग आउँदो सोमबार स्पेनको बार्सिलोनामा अन्तक्रिया हुन लागेको हो। 

उनले राष्ट्रिय आविष्कार केन्द्रले गर्दै आएका गतिबिधिहरु सहित भावी योजना र प्रवासमा रहेका नेपालीहरुले दिनसक्ने योगदानको बारेमा कार्यक्रममा चर्चा गर्ने भएका छन्। 

उक्त कार्यक्रमको संयोजन नेपाली जनसम्पर्क समिति स्पेनले गरेको छ। समितिका अध्यक्ष सन्तोष श्रेष्ठले आँफूहरुले कार्यक्रमको संयोजन गरेको भएपनि स्पेनस्थित सम्पूर्ण संघसंस्थाको सहयोग र योगदानमा कार्यक्रम हुने बताए। 

‘डा. महावीर पुन कुनै एक ब्यक्ति वा संस्थाको मात्रै हुनुहुन्न। हामीले निमन्त्रणा गरेतापनि सवै संघसंस्थाहरुको संयूक्त पहल र सहयोगमा कार्यक्रम हुने आशा लिएका छौ।’ उनले भने, ‘प्राप्त सहयोग रकम पनि स्पेनबासी नेपालीको तर्फबाट संयुक्त रुपमा नै राष्ट्रिय आविष्कार केन्द्रलाई हस्तान्तरण गर्दैछौ।’ 

युरोपमा विभिन्न देशहरुमा भएको कार्यक्रममा बोल्दै डा. पुनले आँफूले सिकेको ज्ञान सीप र अनुभव लिएर आविष्कार र उद्यमशीलताका लागि नेपालमा योगदान गर्न अनुरोध गर्दै आएका छन्।

 बार्सिलोनाको सिसिलिया हलमा सोमबार साँझ ६ बजे देखि सुरु हुने कार्यक्रममा ईञ्जिनियरिङ् क्षेत्रमा दक्षता हासिल गरिसकेका नेपाली विद्यार्थीको पनि उपस्थिति रहने बताईएको छ। अमेरिकाबाट फर्केर दुई दशक नेपालमा नै बिताईसकेका डा. पुनले आविष्कार र इनोभेसनको बारेमा बोल्ने हुँदा कार्यक्रमलाई निकै चासोका साथ हेरिएको छ।