युक्रेनमा रहेका नेपालीहरु त्रसित, अवस्था भयावह बन्दै


बार्सिलोना । बिहीबार विहानदेखि लगातार विष्फोटका आवाजहरु सुनेपछि युक्रेनको राजधानी किभमा रहेका नेपाली त्रसित बनेका छन् । रुसले युक्रेनमाथि हमला सुरु गरेपछि त्यहाँ रहेका नेपाली त्रसित बनेका हुन् ।

झन्डै ८ महिना पहिला अध्ययनका लागि युक्रेनको राजधानी किभ पुगेका रोज श्रेष्ठले अनलाइनखबरसँग भने, ‘हिजोसम्म समाचारहरु फेक न्यूज जस्तै लाग्थ्यो । तर अहिले त लगातार विष्फोटका आवाजहरु सुनिरहेका छौं । हामी अत्ताल्लिएका छौं ।’

आफूसँगै अपार्टमेन्टमा अन्य पाँच जना नेपाली पनि रहेको भन्दै श्रेष्ठले घरपरिवारले पनि चिन्ता ब्यक्त गरेको बताए । ‘किभ छाडेर सबैजना बाहिर जादैछन् । हामीले के गर्ने ? कता जाने ?  केही थाहा छैन । केही बुझेका पनि छैनौँ’ उनले भने।

नेपालको दोलखा घर भएका निशान देवकोटाले आफूहरु राजधानीबाट सुरक्षित ठाउँमा जाने योजना बनाइरहेको बताए ।,  ‘हामी आठजनाको ग्रुप एउटै अपार्टमेन्टमा छौं । अत्यावश्यक खाना जोहो गर्नुपर्ने जरुरी छ’ अनलाइनखवरसँग कुराकानी गर्दै देवकोटाले भने,  ‘किनमेलका लागि सीमित पसलहरु मात्रै खुलेका छन् त्यहाँ पनि न पनि भिड छ । खानाहरुको सर्टेज पनि देखिएको छ ।’

अध्ययनका लागि युक्रेनमै रहेका काभ्रे घर भएका सुशील रिमालले पनि पछिल्लो अवस्थाबारे चिन्ता प्रकट गरेका छन् । ‘विहानैदेखि सडकहरु जाम छन् । मान्छेहरु राजधानी छोडेर बाहिर जान हतार देखिएका छन् । हामीले पनि केही उपाय नभए  नेपाल फर्कनेबारे सोच्नुपर्छ’ रिमालले भने।

रामेछापको गोकुलगंगा गाउँपालिका–४ बेतालीका ज्योति कार्कीले अवस्था झनै बिग्रदै गएकोमा चिन्ता ब्यक्त गरिन् । ‘हामी राजधानी छाडेर सुरक्षित ठाउँ जाने प्रयास गरिरहेका छौं । तर अत्यधिक भीडभाडका कारणले टिकट पाइरहेका छैनौं । किभको बसपार्कमा प्रतीक्षा गरिरहेका छौं ।’

तीन बर्ष पहिले युक्रेन पुगेका गोरखाका भक्तबहादुर असरकोटीले अवस्था भयावह बन्दै गएको भन्दै नेपाल सरकारलाई उद्दारको राम्रो संयन्त्र बनाइराख्न सुझाव दिएका छन् । ‘अवस्था भयावह बन्दै गएको छ । भोलि के हुन्छ थाहा छैन’ उनले भने, ‘सयौं नेपालीहरुको भविष्य जोडिएको छ । आपतकालीन उद्दार गर्नुपर्ने अवस्था पनि आउन सक्ला त्यतातिर ध्यान दिन अनुरोध गर्दछु ।’-onlinekhabar