एनआरएनए फुटको संघारमा,संरक्षक परिषद विघटन


बार्सिलोना। गैरआवासीय नेपाली संघले (एनआरएनए) संरक्षक परिषद्लाई विघटन गरेको छ। बुधबार भर्चुअल रुपमा बसेको अन्तर्राष्ट्रिय समन्वय परिषदको ८२ औं बैठकले हालको संरक्षक परिषद्लाई विघटन गरेको हो। 

विहिबार संघले प्रेस विज्ञप्ति जारी गर्दै  निर्वाचन अनुगमन गर्न एक समितिको गठन गर्ने उल्लेख गरेको छ।’हालको संरक्षक परिषद्लाई यसै बैठक देखि लागू हुने गरी सधन्यवाद विघटन गरिएको छ ।’ विज्ञप्तिमा लेखिएको छ। 

महाधिवेशन प्रतिनिधिको निकासको सुझाव दिन गठित उच्चस्तरीय समितिलाई ३ मार्च साँझ ५ बजे सम्म (मतदाताको अन्तिम नामावाली प्रकाशन गर्नु पुर्व) सर्वसम्मत वा लोकतान्त्रिक पद्धति  अनुसार प्रतिनिधिबारे सुझाव पेश गर्ने अन्तिम अवसर दिने भन्दै विज्ञप्तिमा लेखिएको छ, ‘यस्तो अवस्था नरहेको खण्डमा आइसीसीको तर्फबाट अध्यक्षले निर्वाचन समितिलाई पेश गरेको प्रतिनिधिहरुबाट निर्वाचन अगाडि बढाइने छ र उच्चस्तरीय समिति स्वतः विघटन हुनेछ ।’

पञ्जिकृत सदस्यता शुल्क नतिर्ने एनसीसी यूके, अमेरिका, अष्ट्रेलिया, जापान र क्यानाडालाई मार्च ६ तारिखसम्म शुल्क भुक्तानी गर्न अवसर दिइने बैठकले निर्णय गरेको छ। ‘उक्त मितिभित्र शुल्क भुक्तानी नगरेको खण्डमा विधानको दफा १७.७ अनुसार यी एनसीसीहरुको मान्यता स्वतः समाप्त हुनेछ ।नयाँ एनसीसीको निर्वाचन गर्नको लागि एक तदर्थ समिति गठन गरिनेछ । संघका अध्यक्ष, महासचिव,क्षेत्रीय संयोजक, सहसंयोजक र क्षेत्रीय महिला संयोजक रहेको एक समितिले तदर्थ समितिको गठनबारे निर्णय गर्नेछ ।’ विज्ञप्तिमा लेखिएको छ।  

संघले  पूर्वनिर्धारित मार्च २१ र २२ तारिखमा हुने निर्वाचन र मार्च २६ र २७ तारिखमा काठमाडौँमा हुने १० औं अन्तर्राष्ट्रिय  महाधिवेशन भव्य रुपमा सम्पन्न गर्न सबै पक्षलाई अनुरोध समेत गरेको छ। 

फुटको संघारमा गैरआवासीय नेपाली संघ

सदस्यता र मतदाता छनोटका विषयमा देखिएको विवाद निरुपण हुन नसक्दा गैरआवासीय नेपाली संघ (एनआरएनए) फुटको संघारमा पुगेको छ ।

सदस्यता विवाद समाधान गरी निर्वाचन गराउन पूर्वअध्यक्ष शेष घलेको नेतृत्वमा उच्चस्तरीय समिति बनेको थियो । तर समितिले अघि सारेको सहमतिको खाका कार्यान्वयन नगरी कार्यसमितिले निर्वाचन गर्न खोजेपछि विवाद चर्किएको घले पक्षको आरोप रहेको छ। 

अध्यक्ष कुमार पन्तसहितको संस्थापन पक्षले भने चुनाव गराउने तयारीमा लागेको छ । यदि एउटा पक्षले चुनाव गराउने र असन्तुष्ट पक्षले छुट्टै भेला गर्ने हो भने गैरआवासीय नेपाली संघमा फुट आउनेछ । २० बर्षअघि स्थापना भएको गैरआवासीय नेपाली संघ सन् २०१३ मा पराराष्ट्र मन्त्रालयमा सामाजिक संस्थाका रुपमा दर्ता भएको थियो ।